बाको सम्झनामा
एक दिन मेरो कुनै साथीलाई ज्वरो आएछ, हेर्न गएँ। उसलाई बिस्कुट दिइयो। ज्वरो आए बिस्कुट खान पाइने भन्ठानेर एक दिन स्कुलबाट आउनासाथ ज्वरो आएको बहाना गरेँ। बाले पछि थाहा पाएर भने, ‘नाथे, यस्तो ठग काम पनि गर्नु हुन्छ ?’
मेरा बा २०७४ साल माघमा १०० वर्षमा दिवंगत हुनुभयो। खोटाङको खार्पा भन्ने अति दुर्गम गाउँको निम्नमध्यम वर्गीय पोखरेल परिवारमा उहाँको जन्म भएको थियो। साउँ अक्षरमै सीमित रहेर खेती, गाईबस्तु र घाँसदाउरामै मस्त मेरा बाको १५ वर्षको उमेरमा दियाले खतिवडा पण्डितकी पुत्री १० वर्षीया बालिका मेरी आमासँग बिहे भयो। अपठित ज्वाइँ परेछन् भनेर पछि कुनै प्रसंगमा आएको टिप्पणी सुनेर मनमनै आहत भए बा। त्यसैले बिहेको दुई वर्षपछि घरबाट भागेर परदेशीको रूपमा अत्यन्त कष्ट खप्दै स्नातक सम्मको औपचारिक उपाधि लिनुभयो उहाँले। अन्त्यमा सरकारी शिक्षण सेवामा प्रवेश गर्नुभयो। २००५ सालदेखि सरकारी शिक्षण सेवामा आबद्ध भई ‘मास्टर ईश्वरी’बाट परिचित हुनुभयो। ‘मास्टर’बाटै सेवानिवृत्त हुनुभयो।
परिस्थितिवश मैले विश्वविद्यालयको पढाइ अधुरै छाडी जागिरे जीवन सुरु गरेको हुँ। पछि समयक्रममा जागिरसँगै मुलुक भित्रैबाट उच्च शिक्षाका औपचारिक डिग्रीहरू लिएँ। जागिरको अवकाश पछिको मेरो कुनै एकपटकको अमेरिका यात्रामा प्रसिद्ध हार्वर्ड विश्वविद्यालयको अवलोकनमा गइयो। बाहिरी परिसरको संक्षिप्त घुमाइपछि विश्वकै ज्ञानको भण्डार मानिने त्यहाँको बाइड्नर लाइब्रेरी अवलोकनका लागि प्रवेशको उपक्रममा लागेका मात्र थियौं। तर, मेसिनले प्रवेश अनुमति दिएन। थाहा पाइयो, सो लाइब्रेरीमा उक्त विश्वविद्यालयका प्राध्यापक, अध्ययनकर्ता, फेलो वा त्यहाँका कर्मचारी आदि जोसँग मेसिनले पढ्ने पास छ, उसले मात्र प्रवेश पाउने रहेछ। मैले संकल्प गरेँ, ‘कुनै समय म यही लाइब्रेरीमा अध्ययन गर्छु र यही विश्वविद्यालयको डिग्री लिन्छु।’ नभन्दै मैले त्यो संकल्प पूरा गरी छाडेँ। एकातिर, पहिलो संविधानसभा सफलतापूर्वक सम्पन्न गरी गौरवशाली चरणमा पुगेको बाँकी साढे तीन वर्षको प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीको त्याग, पढाइखर्चको जोहो। अर्कातिर त्रियानब्बे वर्ष काटेका वृद्ध बा र समवयी आमासँगको वियोग। कर्तव्यनिष्ठ र कर्मका प्रबल पक्षपाती बाले ‘तेरो उन्नति हुन्छ भने हाम्रो पीर नगर जा’ भन्नुभयो। परिणामतः त्यसपछि मेरो कार्यक्षेत्र विस्तृत भयो। शान्ति र प्रजातान्त्रिक निर्वाचनको विषयमा विश्वमै योगदान गर्ने मौका दियो, यस घटनाले।
म गाउँमै प्राथमिक शिक्षा पूरा गरी १० वर्षको उमेरमा घर छोडेर ओखलढुंगा आएको थिएँ, पढाइका लागि। त्यतिखेर बा त्यहाँ स्थापित शिक्षक हुनुहुन्थ्यो। बाको अभिभावकत्वमा हामी दाजुभाइले त्यहीँबाटै एसएलसी गर्यौं । कडा मेहनत गर्ने र केही काम नलिई खाली हात एकैछिन पनि नबस्ने बाको जीवनशैली थियो। ९३ वर्षको उमेरसम्म पनि उहाँले यस बानीलाई निरन्तरता दिनुभयो। यसपछि शारीरिक शिथिलताकै कारणले पनि श्रमसाध्य लुरीखुरी छोडिँदै गए। र, पनि ९९ वर्षको आसपाससम्म पनि बिहान दुई घन्टा जति स्नान, ध्यान र योगाभ्यास गर्ने, एक घन्टाजति टहल्ने, घुम्ने तथा बिनाचश्मा एकसरो दैनिक पत्रिका पढ्ने अभ्यास निरन्तर रह्यो। एक किसिमले ओछ्यान नै नपरी उहाँ दिवंगत हुनुभयो। शारीरिक चहलपहल कम हुँदै जाँदा उहाँमा एक खाले छटपटी प्रारम्भ भयो। परिणामतः आफ्नो विगत लिपिबद्ध गर्ने सुर सवार भयो उहाँमा। असंख्य विषयको अत्यन्त मिहिन पाराले प्रारम्भिक टिपोट–मस्यौदा तयार पार्नुभयो र जिम्मा लाउनुभयो मेरो सानिमाको छोरा भाइ भरतलाई। सोही सामग्रीलाई उनले अत्यन्त कुशलतापूर्वक सम्पादन गरी ‘जीवन एक : भोगाइ अनेक’ नामक एक संस्मरणात्मक कृतिका रूपमा तयार पारिदिए, मास्टर ईश्वरीप्रसादको संस्मरण ग्रन्थ। बाको ९७ वर्षको उमेरमा सो कृतिको विमोचन गरेर हामीलाई ठूलो गुण लगाउनुभयो— संस्कृतिविद् शताब्दीपुरुष सत्यमोहन जोशीले। त्यो ऐतिहासिक क्षणमा बाको मुहार अपार प्रसन्नताले धपक्क बलेको सम्झना मलाई अहिले पनि उत्तिकै छ।
बालाई सुकिलामुकिला लुगामा चिटिक्क परेर हिँड्नुपर्ने। फर्केर घर वा डेरामा आएपछि लाएका लुगा फुकाली सपक्क पट्याउनुपर्ने अनि लुगा फेर्ने। सुरुमा दुम्जा भए पनि जागिरको अधिकांश समय ओखलढुंगा र सेर्ना पाखेमा बित्यो। खार्पाको घरपायक त जागिरको उत्तरार्द्धमा मात्र हो। ओखलढुंगा वा पाखेबाट खार्पा झन्डै एक दिनभरिको बाटो हो सामान्य हिँडाइमा तर बा प्रायः प्रत्येक शुक्रबार स्कुल बिदा गरी १ बजे खार्पा जाने। दिनभरिको बाटो १ बजे हिँड्नुपर्दा वायुवेग नदिए सम्भव थिएन, तैपनि राति ९–१० मा पुग्ने। दशकौं यस्तो श्रमसाध्य चर्या रह्यो बाको।
उता घरमा आमाको हरिबिजोग उस्तै। सात–सातजना एकै दामलीका हामी भन्ट्याङभुन्टुङको स्याहारसुसार। बाख्राबस्तु, घाँसपात, बाच्छापाडा, मेलापात, लाउनु–उठाउनु कति हो कति ? सम्भँmदा अहिले सातो जान्छ तर हाम्रा बा–आमाले त्यो महाभारत कुनै दिक्दारी वा हतोत्साहबिना चलाएका थिए। बा अलिक कट्टर प्रकृतिको मान्छे। कुनै पनि परिस्थितिमा आफ्नो निष्ठा वा धर्म नछोड्ने। आपूm अविराम लगनशील हुनुपर्ने र पारिवारिक सदस्य वा शिष्य जो कोही पनि बिनाकाम रल्लिएर बसेको देख्नै नहुने। तर, समग्रमा उहाँको नैष्ठिक चर्या त्यो भेगकै समाजका लागि उदाहरणीय थियो। उहाँको दीर्घ जीवनको रहस्य नै उहाँको निष्ठापरायणता थियो भन्ने अहिले म बुझ्दैछु। नित्य साधना (योग, ध्यान, पाठ र पूजा), शारीरिक अभ्यास, शाकाहारी भोजन, प्रत्येक दिन बिहान उठ्नासाथ चिसो पानीले स्नान गर्ने, दिनमा एकाध घन्टा जुनसुकै अवस्थामा पनि हिँड्नैपर्ने बानी उहाँको दीर्घायुको कारण थियो। सरल र कपट बिनाको जीवनशैली, लोभलालचबाट मुक्त, अर्काको वैभवमा कुनै ईष्र्या नहुने, सत्य कुरामा अडिग रहने जस्ता तत्व नै उहाँका दीर्घ जीवनका सहायक हुन् भन्ने जस्तो लाग्छ।
ओखलढुंगामा बासँग बस्ताको सम्झना याद आउँछ। बजारका लहरै घर। कोही बिस्कुट खान्थे, वासना सुँघ्थेँ म। बा नकिनिदिने, आपूmसँग सुको नहुने। एक दिन मेरो कुनै साथीलाई ज्वरो आएछ, हेर्न गएँ। उसलाई बिस्कुट दिइयो। ज्वरो आए बिस्कुट खान पाइने भन्ठानेर एक दिन स्कुलबाट आउनासाथ कोठामा भएभरका सिरक ओढेर शरीर अनि आफ्नै हातले माडीमाडी निधार र नाडी तताएँ। ज्वरो आएको बहाना गरेँ। बाले नाडी निधार सबै छाम्नुभयो, ज्वरो आएछ भन्दै अत्तालिनुभयो। माया गरेर ‘के खाने भन्ने’ बाको वचन झर्न नपाउँदै ‘बिस्कुट’ भनेँ। तुरुन्तै बिस्कुट आयो र खाएँ पनि। नक्कली ज्वरो कति बेर थाम्न सकिन्थ्यो र ? पछि बाले थाहा पाउनुभयो, मैले ठगेको। चुटाइ भेटिने भो भनेर खुब डराएको थिएँ। तर, ‘नाथे, यस्तो ठग काम पनि गर्नु हुन्छ ?’ भनेर अरू पनि अर्ति पो दिनुभयो। यस्तो थियो उहाँको कठोरताभित्रको सरलता। उहाँको रिसाएर प्रयोग गर्ने हदैसम्मको शब्द भनेकै ‘नाथे’ हो।
ओखलढुंगा सदरमुकामबाट पछि बाको सरुवा भयो। हामी दाजुभाइ हाइस्कुलको पढाइमा थियौं। जिल्लाभरिमै एक मात्र हाइस्कुल सदरमुकाममा भएकाले हामी त्यहीँ बस्यौं। बाको सरुवा भए पनि तलब थाप्न महिनामा एकपटक सदरमुकाममै आउनु पर्थ्यो। आउँदा हाम्रो महिनावारी खर्च मिलाएर जानुहुन्थ्यो तर पाइ–पाइको हिसाबमा। बाको अनुपस्थितिमा फुक्काफाल हुँदै गएँ म। घरभेटी बा सोखिन थिए। रमी भन्ने तास खेल्थे, मान्छे जुटाएर। हामी नजिकै बसेर रमिता हेथ्र्यौं। ‘ठीक छ केटा हो, सबै कुरा जान्नुपर्छ, सिक तिमीहरू पनि’ भन्थे। नभन्दै छुरा किशोर दिमाग, केही दिनमै रमीको उस्ताद भइयो। उनले साथी नपाएको बेलामा आफैं बसियो पनि। कागजको बिँडी खान्थे उनी। कहिलेकाहीँ हामी ठिटाले सल्काइदिनु पर्थ्यो। यस्तैमा लत नै बसेछ, लुकीलुकी बिँडी–चुरोट नै तान्न थालिएछ।
स्वाभाविक रूपमा म खर्चिलो हुन थालेँ। बाले खटाएको बजेटले यस्ता कुरा नसमेट्ने नै भए। केही महिनाको यस उपक्रममा म पन्ध्र रुपैयाँ ऋणमा परेछु। बा नियमित समयमा आउनुभयो र हिसाब बमोजिमको खर्च दिनुभयो। ऋणको तोडले पीडित मैले बा फर्कंदा अलिक परसम्म पछ्याएँ र बाले फकाइफुल्याई केरकार गरेपछि अंग्रेजी र विज्ञान ट्युसन पढेकाले पन्ध्र रुपैयाँ बढी चाहिएको कुरो बताएँ। बा किंकर्तव्यविमूढ मुद्रामा त्यहीँ थचक्कै बस्नुभयो। केही छिनपछि यस्तो नसोचेको, त्यो पनि यत्रो धेरै पैसा पनि खर्च गर्नु हुन्छ त भन्दै कोटको भित्री गोजीबाट झिकेर पन्ध्र रुपैयाँ दिनुभयो। बाको मासिक तलब ऊ बेला त्यस्तै सवा सय रुपैयाँ थियो होला। हाम्रो पढाइखर्चदेखि उहाँकै खर्च र घरको मरमसला, लुगाफाटो, खरखेताला आदि कैयौं शीर्षकका खर्च कसरी धानिन्छ भन्ने म १२ वर्षे अल्लारेलाई के थाहा ? त्यतिखेर बाका आँखामा टिलपिल भएका पीडाका आँसुको अर्थ त धेरैपछि पो थाहा भयो मलाई।
पढाइको कुरामा घरमा मात्र होइन, स्कुलमा पनि बा एकदमै कडा। विद्यार्थीले पाठ बुझाएन भने कठोर सजाय दिने गुरुको रूपमा परिचित। सानोमा बाले हामीलाई राति १० बजेसम्म पढ्ने रुटिन दिनुहुन्थ्यो, घरमा। १०/११ वर्षको बच्चा हामीलाई ९ बजेपछि झ्याप–झ्याप उङ लाग्ने निद्राले झपक्क पारेर टाउको तल झर्ने। तर, हाम्रो टाउको के यसो निद्रामा तलमाथि गर्थ्यो, बाको कसिलो हातको झ्याम्टा हाम्रो गालामा परेपछि निद्रा त कता भाग्थ्यो कता। हाम्रो पिटी सर बाकै पहिलेको विद्यार्थी हुनुहुन्थ्यो। पिटीका क्रममा गल्ती हुँदा सरले गालामा तीन त्रिभुवन देख्ने गरी चट्कन लाउने अनि भन्ने, ‘तेरो बाउले कति कुट्थे, मैले त तँलाई के कुटेको छु र ?’
नयाँ शिक्षा र सभ्यताको संक्रमणबाट गुज्रँदै गरेका र वैज्ञानिक आधारमा व्याख्या र विमर्श गर्न खोज्ने हामी आजको समय र परिस्थितिमा बाधक देखिने कतिपय कुरामा लचिलो हुनुपर्ने सवालमा बासँग बहस भइरहन्थे। हामीले जति जोड गरे पनि बा टसको मस नहुने। तर, उमेरको उत्तरार्द्धमा बाको समझदारी निकै बढेको थियो। खासगरी छुवाछूत, धर्म, वर्ग, लिंग वा जातपातमा आधारित विभेद तथा कतिपय कुरीतिमा उहाँको दृष्टिकोण हामीसँग मिल्थ्यो। भन्नुहुन्थ्यो, ‘धर्मशास्त्रभन्दा पनि पछिकाले आफ्नो स्वार्थसिद्धिका लागि प्रवेश गराएका हुन्, अहिलेका कुरीति।’
मृत्युसंस्कार पाँच दिनमा सक्नुपर्छ भन्ने विचार राख्थेँ म। बा करिब ९७ वर्षको हुँदा उहाँ बिनाप्रमाण यस्ता कुरामा बहस गरेर फाइदा छैन, १३ दिनको काम कसरी पाँच दिनमा सकिन्छ ? लिखित दस्तावेज चाहियो, त्यो अध्ययन गरेपछि सोचौंला भन्नेसम्म पुग्नुभयो। मेरो मृत्यु संस्कार प्रचलित प्रक्रियाअनुसार नै गरिदिनु तर तिमीहरू के कसरी गर्न चाहन्छौ, त्यो तिमीहरूको स्वेच्छाबमोजिम गर्नु भन्नुभयो। समष्टिमा भन्नुपर्दा बाको कडा अनुशासनमा रहँदा बस्ता देखेभोगेका विषयवस्तु र उहाँको जीवनपद्धतिबाट सिकेका कुराले नै मलाई आज यो ठाउँमा पुर्याएको छ। बाप्रति नमन।