धेरै पढेकोमा गाली

धेरै पढेकोमा गाली

काठमाडौंका गल्लीहरूमा कैयन्पटक बुवासँगै हिँडेको छु। मठमन्दिर, स्तूपाहरू देखाउँदै त्यसको इतिहास बताउनुहुन्थ्यो।


मेरो हजुरबुवाको नाम सुब्बा आदिभक्त माथेमा। उहाँका जेठा छोरा धर्मभक्त माथेमा। माइला छोरा धु्रवभक्त माथेमा। म माइलाको सन्तान। राणाकालमा बाजेबराजुहरू काजी सरदार हुनुहुन्थ्यो। त्यो क्रम मेरो ठूलोबुवा धर्मभक्त माथेमाले क्रमभंग गर्नुभयो। राजनीतिक कारणले हाम्रो परिवार कलकत्ता बस्न पुग्यो। त्यसपछि बनारस, आसाम, दार्जिलिङ र कालिम्पोङ सरिरह्यो। म कालिम्पोङमा २००२ सालमा जन्मिएँ। प्रजातन्त्र आएपछि हामी नेपाल फर्कियौं।

बुवा ठूलोबुवाको बारेमा धेरै कुरा गर्नुहुन्थ्यो। ठूलोबुवा कलकत्तामा पढ्दा ‘पहाडे’ भन्दै हेप्थे रे। त्यो हेपाइ मन नपरेपछि उहाँले जिम गर्न थाल्नुभयो रे। पछि बंगाल च्याम्पियन पनि हुनुभयो।

बुवा ९७ वर्ष बाँच्नुभयो। ७० वर्षको हुँदासम्म नातिहरूसँग पञ्जा लडाउनुहुन्थ्यो। सजिलै जित्नुहुन्थ्यो पनि। ९५ वर्ष पुग्दासम्म बिहान सधैं व्यायाम गर्नुहुन्थ्यो। बिहान एकदमै धर्मकर्म पूजापाठमा व्यस्त हुने मान्छे दिउँसो अन्तर्राष्ट्रिय राजनीति सम्मका कुरा गर्नुहुन्थ्यो। ब्रेकफास्टअघि धार्मिक, त्यसपछि आधुनिक। जीवन एकदमै रुटिनमा चलेको थियो। रुटिन कतिसम्म कडा थियो भने ‘यो जाडोमा म यति गतेबाट सिरक ओढ्छु’ भन्नुहुन्थ्यो। र, त्यही गर्नुहुन्थ्यो।

बुवाको बानी त्यस्तो हुनुको कारण सानैदेखि दुःख पाएर हुन सक्छ। जिजुबुवाको कलकत्तामा ठूलो व्यापार थियो। यता ठूलोबुवालाई झुन्ड्याइयो। कलकत्ताको सम्पत्ति जफत भयो। व्यापार बिग्रियो। जिजुबुवालाई पनि जेल हालियो। हिन्दु र मुस्लिमको ठूलो दंगा भड्कियो त्यही बेला। १६ वर्षको केटोले परिवार हेर्नुपर्ने भयो। कस्मेटिकको सामान झोलामा लगेर घरघर बेच्दै पनि हिँड्नुभयो रे बुवाले। टाइप गर्ने काम पनि गर्नुभयो। त्यो सबै दुःखले उहाँमा आत्मविश्वास पलायो। स्कुले केटोले सम्पूर्ण परिवार सम्हाल्नुपर्दा स्कुल तह पनि पास गर्न सक्नुभएन। उहाँका साथीहरू भने हार्वर्ड युनिभर्सिटीको प्रोफेसर, नेसनल जोग्राफीको भाइस प्रेसिडेन्टदेखि बस्टन साइन्स म्युजियमको प्रेसिडेन्टसम्म थिए। हरेक वर्ष चिठी आदानप्रदान हुन्थ्यो। नपढे पनि बंगाली, हिन्दी, अंग्रेजी, उर्दु र तिब्बती भाषा बोल्नुहुन्थ्यो।

राजादेखि राजनीतिक दलका नेतासम्म बुवाको राम्रो चिनजान थियो तर राजनीतिमा भने लाग्नुभएन। उहाँले यूएसआईडीमा फाइनान्सियल कन्ट्रोलरको रूपमा काम गर्नुभयो।

बुवा लुगामा सोखिन हुनुहुन्थ्यो। सुट टाई टक्क मिलाएर लगाउनुहुन्थ्यो। आइतबार भने नेपाली दौरासुरुवाल लगाउनुहुन्थ्यो। अलि बुझ्ने भएपछि थाहा पाएँ, बुवा त्यस दिन दरबारमा राजालाई भेट्न जानुहुँदो रहेछ। बुवाको छातीमा त्रिभुवनको फोटो भएको सानो छाप हुन्थ्यो। त्यो दरबार छिर्ने पास रहेछ।

बुवाले हाम्रो पढाइमा धेरै ध्यान दिन सक्नुभएन। कहिलेकाहीँ ‘राम्रोसँग पढ है’ भन्नुहुन्थ्यो मात्रै। बरु एकपटक ‘धेरै पढ्यौ’ भनेर बेस्सरी गाली गर्नुभयो। ‘कोठामा बसेको छ, पढेको छ, बाहिर पनि संसार छ नि। त्यहाँ घुलमिल हुनु पर्दैन ? ’ भन्दै गाली गर्नुभयो। अहिले सम्झिँदा त्यो गाली ठीक रहेछ।

राणाकालबारे बुवाले धेरै कथा सुनाउनुहुन्थ्यो। हाम्रा मान्छेहरू दरबारका महत्वपूर्ण ठाउँहरूमा थिए। तर, ठूलोबुवा धर्मभक्तले यो ठीक छैन भन्नुभयो। रेडियो छैन, स्कुल छैन, पत्रिका छैन। राणाको चाकरी मात्रै गर्नुपर्ने। गरिबी छ जताततै। यो व्यवस्था फालेर प्रजातन्त्र ल्याउनुपर्छ भनेर ठूलोबुवा लाग्नुभयो रे। आज सम्झिन्छु, ठूलोबुवाको कदमले पारिवारिक रूपमा हामीलाई घाटा भयो। धेरै दुःख पायौं। तर, सिंगो नेपाल र नेपालीका लागि राम्रो भयो। परिवारभन्दा ठूलो राष्ट्र र जनतालाई देख्नुभयो ठूलोबुवाले।

ठूलोबुवाले कलकत्ता नपढ्नुभएको भए सायद हाम्रो परिवारमा यस्तो उथलपुथल आउने थिएन। त्यस बेला कलकत्ता राजनीतिक रूपमा एकदमै सचेत ठाउँ थियो। त्यहाँको माहोलले ठूलोबुवालाई अर्कै मान्छे बनायो।

पहिलोपटक हवाईजहाज चढेर बुवासँग कलकत्ता गएको छु। कहिलेकाहीँ राम्रो रेस्टुराँमा मलाई लैजानुहुन्थ्यो। ‘यी यसरी खाने हो हेर’ भन्दै चम्मा समाउन सिकाउनु न्थ्यो। काठमाडौंको गल्लीहरूमा कैयन्पटक बुवासँगै हिँडेको छु। मठमन्दिर स्तूपाहरू देखाउँदै त्यसको इतिहास बताउनुहुन्थ्यो। काठमाडौंका प्राचीन स्थलहरूका बारेमा जानकारी दिनुहुन्थ्यो।

बुवा चुरोटको अम्मली हुनुहुन्थ्यो। पहिला आउने गोलो टिनको बट्टावाल चुरोट हातमा बोकेर हिँड्नुहुन्थ्यो। पछि बुवाले चुरोट चटक्कै छाड्नुभयो। ह्विस्की खानुहुन्थ्यो बेलाबेलामा। ९० वर्ष पुग्दा पनि जे खाए पनि हुने उहाँलाई। भाइ अफ्रिकामा बस्ने, दाइ चीनमा, म जापानमा। हामीलाई भेट्दै ८९ वर्ष हुँदासम्म संसार एक्लै घुम्नुहुन्थ्यो उहाँ।

०००

केटाकेटीका लागि बुवा नै रोल मोडल हो। छोराछोरीले बुवाको अनुकरण गर्छन्। कति सफल हुन्छ, त्यो बेग्लै कुरा। बुवाका कतिपय पर्सनालिटी देख्दा म अचम्मित हुन्छु। त्यही हुन सकिनँ जस्तो लाग्छ।

बुवाले अनुशासित जीवन बिताउनुभयो। कठोर परि श्रम गर्ने बानी, इमानदार हुन सिकाउनुभयो। कति सिकेँ थाहा छैन। एक समय निकै सम्पन्न थियो मेरो पुर्खा। तर, हामी संकट र दुःखको बेला हुर्किएको हुनाले राम्रो भयो। नत्र हामी पनि बिग्रिन्थ्यौं होला। समाजलाई हेर्ने एंगल फरक पनि पर्न सक्थ्यो। ठूलोबुवाले गर्दा चाकरी भन्ने शब्द सुन्नै मन लाग्दैन। त्यो कल्चर हाम्रोमा पनि बस्यो। जति चाकरी गरे, बराजुहरूले गरे अब गरिँदैन भन्ने लाग्न थाल्यो।

बुवाले सुनाउनुभएको र उहाँसँग जोडिएका केही रोचक घटना छन्। एकपटक राजा त्रिभुवनलाई भेट्ने बेला मलाई पनि सँगै लिएर जानुभयो। म त्यस बेला ८/९ वर्षको थिएँ। राजालाई ‘मेरो छोरा’ भनेर चिनाउनुभयो। मैले राजालाई नमस्कार गरेँ। सबैजना छक्क परेर मुखामुख गर्न थाले। मलाई के थाहा ! राजालाई दर्शन गर्नुपर्ने रहेछ।

बुवाले महात्मा गान्धीलाई पनि भेट्नुभएछ। तिब्बतमा बनेको एउटा राम्रो ब्याग उपहार दिनुभएछ। ब्याग हातमा लिएर महात्मा गान्धीले ठट्टा गर्दै भने रे, ‘ओहो कस्तो राम्रो ब्याग ! यो बनाउने महिला झन् कति राम्री होली !’

एकपटक त्रिभुवन सुन्धारा हुलाक कार्यालय अगाडिको बाटो मोटरमा गइरहेका थिए रे। बाटोमा हिँडिरहनुभएका बुवालाई राजाले देखेछन्। त्रिभुवनले बुवालाई देखेपछि ठूलोबुवाको याद आउँदो रहेछ। एकपटक भेट्दा आँखाभरि आँसु बनाएका थिए रे। राजाले मोटर रोके। बुवालाई बोलाउन जर्साब पठाए। बुवाले पत्याउनुभएन। जर्साबले ‘सरकारबाट हुकुम भएको छ’ भनेछन्। त्यसपछि राजाको अघि जानुभएछ। ‘के गर्दै छौ आजभोलि’ भनेर सोधे रे। ‘सरकार म अहिले कामको खोजीमा छु’ भन्नुभएछ। ‘खोज खोज, म पनि अरूलाई खोजिदेऊ भन्छु’ भन्दै बिदा भएछन्।


(राजु स्याङ्तानसँग गरिएको कुराकानीमा आधारित)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.