राइफल छाडेर गुरुकुलतिर
४० वर्ष आध्यात्मिक बाटोमा हिँडिसकेपछि दुई सयभन्दा बढी साना नानीहरूका ‘बुवा’ बने रामचन्द्र दास, ५६। धुँवाको सहर काठमान्डु-थानकोटको श्री अरविन्द आश्रममा दौडिरहेका, खेलिरहेका, चित्र बनाइरहेका, ध्यान-योग गरिरहेका, नाचिरहेका साना नानीहरू उनलाई ‘बुवा’ भन्छन्। तीमध्ये धेरै बालबालिका रामचन्द्रलाई ‘मामा’ पनि भन्छन्। ‘देशको सुन्दर भविष्यका लागि’ रामचन्द्र भन्छन् ‘सबैभन्दा पहिले साना नानीलाई दीक्षित गराउनुपर्छ।’
विसं २०५० मा बालबालिकाको शिक्षाका लागि अरविन्द योग मन्दिर (हाल श्री मातृ अरविन्द विद्यालय, थानकोटमा एक सय ५० र नवलपरासीको कोल्हुवामा ६० विद्यार्थी छन्) बनाइसकेपछि उनी थुप्रै साना नानीका एकसाथ अभिभावक भए, योग गुरु भए, संस्कृत ‘टिचर’ भए, मुख्यतः पिता भए। यी २५ वर्षमा रामचन्द्र दासलाई लाग्छ- उनले एउटा जिन्दगीलाई पटकपटक देखे, आ श्रममा संस्कृत श्लोक पढिरहेका, ध्यान गरिरहेका साना नानीका आँखामार्फत्, उनीहरूका जीवनमार्फत्।
उनैलाई थाहा छ- यी २५ वर्षमा उनी कत्ति नानी-बाबुको मन-मस्तिष्कमा प्रवेश गरे, नानीहरू बिरामी परेपछि कति रात छर्लंगै पारे, बालबालिकालाई दीक्षित बनाउने रहरमा सुदूरतिर कतिपटक स्वप्नदर्शीझैं टोलाइरहे। अहिले उनका पदचापका आवाज सयौं बालबालिकाले महसुस गरिरहेका छन्। कत्ति अनाथ, उचित लालनपालन नभएका, अभावग्रस्त परिवारका बालबालिका यहीं पढि-हुर्केर विदेशका विश्वविद्यालयमा तथ्यांकशास्त्र, भरतनाट्यम, आर्युवेदजस्ता पूर्वीय सांस्कृतिक एवं स्वास्थ्यसँग जोडिएका विषय पढिरहेका छन्, कोही इन्जिनियर बनेका छन्, पेन्टर बनेका छन्, कोही स्वदेशमै विज्ञान, वाणिज्यशास्त्र, कलाशास्त्र पढिरहेका छन्। ती बेलाबेला आश्रममा आउँछन्। उनीहरू आश्रम आउँदा रामचन्द्र दासका आँखामा त्यसै खुसी भरिएर आउँछ।
५५ गाई लहरै बाँधिएको गोठअघि पुग्दा दूध दुहिरहेका आश्रमका साधक उत्सुक र हँसिलो मुद्रामा उपस्थित थिए। केही बालबालिका मन लगाएर भुइँको गोबर सोहोर्दै थिए। गोबरको सुगन्धसँगै रमाइरहेका बालबालिका देख्दा काठमाडौंभित्रैको दोस्रो चित्र प्रस्तुत भएको लाग्थ्यो। सहरमा एकातिर पाकेटको दूध मात्रै देखेका बालबालिका छन्, जसलाई गोबर गन्हाउँछ। अर्कोतिर त्यही गोबरको सुगन्धसँग मस्त भइरहेका बालबालिका यो आश्रममा छन्। काठमाडौंभित्रै बाँचिरहेको, साना बालबालिकासँगै रमाइरहेको ‘फरक समाज’ यहाँ देखिन्छ।
यहाँका कत्ति नानीलाई सम्झना आउँदैन- आफ्नो बुवाको। नानीहरूलाई यत्ति थाहा छ- आ श्रममा सेतो कपडामा घुमिरहने, सेतो दाह्री पालेका, मुस्कुराइरहने स्वामी रामचन्द्र दास नै उनीहरूका ‘बाबु’ हुन्। बालबालिकालाई उनी आफ्नो पहाडको कथा, भारत, नागाल्यान्ड, पन्डीचेरी अरविन्द आ श्रमका अनेक संस्कार र सम्झना भनिरहन्छन्। ध्यान र योग शिक्षामार्फत् उनी बालबालिकालाई आर्दशमा बाँच्न सिकाउँछन्। भन्छन्, ‘बाल्यकालमै आर्दशमा दीक्षित गराउन सकियो भने बालबालिकालाई आजीवन दिव्यताको महसुस हुन्छ।’
उनको चेतनामा समय-काल बेलाबेला दगुरिरहन्छन्। दिमागको एक कुनादेखि अर्को कुनासम्म समयका अनेक आकृति गाढा भएर आउँछन्। उनी गुल्मीको बाँझकटेरीतिर पुग्छन्।
बाँझकटेरीमा उनको बाल्यकाल गाईवस्तुको पछिपछि दौडेरै बित्यो। बुबा-आमा अरुको खेतबारी अँधिया गर्थे। गाउँ आएका लाहुरेको पछि लाग्दै १२ वर्षमै उनी भागेर भारतको नागाल्यान्ड पुगेर बाटो खन्ने काम गरे। भारतका विभिन्न सहरमा बिना उद्देश्य ८ वर्ष उसै भौंतारिइरहे- कहिले भोकै, कहिले घरेलु कामदार भएर। संयोगले इन्डियन आर्मी- फोर्टिन जेके राइफलमा पुगे।
एकदिन एकजना साधकले भनिदिए, ‘युद्धकौशलभन्दा ब्रम्हत्व बल अदम्य हुन्छ।’ त्यस क्षणबाट अज्ञानताको रंग सदाका लागि उड्ने घटना भयो, जसले पूरै जीवन बदलिदियो। फोर्टिन जेके राइफल छोडेर उनी गुरुकुलतिर पुगे।
गुरुकुलबाट उनले गाउँमा बुवालाई चिठी पठाए। चिठीसँगै त्यसबेलासम्मको कमाइ भारू १३ सय पठाए। चिठीमा लेखिएको थियो, ‘म नयाँ खोजीमा लागें। मसँग भएको पैसा यत्ति हो। अब मसँग कुनै आशा नगर्नू।’
‘जीवनको आन्तरिक गहिरो खोजले मलाई श्री अरविन्द आश्रम पन्डिचेरी पुर्यायो’, सेतो दाह्रीले ढाकिएको अनुहार पूरै उज्यालो बनाएर उनले भने, ‘त्यहाँ जीवन भेट्टाएँ। त्यसपछि बल्ल आफ्नै घर पुगेजस्तै लाग्यो।’
दक्षिण भारतको पन्डिचेरी (हाल पुदुच्येरी) स्थित अरविन्द आ श्रमको बसाइपछि उनी पूरै बदलिए। ‘ज्ञानको ज्योति बाल, आफैंभित्रको अन्धकार हटाऊ,’ आ श्रममा चलिरहने प्रवचनमा सुन्थे, ‘जे सत्य छ, तिम्रो भित्र छ।’ जीवनको ‘गुणवत्ता’ खोज्दै त्यहाँ पुगेपछि उनी पूर्ण आध्यात्मिक संसारभित्र पसे।
सन् १८७२ अगस्टमा जन्मेका श्री अरविन्दले समाएको जीवनमार्गमा गुल्मी बाँझकटेरीका रामचन्द्र दास यस्तरी लाग्नु संयोगपूर्ण छ। कुनै औपचारिक शिक्षा नलिएका रामचन्द्र दासले पन्डिचेरीमा १२ वर्ष बिताए- योग, ध्यान, जप गरे, थुप्रै आध्यात्मिक किताब पढे, अंग्रेजी सिके, फ्रेन्च पढे, ल्याटिन, ग्रीक पढे, संस्कृतको गहिरो अध्ययन गरे।
ती १२ वर्ष उनी आ श्रमको सेवा र साधनामा तल्लीन भए। त्यसले उनको जीवनप्रतिको बुझाइमा आमूल परिवर्तन ल्याइदियो। आ श्रममा उनले कर्मयोग, भक्तियोग, ज्ञानयोग, ध्यानयोगसँगै योगका थुप्रै आयामको अभ्यास गरे। भन्छन्, ‘त्यसपछि लाग्यो, यो जीवन चेतनाको विकासको प्रयोगशाला हो।’
अरविन्द आ श्रममा एक दशक बिताएपछि उनी चन्द्रमणि भुसालबाट रामचन्द्र दास बनेका हुन्। त्यहाँको बसाइले ‘आन्तरिक शान्तिको तिर्खा’ मेटिएको थियो भन्छन् उनी। त्यहाँ उनले चम्पकलालजस्ता त्यागी साधकको सेवा गरे। भन्छन्, ‘चम्पकलालसँगको सत्संगले मेरो आध्यात्मिक मार्ग खुल्यो।’ (आ श्रममा चम्पकलालसँग रामचन्द्र दासको ठूलो तस्विर झुण्डिएको छ, जहाँ तन्नेरी रामचन्द्र दास सधैं केही खोजिरहेका जस्ता चम्किला आँखा लिएर मुस्कुराइरहेका छन्।)
२० वर्षको वन (भारत) बासपछि घर फर्के, नेपालमै केही नयाँ गरौं भनेर। उनी जन्मथलो गुल्मी पुगे, जहाँ देखे- फोहोरले ढाकिएका, महिनौं ननुहाएका, शिक्षाको अभावमा भोकै-नांगै माटोमा खेलिरहेका, गाउँतिर बिनाउद्देश्य बरालिएका थुप्रै बालबालिका र छिन्नभिन्न परिवार। बालबालिकाको यस्तो अवस्था देखेपछि उनले पन्डिचेरीको आश्रम बिर्सिए र थानकोटस्थित अरविन्द आ श्रमको सपना देखे। पन्डिचेरीको ज्ञानले उनलाई सिकाएको थियो- ‘नानीहरूको अनुहारबाट पहिले निराशा हटाउनुपर्छ, बालबालिकालाई ज्ञानको प्रकाशले नुहाइदिनुपर्छ।’
अबको जीवन ‘बालबालिकाको कल्याणमा लगाउँछु’ भन्ने संकल्प नै रामचन्द्र दासको सपनाको बिउ हो, जुन आज झांगिएर ठूलो वृक्ष बनेको छ। थानकोटमा चर्पी नभएको एउटा ढुंगे घर किनेर सुरु भएको आश्रम अहिले २४ रोपनीमा फैलिएको छ।
बालबालिकाको शिक्षा नै चेतना र ज्ञानको मूलद्वार हो भन्ने सोचाइले सबैभन्दा पहिले उनले श्री अरविन्द योग मन्दिर स्थापना गरे। समयक्रममा आश्रममा थुप्रै प्रौढले पनि आ श्रय लिए। आ श्रममा सबैको मिहिनेत, सहयोग र आम्दानीले अग्ला भवन बने, गाईपालन गर्न गौशाला बनाइयो, जैविक खेती प्रणालीको सुरुवात गरियो र विद्यालय सञ्चालनमा ल्याइयो।
२५ वर्षअघि १ जना बालक पढाएर सुरु गरिएको विद्यालयमा अहिले १५० बालबालिका पढ्छन्। उनीहरू त्यहाँ कोर्सका किताबका अक्षर मात्र पढ्दैनन्, जीवनलाई चाहिने व्यवहारिक ज्ञान पनि पढिरहेका हुन्छन्। यहाँका बालबालिका खेतीदेखि अध्यात्मोन्मुख शिक्षासम्म सिकिरहेका छन्।
आ श्रममै घरेलु प्रविधिबाट पस्मिनाका च्यादर बन्छन्। केही बालबालिका थाङ्का बनाइरहेका छन्। ध्यान हलमा पसेपछि यहाँको मौनताले छोप्छ र मनका विचारहरू तँछाडमछाड गर्न छोड्छन्। भान्छाघर फराकिलो छ, जहाँ दुई सय साधक र विद्यार्थी एक साथ भोजन गर्छन्। आ श्रममा बालबालिका तरकारी केलाइरहेका, चामल निफनिइरहेका, लेखिरहेका, पढिरहेका, मकै भुत्ल्याइरेहका, सागसब्जी गोडिरहेका, गेडागुडीको प्रांगारिक खेती गरिरहेका भेटिन्छन्। पस्मिना बुनिरहेका, कपडा सिलाइरेका, अगरबत्ती बनाइरहेका, झार उखेलिरहेका, ध्यान-योग, पेन्टिङ गरिरहेका, भरतनाट्यम, क्लासिकल नाच अभ्यास गरिरहेका, थिएटरमा नाटक अभ्यास गरिरहेका बालबालिका आ श्रमभरि देखिन्छन्।
आश्रम परिसरको स्कुल छुट्टी भएपछि ध्यान, योगसँगै ती बालबालिकाले आ श्रममा १ घन्टा श्रम गर्नैपर्ने नियम बनाइएको छ। यी क्रियाकलापले बालबालिकाको जीवनलाई विकास गर्न र स्वावलम्बनको पाठ सिकाइरहेको छ। बालबालिकाले यहाँ गायन, नृत्य, चित्रकला, कृषि, सिलाइबुनाइ, प्राकृतिक चिकित्सालगायत ज्ञान अनिवार्य सिक्नुपर्छ। अरविन्दको मुख्य मन्त्र उनीहरूलाई सिकाइन्छ- समग्र जीवन नै योग हो। बालबालिकाको आँखामा प्रसन्नता देखिन्छ, कर्ममा लगनशील देखिन्छन्।
आश्रममा विद्यार्थीलाई पढाउने गुरु यहींका पूर्व शिष्य हुन्। आ श्रमभित्रको श्रीमातृ अरविन्द विद्यालयका हालका प्रिन्सिपल हुन् यही आ श्रममा हुर्किपढेका गुल्मीकै वेदानन्द पाण्डे। ‘हामी चाहन्छौं, यहाँका बालबालिका जीवनका कुनै पनि प्रतिष्पर्धामा पछि पर्नु नपरोस्, त्यसैले व्यावहारिक र आध्यात्मिक ज्ञानमा बढी जोड दिन्छौं,’ वेदानन्द भन्छन्।
२ कक्षा पढ्न आश्रम आइपुगेकी विपन्न परिवारकी संगीता जिसी अहिले १० कक्षा पढ्दैछिन्। उनी क्लासिक डान्सदेखि सिलाइबुनाइसम्म सिक्दैछिन्। भन्छिन्, ‘यहाँ व्यवहारिक शिक्षा पाएको छु।’ उनले यहाँ संस्कृत, फ्रेन्च भाषा पनि सिकिरहेकी छन्।
२ कक्षामा पढिरहेका सिन्धुपाल्चोकका समीर लामा, रसुवाका सिर्जना तामाङ, मन्जिता कार्की, गुल्मीकी चन्द्रिका थापा, स्वस्तिका गिरी पनि संस्कृत, फ्रेन्च भाषा, ध्यान, योग र थुप्रै व्यवहारिक ज्ञान एकसाथ सिकिरहेका छन्।
अनाथ, अभावग्रस्त परिवारका बालबालिकालाई आश्रय, बसोबास, उचित शिक्षा, खानपान, स्वास्थ्योपचारजस्ता आधारभूत आवश्यकता उपलब्ध गराइरहेका छन्- रामचन्द्र दास। यहाँ कस्तोसम्म आधारभूमि भएका बालबालिका आउँछन् ? केही उदाहरण :
- एकजना जँड्याहा बाबुले ४ वर्षे छोरालाई बोरामा बेरेर नवलपरासीको राजमार्गमा छोडिदिएछन्। ट्रक ड्राइभरले बोरामा केही चलमलाएको देखेपछि उनले ती बच्चालाई रामचन्द्र दासको जिम्मा लगाए। बालकले अहिले यहाँबाट एसएसली पास गरे।
- डेढ वर्षको उमेरमा यहाँ ल्याइएका अनाथ बालक यहीं पढेर इन्जिनियर भए।
- एउटी आमाले ३ वर्षकी छोरीलाई ५ हजारमा बेचिदिइन्। किन्ने मानिसले छोरीलाई रामचन्द्र दासको जिम्मा लगाए। अहिले उनी नवलपरासीको आश्रममा पढिरहेकी छिन्।
रामचन्द्रलाई लाग्छ- ‘आश्रमको आरम्भ थियो तर यसको अन्त्य छैन। यहाँ बालबालिकासँग सुखान्त मिलन छ। बालबालिकाको संगतमा सुख र आनन्द मात्रै छ।’ आश्रम विस्तार भइरहेको छ- नवलपरासी कोल्हुवाको अरविन्द आश्रममा ६० जना विद्यार्थी पढिरहेका छन्। गुल्मीमा पनि आश्रम स्थापना भएको छ।
गाईपालन आ श्रमको मुख्य आयस्रोत हो। थानकोटमा ५५ गाई, कोल्हुवामा १०८ र गुल्मीमा ५ गाई पालिएको छ। अग्र्यानिक तरकारी खेती, मौरीपालन, दूधजन्य पदार्थको बिक्री, पस्मिना बुनाइ, सिलाइबुनाइ, हस्तकला, अगरबत्ती उद्योग, स्वदेशी-विदेशी पाहुनाका लागि सञ्चालन गरिएको अतिथि गृह आ श्रमका अन्य आयस्रोतका बाटा हुन्।
रामचन्द्र ओज प्रभावी र गम्भीर देखिएका थिए। उनमा कुनै प्रकारको ठाँटबाँट र तडकभडक देखिँदैन। ‘महर्षि अरविन्दले आफ्नो सम्पूर्ण जीवन मितव्ययी ढंगले बिताउनुभएको थियो’, रामचन्द्र दास भन्छन्। अरविन्दको सरल जीवन आदर्श उनी पालना गरिरहेका छन्।
रामचन्द्रकी ७३ वर्षे आमा जमुना भुसाल छोराको काममा सन्तुष्ट छिन्। साग केलाइरहेकी उनले यति मात्रै भनिन्, ‘छोराको कामबाट एकदम खुसी छु।’
आश्रममा एक वर्षसम्म बसेर योग, ध्यान सिकाएका नेत्र आचार्य भन्छन्, ‘आश्रमको जीवनचर्या देख्दा लाग्छ- अध्यात्म र भौतिकताबीचको सीमारेखा मेटिँदै छ। विपरीत मानिएका दुई खालका जीवनपद्धतिबीच फ्युजन हुँदै छ।’
आश्रममा पढिरहेका बालबालिकाको फरक प्रतिभा प्रस्फुटन हुनुपर्ने सोच्छन् रामचन्द्र। ‘फरक प्रतिभा फुल्ने वातावरण तयार गरिदिनु हाम्रो कर्तव्य हो’, आँखीभौं माथितिर सार्दै, हात घुमाउँदै उनी भन्छन्, ‘बालबालिकामा देशभक्ति, अध्यात्म, कर्म र जीवनको ज्ञान विस्तार गर्नुपर्छ।’
आश्रममा अग्र्यानिक तरकारी र धान खेती हुन्छ, गाईको दूध प्रशस्त छ। बालबालिका ब्राउन राइस, अग्र्यानिक तरकारी र दूध-दही पिउँछन्। सहर कति निठुरी छ, एकदुई दिन कोही पाहुना लागे पनि मानिस सकसै मान्छन्। तर यो आश्रम दुई सय बालबालिकालाई दिनको चारपटक पौष्टिक खाना खुवाइरहेको छ, शिक्षादीक्षा र स्वास्थ्योपचारको जिम्मा लिइरहेको छ। यस्तो विकल्प पनि सहरछेउमा सम्भव छ- सम्झँदा सुखद् आश्चर्य अनुभव हुन्छ।