सिरिया द्वन्द्वबारे टर्की-रूस मतभेद

सिरिया द्वन्द्वबारे टर्की-रूस मतभेद

तेहरान : सिरियाको इदलिबमा भएको द्वन्द्वका बारेमा टर्की र रूसबीभ मतभेद देखापरेको छ। टर्कीले तत्काल युद्धविराम गर्न आह्वान गरिरहेका बेला रूसले भने आतंककारीलाई नियन्त्रणमा लिनु सिरियाको अधिकार भएको तर्क गरेको छ। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इदलिबमा रूसी हवाई आक्रमण भएपछि युद्धविराम गर्न आह्वान गरेका हुन्।

‘यदि हामीले यहाँ युद्धविराम सुनिश्चित गर्न सक्याँै भने शिखर सम्मेलनका लागि यो एउटा महत्वपूर्ण कदम हुनेछ। यसलाई गम्भीरतापूर्वक लिनुपर्ने देखिन्छ’, एर्दोगानले भने। इरानको राजधानी तेहरानमा शुरु भएको शिखर बैठकमा उनले यस्तो बताएका हुन्। इरान र रूसलाई सिरियाका विषयमा मुख्य पक्ष मानिन्छ। सिरियाको इदलिबमा जारी द्वन्द्वको अन्त्य गरी त्यहाँ रहेका नागरिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले तेहरानमा इरान, रूस र टर्कीका राष्ट्रपतिहरूबीच बैठक शुरु भएको हो। यस शिखर बैठकले सिरियाको इदलिब प्रान्तमा गएको करिब दुई वर्षदेखि कब्जा जमाउँदै आएका विद्रोही र उनीहरूको कब्जामा रहेका सिरियाका अरू सर्वसाधारणका बारेमा छलफल गरी आवश्यक रणनीति बनाउने अपेक्षा गरिएको छ।

इदलिब प्रान्तमा रहेका लडाकु र उनीहरूको नियन्त्रणमा रहेका नागरिकको भविष्यका बारेमा महत्वपूर्ण निर्णय लिने बताइएको छ। बैठकमा सहभागी रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले भने आफ्नो क्षेत्रलाई नियन्त्रणमा लिनु इरानको अधिकार भएको तर्क गर्दै आक्रमण जायज र आवश्यक रहेको संकेत गरे। रूसको सहयोगमा सिरियाली सेनाले इदलिबमा आक्रमण गर्ने बताउँदै आएको छ। उक्त आक्रमणको तयारी भइरहेको पनि बुझिएको छ।

यसै समयमा यो शिखर बैठक बसेको हो। सिरियामा गएको करिब सात वर्षदेखि सिरियाली विद्रोहीका कारण गृहयुद्ध मच्चिएको छ। ती विद्रोहीले पनि इदलिबलाई मुख्य अखडा बनाएका छन्। सन् २०१५ देखि त उनीहरूले उक्त शहर कब्जा नै गरेका थिए। इदलिबमा अहिलेकै अवस्थामा आक्रमण हँुदा ठूलो मानवीय क्षति हुने चेतावनी दिइएको छ। संयुक्त राष्ट्रसंघलगायतका संघसंस्थाले पनि यहाँ हवाई आक्रमण नगर्न भनेका छन्।

यहाँका विद्रोहीलाई टर्कीको समर्थन रहँदै आएको छ। त्यस्तै सरकारी सेनालाई छिमेकी रूस र इरानको समर्थन छ। त्यसैले पनि अहिलेकै अवस्थामा आक्रमण गरी उक्त शहरमा कब्जा गर्ने प्रयत्न सरकारी सेनाले गर्ने हो भने ठूलो मानवीय क्षति हुनसक्नेछ। सन् २०१५ मा कब्जा गरिएको इदलिब र त्यस वरपरका इलाकामा मात्र करिब ३० लाख मानिस बस्छन्। तीमध्ये आधा जति नागरिक सिरियाका अन्य क्षेत्रबाट विस्थापित भएर आएका हुन्।

विगतमा टर्की सरकारले सहायता दिएकाले यहाँ विद्रोहीको संख्या बढेको बताइएको छ। इदलिबको सीमा टर्कीसँग जोडिएको छ। त्यसैले पनि यहाँ टर्कीले सैनिक जाँच चौकीसमेत स्थापना गरेको छ। सिरियामा गृहयुद्ध जारी छ। सात वर्षसम्म यहाँ चलेको यस युद्धका कारण हालसम्म ३ लाख ५० हजारभन्दा बढीको ज्यान गइसकेको छ। यस युद्धका कारण १ करोड १० लाख मानिस विस्थापित छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.