घरघरमै बै‌ंक खाता

घरघरमै बै‌ंक खाता

कुश्मा : सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा, एकल महिला, अपांगता भएका तथा दलितका लागि बैंकले घरघरमा पुगेर खाता खोलिरहेको छ । पर्वत जिल्लाको महाशिला गाउँपालिका सबैजसो वडाका वृद्धवृद्धालाई घरमै पुगेर भत्ता वितरण गर्न खाता खोल्न थालिएको छ । डेढ दशकपछि स्थानीय लुंखुदेउरालीमा पुनस्र्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले सामाजिक सुरक्षा भत्ता पाउनेको खाता खोल्ने उद्देश्यले घरदैलो अभियान सञ्चालन गरेको छ ।

यस अघि बैंकको पहुँच नहुँदा जनप्रतिनिधि र कर्मचारीले सदरमुकाम कुश्माबजारबाट रकम लगेर वितरण गर्दै आएका थिए ।

बैंकको स्थापनासँगै अब उक्त गाउँपालिकाका वृद्धवृद्धाले पनि बैंकबाटै भत्ता पाउने भएका हुन् । जिल्लाका अन्य स्थानीय तहमा लामो समयदेखि बंंैंकबाट भत्ता वितरण हुँदै आएको भए पनि यो गाउँपालिकामा भने गत आर्थिक वर्षसम्म साविक वडा कार्यालयबाटै वितरण भएको थियो ।

सामाजिक सुरक्षा भत्ता पाउने वृद्धवृद्धा, एकल महिला, अपांगता भएका तथा दलित ज्येष्ठ नागरिकका लागि एकातिर बैंकले खाता खोलिरहेको छ भने अर्कोतर्फ जनप्रतिनिधि र गाउँपालिकाका कर्मचारीले भत्ता वितरण गर्ने काम भइरहेको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनबिक्रम उच्चैले जानकारी दिए ।

उनका अनुसार ज्येष्ठ नागरिकलाई वडा कार्यालय वा बैंकसम्म पुग्ने झण्झट पनि नहुने र बैंकलाई पनि घरमै पुगेपछि सबै विवरण लिन सकिने भएपछि दुवै पक्षलाई सहज भएको छ ।

अहिले वडा नं. ४ को पाखापानीदेखि अभियान थालिएको प्रवक्ता उच्चैले बताए । गाउँपालिकाका ६ वटै वडामा १५ दिनसम्म यो अभियान थालेर सबै लाभग्राहीलाई भत्ता वितरण गरिने भएको छ भने बैंकले पनि सबैको खाता खोल्ने छ । यसपटक घरदैलो नै गएर खाता खोलिने र अर्को किस्तादेखि सबैलाई बैंक खातामै रकम जम्मा गरिने महाशिला गाउँपालिकाका अध्यक्ष राजु पौडेलले जानकारी दिए । ‘बैंकबाट सामाजिक सुरक्षा भत्ता वितरण हुन थालेपछि पारदर्शिता अझै हुनेछ’, अध्यक्ष पौडेलले भने ।

यस अघि वडा नं. ६ फलामखानीको मुक्तिनाथ विकास बैंकमार्फत भत्ता वितरण हँुदै आएको थियो भने वडा नंं १ हो श्राङदीको गरिमा विकास बैंकबाट वितरण हुँदै आएको थियो । बाँकी चारवटामा यो अभियानमा खाता खोलिने छ र सबै लाभग्राहीका खाता सञ्चालन भइसकेपछि ६ वटै वडालाई एकीकृत रूपमा वाणिज्य बैंकबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिने पौडेलले जानकारी दिए ।

महाशिला गाउँपालिकाका ६ वटै वडामा गरी वृद्धवृद्धा, एकल महिला, अपांगतालगायत गरी सामाजिक सुरक्षा भत्ता पाउनेको संख्या एक हजार पाँच सयभन्दा बढी रहेको छ । बैैंकिङ प्रणालीमार्फत रकम वितरण गर्दा सुरक्षित र पारदर्शी हुने बैंकले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.