२३ नानीका ड्याडी

२३ नानीका ड्याडी

बा ! एउटै शब्द, जसले दर्जनौं अर्थ बोक्छ, र सायद सयौं भावना।कसैका लागि घरेलु अभिभावक भन्नु बा हुँदो हो, कसैका लागि वंशाधिकारी बन्नु नै बा हुँदो हो। कति चाहिँ वीर्यधनी हुनुलाई नै बा देख्छन्। राजकुमार पुन भने त्योभन्दा अलग परिभाषाका बा हुन्। बुवाको मुख हेर्ने दिन उनको वरिपरि २३ जना बाबुनानी झुम्मिन्छन् र भन्छन्- ह्याप्पी फादर्स डे ड्याडी !

ती २३ जनाका घरभित्रका पिता उनी होइनन्। तर, उनीहरूका लागि ड्याडी उनी मात्रै हुन्। पाँच-छ वर्षदेखि १५-१६ वर्षसम्मका ती कलिला बाबुनानी एचआईभी संक्रमित छन्। तिनीहरू कसैका पनि जन्म दिने आमाबा साथमा छैनन्। एड्सबाट आमाबा दुवै बितिसके। एक-दुई जनाका आमा थिए, ती पनि सम्पर्कमा छैनन्। र, साझा बा बनेका छन्- बेबी लाइफ होमका संस्थापक, राजकुमार पुन, ३४।

कीर्तिपुरस्थित भत्केपाटीमा बेबी लाइफ होमद्वारा सञ्चालित ‘सफलता एचआईभी शिक्षा सदन’ नामक स्कुल छ। यो एसियामै पहिचानसहित खोलिएको एक मात्र एचआईभी संक्रमित विद्यार्थी पढाइने विद्यालय हो। राजकुमार र उनकी साथी उमा गुरुङको परिकल्पनामा सात वर्षअघि यो स्कुल खोलिएको हो। २०६८ सालमा प्रारम्भिक बाल विकास केन्द्र नाममा कीर्तिपुर नगरपालिकाबाट अनुमति लिइएको यो स्कुलले एक वर्षमै जिल्ला शिक्षा कार्यालयबाट १ देखि ५ सम्मको कक्षा सञ्चालन अनुमति पायो। ०७३ मा ६ देखि ८ सम्म र यसै वर्ष ९ र १० कक्षासम्म चलाउने इजाजत स्कुलले पाइसकेको छ।

राजकुमार रुकुम मुसिकोटमा जन्मे-हुर्केका सामान्य परिवारका सन्तान हुन्। ओलीदेवी पुन र धनवीर पुन (आमाबा) कुनै विशिष्ट व्यक्तित्व थिएनन्। ‘छोरालाई पढाउनुपर्छ भन्नेसम्म थियो’, परिवारका एकमात्र सन्तान रहेका राजकुमार सम्झन्छन्, ‘बा स्थानीय निकाय प्रतिनिधि हुनुहुन्थ्यो, त्यतिबेलाको। तर म पारिवारिक रूपमा प्रेरणा पाएर यस क्षेत्रमा आएको होइन। दश वर्षअघिसम्म समाजसेवातिर लागूँला भन्ने कुनै सोचसम्म थिएन।’

कसरी लाग्नुभयो त यस क्षेत्रमा ?

‘पत्रिकामा समाचार पढें- ‘एचआईभी संक्रमित बालबालिका पढ्नबाट वञ्चित’ भन्ने’, सुरुवाती सन्दर्भ सम्झँदै उनले भने, ‘त्यो दाङको समाचार थियो। त्यसपछि हामी केही साथीहरू सल्लाह गरेर दाङ जाने निधो गर्‍यौं। दाङ पुगेर पढ्ने खर्च सहयोग गर्न खोज्यौं। तर जुन नानी एचआईभी संक्रमित थिइन्, उनका बुवाआमा बितिसकेका थिए। अनि उनलाई पाल्ने ठूलाबाले नानीलाई काठमाडौंमै लगिदिनुस् भनेर हामीलाई अनुरोध गरे।’ खासमा उनी भतिजीलाई पन्छाउन चाहन्थे।

ती ठूलाबाको चिन्ता रहेछ- एचआईभी संक्रमित भतिजी घरमा राख्दा घरमै सर्न सक्छ, गाउँमा पनि अरुबाट अपमानित भइरहनुपर्छ। यो कुनै अपवादको घटना थिएन। एचआईभी संक्रमित बालबालिका सबैतिर यसरी नै आफन्तबाट परित्यक्त, छरछिमेकबाट अपमानित र साथीसँगातीबाटै अपहेलित बनिरहेका थिए। यस्तो देखेपछि राजकुमारलाई लाग्यो, यस क्षेत्रमा केही त गर्नुपर्छ, यो मेरो पनि त दायित्व हो।

०६० साल सेरोफेरोेदेखि साथी बनेकी उमा गुरुङ र उनले त्यसपछि अठोट गरे- हामी नै सुरु गरौँ।

त्यतिन्जेल उनीहरूसँग न कुनै संस्था थियो, न कुनै भौतिक आधार। सुरुमा ४ जना बच्चा जिम्मा लिए, एचआईभी संक्रमित। घरमै राखे। ‘निजी स्कुलहरूमा भर्ना गर्न थुप्रै ठाउँमा थुप्रैपटक आग्रह गर्‍यौं’, राजकुमार भन्छन्, ‘कसैले लिन मानेन। धेरैले भने- एचआईभी संक्रमित विद्यार्थी भर्ना लियौं भने स्कुलमा अरु विद्यार्थीले पनि छाड्न सक्छन्।’ कति निजी स्कुलले त सिधै भनेछन्- यिनीहरूलाई भर्ना गर्दा स्कुलै घाटामा गयो भने को जिम्मेवार हुन्छ ?

अनि उमा र राजकुमारले आफ्नो निजी सम्पत्ति यी बालबालिकाको शिक्षा, स्वास्थ्य र जीवनका लागि लगाउने संकल्प गरे। ‘मेरो कीर्तिपुरमा घर थियो, सुरुमा मैले घरमै बच्चा राखें’, उनले भने, ‘पछि घर बेचेँ। हामीले बेबी लाइफ होम संस्था दर्ता गर्‍यौं। स्कुल चलाउने अनुमति लियौं। मैले घर पनि बेचेर त्यसको रकम यता लगाएँ।’

अहिले सफलता स्कुलमा नर्सरीदेखि १० कक्षासम्मका २३ जना विद्यार्थी छन्, ८ जना शिक्षक। सफलता स्कुल र बेबी लाइफ होम सँगसँगै छन्। उनीहरू दिउँसो पढ्छन्, बिहान बेलुका त्यहीँ बस्छन्। दिनमा २ पटक औषधि खान्छन्, बेलाबेला स्वास्थ्य परीक्षण हुन्छ। नियमित खाना, खाजा, मनोरञ्जन, अतिरिक्त क्रियाकलाप भइरहन्छ। ‘यिनीहरूका लागि स्वास्थ्य र जीवनरक्षा पहिलो हो, पठनपाठन दोस्रो अनि मनोरञ्जन तेस्रो’, पुनले भने। त्यसबाहेक स्कुलमा नियमित मोटिभेटिभ कक्षा पनि सञ्चालन हुन्छ।

स्कुलमा भिन्नभिन्न परिवेश, भूगोल, समुदाय र पारिवारिक पृष्ठभूमिबाट आएका बालबालिका छन्। ‘हामीसँग मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रका बालबालिका धेरै छन्’, उनले भने, ‘अधिकांश संक्रमित बालबालिका निम्नवर्गीय पृष्ठभूमिका छन्।’

२३ जना बालबालिकाका २३ वटा भिन्दाभिन्दै कहानी छन्। सुरुसुरुमा उनीहरू धेरै डराउँथे, रुन्थें। आमाबा सम्झेर टोलाउँथे। ‘समाजले उनीहरूलाई तँ अब मरिहाल्छस् भन्ने सिकाएकाले उनीहरू खाना खान पनि मान्दैनथे, कति त कुपोषणले ग्रस्त थिए,’ राजकुमारले भने, ‘एचआईभी भनेको रोग होइन, भाइरस संक्रमण मात्रै हो। यसबाट मरिँदैन भनेर सम्झाउन पनि हामीलाई धेरै मिहिनेत गर्नुपर्‍यो।’ अहिले भने २३ जनै हाँसीखुसी र फुर्तिला छन्। पढ्ने-लेख्ने मात्रै होइन, अतिरिक्त क्रियाकलापमा पनि उनीहरू उत्तिकै सहभागी हुन्छन्। चित्र बनाउँछन्। गीत गाउँछन्। बाजा बजाउँछन्। एक जना नानीको गीतिएल्बम नै तयार भएको रहेछ। ‘उनीहरू पेन्टिङ गर्छन्, प्रतिपेन्टिङ ५÷७ हजारमा बिक्री हुन्छ’, पुनले सुनाए।

ड्याडी हुनु भनेको सन्तानका सफलताबारे हरदिन सोच्नु पनि हो। सफलता स्कुलका छोराछोरीको सफलताका लागि राजकुमार पनि रातदिन सोच्छन्। बिना आम्दानीको बाले सन्तानप्रतिको दायित्व निर्वाह गर्न सक्दैन। २३ जना छोराछोरी पढाउनु र पाल्नुताल्नु झन् कहाँ सजिलो छ र ? राजकुमार यसैका लागि व्यवसायिक कृषिमा संलग्न छन्। उमाजी, प्रेम माली म भएर ललितपुर फर्सीडोलमा १५ रोपनीमा तरकारी खेती गरेका छौं, कीर्तिपुरमा ५ रोपनीमा’, उनले भने, ‘त्यसैबाट स्कुलको मूलखर्च धानिरहेका छौँ।’

पछिल्ला अध्ययनअनुसार देशभरि ३ हजारभन्दा बढी एचआईभी संक्रमित बालबालिका छन्। अध्ययन-प्रतिवेदनमा नपरेका त्योभन्दा बेसी हुन सक्ने पुनको अनुमान छ। ती बालबालिकाको दायित्व सरकारले लिनुपर्छ भन्छन् उनी। ‘समाजसेवा हाम्रो इच्छाले गरेका छौं, तर यो राज्यको दायित्व हुनुपर्छ’, उनले भने, ‘विद्यालय र शिक्षकको व्यवस्था सरकारले गर्नुपर्छ। उनीहरू खुलेर पढ्न पाउनुपर्छ।’

बा वीर्यधनी मात्रै होइन भन्ने बलियो साक्ष्य हुन्, अविवाहित युवा राजकुुमार। र, उनले त्यही भूमिका निर्वाह गरिरहेका छन्। अब सरकारको भूमिका त्यस्तै चाहिएको छ अर्थात् लोकतन्त्र भनेको मतदानको अनुष्ठान मात्रै होइन, नागरिकको शिक्षा-स्वास्थ्यको दायित्व ग्रहण पनि हो। शुक्रबार सफलता स्कुलकै आँगनमा भेटिएका राजकुमारले सरकार सम्झेर भने, ‘देशभरि रहेका यस्ता नानीबाबुहरू आधारभूत शिक्षा र स्वास्थ्योपचारबाट वञ्चित हुनु हुँदैन।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.