बुवाको ‘बेटा’ म
मेरो मुहार बुवासँग मिल्थ्यो रे। सानो छँदा बुवासँग घुम्न निस्कँदा हामीलाई देख्नेहरू त्यसै भन्थे। जब बुवाले ‘बेटा’ भनेर बोलाउनुहुन्थ्यो, सर्ट पाइन्टसहित म दगुर्दै बुवा छेउमा आइपुग्थेँ। ब्वाइज कट कपाल थियो। ‘जेठो छोरा हो ? ’ मलाई देख्नेहरू बुवालाई सोध्थे। प्वाक्क प्रश्न गर्नेहरूतिर म ट्वाल्ल पर्दै हेर्थें तर मौन बस्थेँ। जवाफको जिम्मा बुवालाई नै हुन्थ्यो।
बुवा डिल्लीबहादुर कार्की र आमा लीलादेवीको कोखबाट जेठी छोरीका रूपमा जन्मिएँ। मेरो न्वारानको नाम अर्कै थियो। तर, बुवाले नै सुशीला भन्ने नाम राखिदिनुभएको हो। हामी भाइबहिनी गरेर सातजना थियौं। आजभन्दा ५० वर्षअघि बुवाको जुन गुण थियो, त्यो अहिलेका एक्काइसौं शताब्दीका बुवाहरूमा पनि पाउँदिनँ। धन्य छौं हामी, किनकि छोराछोरीमा कुनै विभेद गर्नुभएन। पढाउनमा सबैलाई जोडबल गर्नुभयो। म पुलकित हुन्थेँ। तर, चरित्रका सवालमा भने उहाँ कडा हुनुहुन्थ्यो, नो कम्प्रोमाइज। आदर्श र शालीन हुनुपर्छ भन्ने मन्त्र उहाँले हामीलाई सुनाउनुहुन्थ्यो। विश्वका चर्चित महिलाहरूको फोटो देखाएर ‘यस्तो बन्नुपर्छ’ भन्दै उत्पे्ररित गर्नुहुन्थ्यो। राजनीतिमा लाग्दा उहाँले घरव्यवहारमा पर्याप्त समय दिन पाउनु हुन्थेन। तर, छोराछोरीका लागि जति पनि समय दिनुहुन्थ्यो।
तीनचार वर्षको हुँदादेखि नै बुवाले सँगै लिएर हिँडनुहुन्थ्यो। बुवाको चोरी औंला समातेर हिँडेको झल्झली याद आउँछ। भाइबहिनीहरूलाई काँधमा बोकेर नै डुलाएको दृश्य मानसपटलमा कैद भएको छ। मचाहिँ बुवाको मोटरसाइकलपछाडि बस्थेँ। बुवाको कम्मरमा दुवै हातले बेस्सरी समाउँथे। मोटरसाइकल दगुथ्र्यो, मचाहिँ आनन्दमा हराउँथे। छोरी भए पनि बुवाले छोराले लगाउने लुगा किनिदिनुहुन्थ्यो। कपाल काट्न परे बुवाले हजामलाई घरमै बोलाइदिनुहुन्थ्यो। पढाउन निकै बल गर्नुहुन्थ्यो। ८ वा ९ कक्षामा पढ्दाको कुरा हो, राति पढ्दापढ्दै झ्याप्प बत्ती गयो। बुवाले टर्चलाइट डोरीले छततिर बाँधेर छोडिदिँदै भन्नुभयो, ‘ल अब उज्यालो भइहाल्यो, खुरुखुरु पढ है।’
परीक्षाको समयमा एकपटक मलाई हनहनी ज्वरो आयो। परीक्षा छुटाउनु हुन्न भनेर म अडिग थिएँ। बुवा राति तीनचारपटक मेरो निधार छाम्न आउनुभयो। भन्नुभयो, ‘इक्जाम दिन सक्दिनौ होला। नगए नि हुन्छ।’ तर म सक्छु भन्दै बिहान उठेर स्नातकको परीक्षा दिएँ। अधिवक्ता भइसकेपछि कामको सिलसिलामा काठमाडौं आउनुपर्ने भयो। राति ३ बजे उठेर मलाई लिएर गई आरामदायी सिट खोजिदिनुभयो। छेउमा महिला राखिदिएर ‘राम्रोसँग जाऊ है’ भन्दै घर फर्किनुभयो। छोरीको सुरक्षाका लागि उहाँ चनाखो हुनुहुन्थ्यो। त्यो बेला पन्ध्र सोह्र वर्षमै विवाह गरेर पठाइहाल्थे। तर, हामीलाई विवाहभन्दा पनि आफ्नै खुट्टामा उभिएको हेर्ने बुवाको चाहना थियो। छोरीहरूलाई विवाह नगरिदिएर क्याम्पस पढाएको भन्दै बुवाको आलोचनासमेत भयो। तर, बुवाले एक कानले सुनेर अर्को कानले उडाइदिनुभयो।
बुवाले कालो पाटीमा क लेख्न सिकाउनुभयो। तर, पछि जब म अधिवक्ता भएँ, त्यति बेला बुवाले गर्ने सार्वजनिक भाषणहरू पनि मैले लेखेँ। महिला अधिकारको सवाल भाषणमा घुसाइदिन्थेँ तर बुवा अधिकारका नाममा छाडा प्रवृत्ति पनि हुनु हुँदैन भन्नुहुन्थ्यो। कसैले तिम्री छोरी त यस्ती तगडा छे भनिदियो भने उहाँ दंग पर्नुहुन्थ्यो। बुवा मक्ख परेको देखेर मलाई खुसी लाग्थ्यो। छोरी न्यायाधीश होस् भन्ने चाहना उहाँको मनमा थियो। छोरी जन्मिएपछि समस्यामा परेकी मेरी बहिनीलाई नातिनी हामीलाई छोडिदेऊ, अमेरिकामा पढ्न जाऊ भनेर सल्लाह र आँट पनि दिनुभयो। विवाहपछि छोरीप्रतिको दायित्व सकियो भन्ने भावना बुवामा थिएन। विवाहपछि परिवारमा कसरी मिल्नुपर्छ ? परिवारका सदस्यलाई कसरी सम्मान गर्नुपर्छ ? भन्ने कुरा सिकाउनुभयो। विवाह गर्ने उमेर पुग्दासमेत म पढ्छु अझै, बिहे गर्ने बेला भएको छैन भन्दा पनि सहमति जनाउनुभयो। मान्छे माग्न आइरहन्थे तर बुवाले दिनुभएन। यसरी आफ्नै राजीखुसीले विवाह गर्न पाइयो।
त्यस बेला पन्ध्र सोह्र वर्षमै छोरीलाई विवाह गरेर पठाउने चलन थियो। तर, बुवालाई हामी छोरीहरू आफ्नै खुट्टामा उभिएको हेर्ने चाहना थियो। छोरीलाई विवाह नगरिदिएर क्याम्पस पढाएको भन्दै बुवाको आलोचनासमेत भयो।
२०४४ साल मंसिर ६ गते बुवा स्वर्गवास हुनुभयो। उहाँको स्वास्थ्य सुरक्षामा भने हामीले केही गर्न सकेनौं कि भन्ने थकथकी लागिरहन्छ। त्यति बेला म धरानमा अधिवक्ताका रूपमा कार्यरत थिएँ। बिहानपख उहाँ गम्भीर हुनुभएछ। तर, मलाई राति खबर भयो। बिहानै ४ बजे उठेर सरासर कोसी अस्पताल गएँ। बाहिरबाट हेर्दा ठिकै देखिनुहुन्थ्यो। मलाई देखेर उहाँ रिसाउनुभयो। त्यो दिन बुवाको साथीको मुद्दा थियो। ‘साथी कराउँछ, किन यहाँ बसेको ? त्यसको मुद्दामा बहस गरेर सिध्याइदिनु। मलाई केही भएकै छैन। किन यसरी जम्मा भएको ? मलाई केही हुँदैन’, भन्नुभयो।
बुवासँग झन्डै दुई घन्टा बसेपछि अदालत पुगेर बहस गरेँ। फेरि बुवालाई भेट्न आएँ। उहाँ त हाँस्दै भेट्न आएकाहरूसँग गफ पो गरिरहनुभएको थियो। भोलि घर लैजाने भन्दै मनमनै निर्णय गर्यौं । तर, राति अचानक बुवालाई मुटुको समस्या देखा पर्योभ। कोमामा पुग्नुभयो। सकुशल घर लैजाने हाम्रो चाहना अधुरै रह्यो। हरेक वर्ष कुशेऔंसीका दिन बुवाको मुहार हेर्ने तथा उपहार दिनेभन्दा पनि उहाँले जुन परिवेशमा हुर्काउनुभयो, संस्कार सिकाउनुभयो, त्यो देन स्मरण गर्ने गर्छु। त्यसैको परिणाम हो, सर्वोच्च अदालतको प्रधानन्यायाधीशसम्म बन्न सकेँ।
बुवा सेतो रङको सफा र नीर हालेको कुर्तासुरुवाल लगाएर बाहिर निस्कनुहुन्थ्यो। मर्निङ वाकको बहानामा बिहानै मन्दिरको दर्शन गर्ने र त्यही बेला साथीभाइसँग भलाकुसारी गर्ने बानी थियो। गाउँघरमा कसैलाई दुःख पर्यो वा कोही थुनामा पर्योश भने गुहार्न आउनेहरूलाई सहयोग गर्नुहुन्थ्यो। सरल जीवन, निर्भीक स्वभाव र मितव्ययी व्यवहार बुवामा थियो। त्यो गुण ममा आएको हो कि भन्ने महसुस हुन्छ। बुवाको निधनपछि घरको धुरी भाँचिएझैं भयो। घरको रौनक नै हरायो। विराटनगरस्थित शंकरपुरमा रहेको कार्की निवासमा शिक्षाको ज्योति जगमगाइरहेको बेला झ्याप्प बत्ती निभेझैं भयो। आगन्तुकको आगमन विस्तारै घट्न थाल्यो। शून्यता छायो। बीए, एमए पढिरहेका भाइबहिनीहरूको पढाइ रोकियो। अनि भटाभट विवाह हुन थाल्यो।
आमा घरधन्दामा व्यस्त रहनुपर्ने हुनाले बुवासँग नै बढी घुलमिल भइयो। त्यति बेलाको समाजमा आमा बाहिर निस्कने अवस्था थिएन। बुवाको क्षितिज फराकिलो थियो। त्यही क्षितिजका कारण हुन सक्छ, घरमा बसिरहने छोरीभन्दा पनि अलराउन्डर बनाउन चाहनुहुन्थ्यो। बुवाको मुद्दामामिलासमेत मैले हेरिदिएकी छु। कुनै पनि बुवाले छोराछोरीलाई धेरै नियन्त्रण गर्ने पनि होइन, धेरै फुकुवा गर्ने पनि होइन। आफूसँग आत्मीयताका साथ राख्नुपर्छ भन्ने लाग्छ। घरको पारिवारिक कुराहरू बताउनु पनि पर्दो रहेछ। सन्तानलाई साथीको रूपमा हेर्नुपर्छ। बुवा र मेरो उमेरको फरक झन्डै तीस वर्षको थियो। तर, बुवाले साथीको रूपमा हेर्नुभयो र त्यही व्यवहार पनि गर्नुभयो। त्यसैले बुवा खास व्यक्ति हुनुहुन्छ भन्ने लाग्छ। कुनै काम बिगार्दा वा व्यवहार गर्दा बुवाले हप्काउनुहुन्थ्यो तर कुटेको रेकर्ड छैन। एकपल्ट घरमा पढाउन आएका शिक्षकले हामीलाई कुटेको देखेपछि बिदा गरिदिनुभएको थियो।
चिन्ता, रोग लुकाउन सक्ने सामर्थ्य थियो उहाँको। आफैं जँचाउन जानुहुन्थ्यो। आमा र हामीलाई दुःख नदिन उहाँले यस्तो गर्नुभएको थियो होला। उच्च रक्तचाप र मधुमेह थियो। ६० वर्ष पुग्दा नै उहाँको आकस्मिक निधन भयो। त्यो बेला मसँग धेरै रकम थिएन। आर्थिक पहुँच भएको भए अलि लामो समयसम्म बचाउन सकिन्थ्यो कि भन्ने अहिले महसुस गर्छु। बुवा बितेको धेरै वर्षसम्म सपनामा उहाँसँग दर्शनभेट भइरह्यो। ‘आमालाई दुःख भयो, तिमीहरूले त्यति पनि मिलाउन सकेनौ है’ भन्दै बुवा बोलिरहनुभएको सपनामा याद छ। चारपाँच वर्षपहिले ‘अब सपनामा पनि आउँदिनँ’ भन्दै बुवाले भनेको सम्झना छ। त्यसपछि अहिलेसम्म उहाँलाई सपनामा पनि देखेको छैन।
(पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग दिनेश गौतमले गरेको कुराकानीमा आधारित)