मेरो नौरंगी फ्रक
आमाले कहिलेकाहीं चर्को स्वरमा गाली गर्दा बाबा आँसु झार्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘यी मेरा छोरीहरूलाई केही नगर्नू।’
बाबा मेरो आदर्श व्यक्तित्व। उहाँको स्वर्गवासपछि अभिभावकत्व र स्नेहको अभाव हुने नै भयो। जतिखेर उहाँको याद आउँछ, जीवनका थुप्रै पाटा र सम्झनाका खाटा झलझली हुन्छन्। त्यसभन्दा बढी मेरो नौरंगी फ्रक मानसपटलमा नाच्छ। र, त्यो दृश्यले समानता र सबैले सम्मानपूर्वक बाँच्न पाउने समाज निर्माणको दिशामा लागिरहन प्रेरणा दिइरहन्छ। बाबा, तपाईंको स्वप्नील सम्झनामा म इन्द्रेणी सपनाहरू बुनिरहनेछु।
त्यो अविस्मरणीय प्रसंग हो– म कक्षा ५ मा पढ्दाको। हाम्रो गाउँको स्कुलमा नयाँ नियम लागू गरियो– छात्रले आकाशे नीलो सर्ट, गाढा नीलो पाइन्ट र छात्राले त्यहीसँग मिल्ने सर्ट–फ्रक अनिवार्य लगाउनुपर्ने। बाबा गाउँभरका आफ्ना ‘बिस्ट’ हरूका छोराछोरीका स्कुल ड्रेस सिलाउन दिनरात व्यस्त हुनुभयो। हामी बाबा–आमाका १० छोरी थियौं। तीमध्ये चार जना स्कुल जान्थ्यौं। बाबाले लुगा सिलाएबापत अन्न–दाना पाउनुहुन्थ्यो, नगद हुने कुरै भएन।
त्यसले परिवार पाल्ने कि हामीलाई सर्ट–फ्रक किनिदिने ? छोरीहरूलाई ड्रेस लाएर स्कुल पठाउन नसक्ने अवस्था आएपछि उहाँले बाध्य भएर नयाँ जुक्ति निकाल्नुभएछ। ‘बिस्ट’का छोराछोरीका सर्ट–पाइन्ट–फ्रक काट्दा उब्रेका टुक्राटाक्री कपडा जोडेर हाम्रा लागि सर्ट–फ्रक बनाइदिनुभएछ। हामी फुरुक्क पर्दै स्कुल गयौं। पहिलो हप्ता हाम्रो कपडा अरूको भन्दा खासै फरक देखिएन। दोस्रो हप्ता जब आमाले धोइदिनुभयो, मारुनीले लगाउनेजस्तै नौरंगी पो देखियो। भएछ के भने गाउँका अरूले गच्छेअनुसार कपडा किनेका थिए। कसैका चाइनिज। कसैका इन्डियन। कसैका नेपाली। फरक–फरक गुणस्तरका। धुँदा कुनैको रंग उड्यो। कुनैको खुइलियो। हरेक टुक्रा फरक देखियो।
अरूले जिस्क्याउँथे– नौरंगी फ्रक भन्दै। तर, मैले त्यही लाएर दिनहुँ स्कुल गएँ। सधैंझैं त्यो वर्ष पनि कक्षामा प्रथम भएँ। फ्रकले पढ्ने होइन, मेरो प्रथम हुने क्रम निरन्तर चलिरह्यो। मैले सग्लो, एउटै ब्रान्डको सर्ट–फ्रक कक्षा ८ मा पुगेपछि मात्र लाउन जुर्यो।। त्यो पनि एक साथीको लाहुरे बाबाले दसैंमा टीका लाएर दिएको सय रुपैयाँले।
जब म अमेरिका आए, केही गर्ने औकातमा पुगेँ, एड्वान (एसोसिएसन फर दलित ओमेन्स एड्भान्समेन्ट अफ नेपाल) नामक संस्था खोलेँ। उतिबेला ड्रेसका कारण भोग्नु परेको बाध्यता, नौरंगी फ्रकका कारण साथी–संगीहरूका अघिल्तिर हुनु परेको लज्जाबोध आदि सम्झेर ‘ब्लु सर्ट क्याम्पेन’ सुरु गरेँ। यसको अर्थ हो– हामीले काम गर्ने गाउँका सबै विद्यार्थीले नीलो रंगको ड्रेस जसरी पनि पाउनुपर्छ। त्यसको जोहो हामीले गर्न थाल्यौं।
सन् १९९८ देखि हालसम्म २३ हजारभन्दा बढी बालबालिका ‘ब्लु सर्ट’बाट लाभान्वित भएका छन्। नौरंगी फ्रक र नौरंगी ब्लु सर्ट लगाउन नपरेको भए सम्भवतः मैले त्यो गरिबी, अभाव, बाध्यता र ड्रेसको महत्व बुझ्न सक्ने थिइनँ। म धन्य भएकी छु। मेरो नौरंगी फ्रक भएर के भो त, हाम्रो बाबाले छोरी भएकै कारण कहिल्यै हामीलाई विभेद गर्नु भएन। एघारौं सन्तानका रूपमा भाइको जन्म भएपछि पनि बाबामा हामी छोरीप्रतिको माया र स्नेहमा एकरत्ति कमी आएन।
छोरी नै सबै थोक
मेरो बाबाको नाम रूपबहादुर परियार हो। उहाँ अग्लो, गहुँगोरो र सिकुटे हुनुहुन्थ्यो। उहाँको मिलनसार, सहयोगी, मेहनती र इमानदार बानीले गाउँमा सबैको प्यारो हुनुहुन्थ्यो। बाबा स्वाध्ययनबाट लेख्न–पढ्न साक्षर हुनुहुन्थ्यो। त्यसैले गाउँमा लाहुरे छोराहरूका चिठी पढिदिने, उनीहरूका प्रेयसी र आमाबाबाहरूको चिठी लेखिदिने गर्नुहुन्थ्यो। बदलामा लाहुरेहरूले छुट्टीमा आउँदा कम्बल, घडी, रम र चुरोट ल्याइदिन्थे।
बाबाले हाम्रो गाउँ गोर्खाको ताक्लुङबाट तीन घन्टा टाढा पर्ने फुजेलबाट १३ वर्षकी हुँदा हाम्री आमा कनमायालाई मागी बिहे गर्नुभएको हो। हामी ठूला भएपछि बाबाले आमाको सुन्दरताप्रति मक्ख हुँदै भन्नुहुन्थ्यो, ‘तिम्री आमालाई हेर्न पूरै गाउँले आएका थिए।’ आमा गोरी, राम्री जिउडालकी हुनुहुन्छ। उहाँले १५ वर्षको उमेरदेखि दुई वर्ष फरकमा लगालग १० छोरी जन्माउनुभयो। भाइ पनि कान्छी बैनीभन्दा दुई वर्षपछि जन्मियो। म दिदीबहिनीमा पाँचौ अर्थात् ठाइँली हुँ।
उतिखेर हाम्रो गाउँघरमा छोरो जन्मिएन भने मर्दा स्वर्ग गइन्न भन्ने अन्धविश्वासले जरो गाडेको थियो। हाम्री आमाले धमाधम छोरी पाउन थालेपछि कतिपय गाउँलेले बाबालाई अर्की बिहे गर्न उक्साएछन्। उहाँले मान्नु भएनछ। आमा र हामीलाई अझ माया दिइरहनु भयो।
एक पटक आफन्तहरूले घरमा नयाँ दुलही ल्याइदिएछन्। त्यो थाहा पाएपछि बाबा घरबाट भागेर अन्तै जानुभएछ। नयाँ दुलही बनाउन ल्याइएकी ती बिचरीलाई फिर्ता पठाइएछ। मैले बुझ्ने, ठूली भएपछि एक दिन बाबालाई त्यो घटनाबारे सोधेँ। उहाँले आँखाभरि आँसु पारेर मेरो अनुहारमा हेर्दै भन्नुभयो, ‘मेरा लागि तिमीहरू (छोरीहरू) नै सबैथोक हौ। तिमीहरूले हाम्रो जीवनमा खुसी ल्यायौ। तिमीहरूको खुसी नै मेरो खुसी हो। तिमीहरूलाई खुसी र सुखी राख्ने कर्तब्य मेरो हो।’
उहाँले थप्नुभयो, ‘छोरो हुने कि छोरी भन्ने हाम्रो बसको कुरा हैन। भगवान्ले के दिन्छन्, त्यो स्विकार गर्नु र त्यसैमा सन्तुष्ट हुनुपर्छ। भगवान्ले छोरो दिन्छन् भने त्यो थप खुसीको कुरा हुनेछ। तर दिँदैनन् भने म हाम्रा सुन्दर छोरीहरू पाएकामा खुसी र सन्तुष्ट छु।’ बाबाले हामी छोरीहरूलाई कहिल्यै चर्को स्वरले गाली गर्ने, हप्काउने गर्नु भएन। गल्ती गरेमा पनि सजायका रूपमा पिट्नु भएन। आमाले कहिलेकाहीं चर्को स्वरमा गाली गर्दा बाबा आँसु झार्नुहुन्थ्यो। भन्नुहुन्थ्यो, ‘यी मेरा छोरीहरूलाई केही नगर्नू।’ बाबाले सधैं माया मात्र दिनुभयो। आज म जे बनेकी छु, बाबाकै देन हो। बाबाले छोरी हुनुको गौरवबोध र कर्तब्य परायणता सिकाउनुभयो। बाबाबिना म अधुरो छु। बाबाकै स्नेह र आशीर्वादका कारण म पूर्णमानव बनेकी छु।
अछूत किन ?
म यस्तै ५/६ वर्षकी थिएँ हुँला। स्कुल जाने भइसकेकी थिइनँ। दिनभर स–साना भुरा गाउँका साथीसंगीहरूसँग खेलेर समय बित्थ्यो। एक दिन, हामी एउटी साथीको घरमा खेल्दै थियौं, दिउँसो खाजा खाने बेला भएको रहेछ। त्यो छिमेकी अन्टीले खाजा खान सबैलाई बोलाउनुभयो। हामी भुरुरुरु उनको पिँढीमा पग्यौं। मेरा सबै साथी आन्टीको घरभित्र गए, मलाई बाहिरै राखियो। मैले बुझ्नै सकिनँ, किन मलाई बाहिरै राखेर खान दिइयो ? म एक निर्दोष, अबोध बालिका न थिएँ। तर खाजा खान पाएपछि सबै भुलेँ। एकै छिनमा साथीहरूसँग खेल्न लाखापाखा लागियो।
बेलुकी घर फर्केपछि बाबालाई देख्नासाथ दिउँसोको घटना याद भयो। उहाँलाई सोधेँ। बाबा दियो बालेर ‘बिस्ट’हरूका लुगा सिलाउँदै हुनुहुन्थ्यो। एकछिन घोरिएर भन्नुभयो, ‘नानी, तिमी स्यानी छौ, यो कुरा बुझ्न गाह्रो छ। समाजले हामीलाई सानो जातको बनाको छ। हामीले पनि बिस्टहरूको घरमा बाहिरै बस्नुपर्छ। तिमी पढे–लेखेर ठूली भयौ भने सबै कुरा ठीक हुन्छ।’
बाबाको कुरा मेरो सानो दिमागमा गढेर बस्यो। मैले मनमनै सोचेँ, ‘म पनि ठूली हुन्छु। धेरै पढेपछि आन्टीले पक्कै घरभित्र पस्न दिनुहुनेछ।’ उल्टो, स्कुल जान थालेपछि र हुर्कंदै गएपछि छुवाछूतका अनगिन्ती विभेद भोग्दै गइयो। बाबाले हाम्रो जीवनमा सिञ्चित गर्नुभएको सहनशील स्वभाव समाजमा विद्यमान जातीय छुवाछूतको अन्त्यका लागि जीवनपर्यन्त उपयोग गर्ने मैले सानैमा कसम खाएकी थिएँ। आज म छुवाछूत अन्त्यको अभियानमा जति सफल भएकी छु, बाबाले दिनुभएको त्यो पहिलो घटनाको जवाफको प्रतिफल त हो।
(अमेरिकामा बस्ने परियार महिला र बालबालिकामाथि हुने घरेलु हिंसा रोकथाममा क्रियाशील छिन्)