पढ्न उक्साइरहने बुवा
सानैमा म एकपटक निकै बिरामी भएको थिएँ। त्यस बेला मलाई बुवाले एउटा खेलौना ल्याइदिनुभयो। डाक्टरको औषधिले भन्दा पनि त्यही खेलौनाले मलाई निको हुन बढी काम गरेजस्तो लाग्यो।
मैले थाहा पाउने भएपछि सुनेको पहिलो आवाज नै सायद संगीत हुनुपर्छ। हाम्रो डेरामा हरसमय संगीतका सुमधुर धुन गुञ्जिरहन्थे। बुवा अम्बर गुरुङको काम अनि धर्म भनेकै संगीत थियो। हाम्रोमा मानिसहरूको बाक्लै जमघट भइरहन्थ्यो। देशकै कहलिएका कवि, साहित्यकार, प्राध्यापक, कलाकार आदि नियमित आइरहन्थे। यसकारण पनि हाम्रो डेराको वातावरण ज्यादै प्राज्ञिक थियो। साथीहरूका घरमा उनीहरूका बुवा के पढ्दैछस् भनेर खोजीनीति गर्थे तर हामीलाई भने बुवाले ‘म्युजिक प्राक्टिस गरिस् कि गरिनस् ? ’ भनेर बेलाबेलामा सोधिरहनुहुन्थ्यो।
हामी सानो छँदा घरको आर्थिक अवस्था अत्यन्तै कमजोर थियो। त्यस बेला बुवाको जागिर नेपाल प्रज्ञाप्रतिष्ठानमा थियो। हामी कमलपोखरी बस्थ्यौं। प्रज्ञाको जागिरले घरव्यवहार चल्ने सम्भावना नदेखेपछि बुवालाई पिरोल्न थालेछ। त्यस बेला संगीतले जीविका धान्ने झन् कुरै भएन। मेरो दाजुको सानैदेखि संगीतमा लगाव देखेर बुवालाई पीर परेछ। उहाँले साथीहरूसँग छोराको भविष्यप्रति चिन्ता गर्नुभएछ। उहाँले म बाबुको रूपमा छोराले संगीतमा हात नहालोस् भन्न सक्छु तर संगीतकारका रूपमा भने कुनै पनि हालतमा उसको रुचिबाट पन्छाउन सक्दिनँ भन्नुभएछ।
बुवाले अफिसबाट फर्किंदा हामीलाई सधैं पाउरोटी, बिस्कुट ल्याइदिनुहुन्थ्यो। चिया खाँदाखाँदै हार्मोनियम बजाउन थाल्नुहुन्थ्यो। उहाँ हामीलाई बहादुरीका, सफलताका कथा सुनाउनुहुन्थ्यो। नयाँनयाँ किताब पढ्न लगाउनुहुन्थ्यो। हाम्रो घरमा नियमित आउने गोरखापत्र, मधुपर्क, रूपरेखा आदि पढ्न उक्साउनुहुन्थ्यो। उहाँले पढेका कुरा साँझपख सुनाउनुहुन्थ्यो। उहाँ हामीलाई अलि कडा स्वभावको लाग्थ्यो तर हामीलाई कहिल्यै गाली गर्नुभएन, कहिल्यै पिट्नुभएन। हाँसो र ठट्टा गरिरहने उहाँको बानी थियो। कतिसम्म भने अन्तिम अवस्थामा उहाँलाई ग्रान्डी अस्पतालमा राखिएको समयमा पनि रमाइला किस्साहरू सुनाइरहनुभयो। सँगै गाउने, बजाउने गरेर होला; हामी साथीजस्तै भयौं।
सानैमा म एकपटक निकै बिरामी भएको थिएँ। एकडेढ महिना जति स्कुल जान पनि सकिनँ। त्यस बेला मलाई एउटा खेलौना ल्याइदिनुभएको थियो। त्यो पाएपछि मेरो हर्षको सीमा नै रहेन। डाक्टरको औषधिले भन्दा पनि त्यही खेलौनाले मलाई निको हुन बढी काम गरेजस्तो लाग्यो। उहाँ हामीलाई कहिलेकाहीँ सिनेमा हेर्न पनि लानुहुन्थ्यो। टाढा कतै गएका बखत कपडाहरू ल्याइदिनुहुन्थ्यो।
म त्यति बेला चलेका हिन्दी गीतहरू गाउँथेँ। गीत सुनाउँदा बुवा ज्यादै खुसी हुनुहुन्थ्यो। उहाँलाई हाम्रो प्रगति देखेर गर्व लाग्दो रहेछ। म्युजिक सिक्ने क्रममा हेल्चेक्य्राइँ गर्दा भने उहाँ रिसाउनुहुन्थ्यो। ‘संगीत तिमीहरूको धर्म हो, यसलाई साधारण किसिमले कहिल्यै पनि नलिनु’ भन्नुहुन्थ्यो। कुनै पनि काममा लागेपछि त्यसमा लगनशील, धैर्य हुनुपर्छ भनेर हामीलाई सुझाइरहनुहुन्थ्यो।
हामी पनि उहाँकै बाटोमा हिँड्ने कोसिसमा छौं। उहाँले नेपाली संगीतको क्षेत्रमा जे जति योगदान गर्नुभएको छ, हामी त्यसको एक छेउ पनि गर्न सक्दैनांै। आफू आर्थिक रूपले जति नै जर्जर हुँदा पनि उहाँले हामीलाई पैसा कमाउनकै लागि अन्य पेसा, व्यवसायप्रति आकर्षित गर्नुभएन। उहाँले कहिल्यै पनि जग्गा किन्ने, घर बनाउने, मोजमस्ती गर्ने जस्ता काम गर्नुभएन।
घरका लागि आवश्यक सौदापात गर्ने उहाँको बानी थिएन। उहाँ कहिलेकाहीँ आफैं खाना बनाउनुहुन्थ्यो र सबैलाई भेला गरेर खुवाउनुहुन्थ्यो। उहाँलाई नेपाली परिकार नै मन पथ्र्यो।
उहाँ संगीतबाहेक घरपरिवार आदिको क्षेत्रमा उदार र व्यावहारिक हुनुभएन। आफ्नो काममा लागेपछि सबै कुरा बिर्सिने उहाँको बानी थियो। हामीलाई राम्रा विद्यालयमा भर्ना गरिएको थियो। उहाँले हामीलाई हतोत्साहित हुने खालका कुनै काम गर्नुभएन। यो काम तिमीहरूले गर्नैपर्छ भनेर दबाब पनि दिनुभएन। बुवा आफ्नो काम आफैं गर्नुहुन्थ्यो।
मेरा लागि बुवा गुरु मात्र होइन, आदर्श व्यक्तित्व हो। बुवा हाम्रा लागि साथीजस्तै पनि हुनुभयो। बुवाको त्याग र समर्पणभाव हाम्रा लागि सदैव प्रेरणास्रोत रहिरहनेछ। लगनशील र धैर्य नै बुवाको जीवनका अमूल्य विशेषता हुन्। नेपाली मौलिक संगीतको प्रवद्र्धनमा उहाँको सदैव जोड थियो। नेपालमा राम्रो अत्याधुनिक संगीत शिक्षालय खुलोस् भन्ने उहाँको रहर थियो। बुवाका यस्ता सोच पूरा गर्नु नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ।
(अम्बर गुरुङका छोरा राजु गुरुङसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित)