यू–१९ टोलीमा बाराका तीन क्रिकेटर
सिमरा : भारत र अफगानिस्तान विरुद्धको एकदिवसीय शृंखलाका लागि घोषित नेपाली यू–१९ टोलीमा बाराका तीन खेलाडीले स्थान बनाएका छन् । भदौ २७ देखि भारतको कोलकातामा हुने शृंखलाका लागि शुक्रबार घोषणा गरिएको टोलीमा कलैया क्रिकेट क्लबका पवन सर्राफ, तृतराज दास र रवि साह छनोट भएका हुन् ।
टोलीमा पर्न सफल पवनले यसअघि पनि यू–१९ बाट नेपालको प्रतिनिधित्व गरिसकेका छन् । तृतराज भने यू–१६ का खेलाडी हुन् । उनलाई यसपटक यू–१९ बाट खेल्ने अवसर दिइएको छ ।
वीरगन्जका मोहमद आसिफ सेखको कप्तानीमा घोषणा गरिएको १५ सदस्यीय टोलीमा छनोट भएका रवि भने नयाँ अनुहार हुन् । रवि गत महिना सम्पन्न ट्यालेन्ट हन्टबाट छानिएका खेलाडी हुन् । उनीसहित ट्यालेन्ट हन्टबाट छानिएका अन्य पाँच जनाले पनि टिममा स्थान बनाएका छन् ।
कलैयाबाट तीन खेलाडी एकैसाथ राष्ट्रिय टिममा पर्न सफल भएपछि जिल्लावासी खुसी देखिएका छन् । कलैया क्रिकेट क्लबका सचिव पंकज पाण्डेले जिल्लाका तीन खेलाडीले एउटै टोलीबाट देशको प्रतिनिधित्व गर्न पाउनु गौरवको विषय रहेको बताए ।
‘यो हाम्रा लागि निकै खुसीको कुरा हो । एकैपटक तीन खेलाडी टिममा छनोट भएका छन्’, पाण्डेले भने, ‘खेलाडीले गर्दै आएको मेहनत सफल भएको छ ।’
लामो समय नेपाली राष्ट्रिय टोलीका कप्तान रहेका विनोद दास पनि कलैयाका हुन् । दास कप्तान बनेसँगै कलैयामा क्रिकेट क्रेज बढेको थियो । पछिल्लो समय कलैयाका युवा क्रिकेटप्रति आकर्षित हुन थालेका छन् । कलैयाबाट विभिन्न उमेर समूहमा प्रतिनिधित्व गर्ने थुप्रै खेलाडी छन् । जिल्लाका अन्य स्थानको तुलनामा कलैयामा क्रिकेट गतिविधिसमेत बढी हुने गर्छ ।
टोलीमा छनोट हुन सफल बाराका तीन खेलाडीसहितको राष्ट्रिय टिम सोमबार भारत प्रस्थान गर्नेछ । टोलीले भारत, अफगानिस्तानसहित भारतको राष्ट्रिय क्रिकेट एकेडेमीको यू–१९ टोलीसँग एकदिवसीय शृंखला खेल्नेछ ।
नेपालले भदौ २७ गते भारतको राष्ट्रिय क्रिकेट एकेडेमीसँग खेल्नेछ भने भदौ २९ गते भारतको यू–१९ र भदौ ३१ गते अफगानिस्तानको यू–१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । शीर्ष दुई स्थानमा रहने टोली उपाधिका लागि भिड्नेछन् । तेस्रो र चौथो रहेका टोलीले भने तेस्रो स्थानका लागि खेल्नेछन् ।
सेखको कप्तानीमा रहेको टोलीमा बाराका पवन, तृतराज र रविसँगै किशोर महतो, रसिद खान, भीम सार्की, कमलसिंह ऐरी, सन्दीप जोरा, विपिन बराल, लोकेश बम, सागर ढकाल, अरुण ऐरी र मोहम्मद सम्साद आलम छन् ।