सबैका माड्साब, मेरा ‘दाजु’

सबैका माड्साब, मेरा ‘दाजु’

मेरा पिताजी मदनमणि दीक्षित सबैका लागि माड्साब अनि हाम्रा लागि ‘दाजु’का व्यक्तित्वबारे लेख्न बसेकी छु। मेरा पिताजीले मलाई पिट्नु त के कुरा, कहिल्यै गाली पनि गर्नुभएन। यही भावनाको रंगमा रंगमंगिँदै मैले आफ्नो बाल्यकालदेखि यौवनका सुरुका केही दिन बिताएँ। जब विवाह गरेर पतिको घरमा गएँ। ससुराज्यूको आफ्ना सन्ततिप्रति गर्ने व्यवहार असाध्यै लोभलाग्दो थियो, जुन व्यवहार गर्न मेरा पिताजीले सके जान्नु नै भएको थिएन।

दाजु (पिताजी)सँग ममात्रै होइन; मेरा चारजना दाइ, मेरा काकाहरू पनि डराउँथे। सकेसम्म उहाँको अघिल्तिर पर्नै नपरे हुन्थ्यो भनेर सबैजना तर्किन्थे। आफ्नो बाल्यकालदेखि नै अन्तर्मुखी स्वभावको हुनुहुन्थ्यो पिताजी भन्ने कुरा उहाँका जीवनका आयाम झल्किने उहाँका विभिन्न पुस्तकहरूबाट पढ्न पाइन्छ। त्यही नबोल्ने प्रवृत्ति उहाँको पारिवारिक व्यक्तित्वमा विकसित हुँदै गयो। उहाँसँग हामीहरू बसेर गफ गर्नु भनेको असम्भवजस्तै थियो।

यसरी बाल्यकालदेखि नै पिताजीसँग कहिल्यै दोहोरो कुराकानी भएन। मैले साहित्यमा कलम चलाउन थालेपछि बल्ल साहित्यसँग सम्बन्धित कुराहरूबारे दोहोरो कुरा हुन थाल्यो उहाँसँग, त्यो पनि सीमित मात्रामा। अहिले पनि पिताजीसँग एक्लै बसेर कुराकानी गर्न साह्रै धक लाग्छ। पिताजी अत्यन्तै मातृभक्त रे। उहाँकी माताजी पनि आफ्नो जेठो छोरालाई अरू छोराको तुलनामा बढी माया गर्ने। उहाँमा आफ्नो जेठो छोराको विद्वताप्रति साहै्र गर्व थियो रे। उहाँको विद्वताप्रति परिवारमा सबैलाई गर्व थियो। म छक्क पर्छु, ज्ञानमा उहाँको चौतर्फी दखल देखेर।

पिताजी साह्रै विद्वान् भन्ने तथ्यको प्रभावमै हामी हुर्किंदै गयौं। विद्वान् अनि इमानदार। अत्यन्त स्वाभिमानी। अरूको दृष्टिमा अहंकारी। कहिल्यै कसैसँग नझुक्ने। धनलाई कहिल्यै पनि महत्व नदिने। धन कमाउन सकिने कतिपय अवसरमा पनि कमाउनपट्टि कहिल्यै ध्यान नदिने। उहाँको व्यक्तित्व अत्यन्त विराट् लाग्थ्यो। आफू नजिक हुन सक्ने कल्पनै नआउने।

पिताजी आफ्ना विचारले तत्कालीन व्यवस्थाविरोधी। व्यवस्थाविरोधी उहाँका लेखहरूले उहाँलाई बारम्बार जेलको चौघेराभित्र पार्थे। समात्ने पुलिस हुन्थ्यो। त्यही भएर मलाई सानैदेखि पुलिससँग साह्रै डर लाग्थ्यो, अनि रिस पनि उठ्थ्यो।

उहाँले जीवनमा अति महत्व दिने वस्तु पुस्तक थियो। सधँंै उहाँले भनेको सुन्थेँ, ‘मेरा सम्पत्ति भनेका मेरा यी पुस्तकहरू हुन्।’ खुब पढनुहुन्थ्यो। उहाँको कोठामा जतासुकै किताबहरू मात्र हुन्थे। हाम्रो घरमा हिन्दी भाषाका पुस्तकहरूमा ठूलो संख्यामा रुसी साहित्यका पुस्तकहरू हुन्थे। तीलगायत नेपालीमा चिसो चुल्हो, प्रेमपिण्ड, पल्लो घरको झ्याल आदि पुस्तक बाल्यकालदेखि नै बुझ्दै नबुझी पनि पढ्न थालेकी थिएँ। यसरी पुस्तकप्रति प्रेम र पुस्तक पढ्ने बानी पिताजीकै कारणले हामीमा विकसित भयो। हामीहरू खुब किताब पढ्थ्यौं। बुझे पनि नबुझे पनि।

सके त्यही बेलाको पढ्ने बानीले नै पछिल्लो अवधिमा लेखनपट्टि तान्यो मलाई। यसरी प्रत्यक्ष रूपमा लेखनका लागि भने पिताजीबाट कहिल्यै प्रेरणा पाइनँ। किनभने उहाँलाई म लेख्ने गर्छु भन्ने कुरो थाहै थिएन। हाम्रो पिताजी राजनीतिज्ञ र पत्रकार। कमाइ नहुने पेसा। अरूको पिताहरूजस्तो अफिस नजाने। मलाई कस्तो कस्तो केही नमिलेको, नपुगेको जस्तो भइरहन्थ्यो। ‘दाजु पनि अफिस गए पनि हुने नि। अरूको जस्तै महिना महिनामा तलब आउने भए पनि हुने नि’, मेरो मनमा सधैं आइरहने भावना थिए त्यति खेर। स्कुलमा सबै साथीका बुवाहरू ठूला चिकित्सक, इन्जिनियरलगायत काम गर्थे। मेरो पिताजी के गर्नुहुन्छ भन्दा साह्रै असजिलो मान्दै भन्थेँ। उनीहरू नाक खुम्च्याउँदै सोध्थे, ‘अनि कहाँ काम गर्ने ?’ म संकुचित हुँदै जवाफ दिन्थेँ, ‘आफ्नै घरबाट अखबार निकाल्ने।’ यस्तो जवाफ दिँदा ग्लानिले पीडित हुन्थेँ।

अरू बेला दाजुको अगिल्तिर पर्न पनि गाह्रो लाग्ने मलाई उहाँसँग बजार जान भने साह्रै रमाइलो लाग्थ्यो। जति नै महँगो भए पनि मागेको कुरा किनिदिने। दाजुसँग बोल्न नसक्ने मामु चित्त नबुझ्दा नबुझ्दै पनि ती सामान किनिदिन बाध्य हुनुहुन्थ्यो। फेरि उहाँसँग बजार जाँदा किनमेल सकिएपछि कि त भूगोलपार्क छेउको इन्दिरा रेस्टुरेन्ट कि त नेपाल कफी हाउसमा गएर खान पाउने कुरा पनि कम्ती रमाइलो लाग्दैनथ्यो।

बाल्यकालदेखि नै पिताजीसँग कहिल्यै दोहोरो कुराकानी भएन। मैले साहित्यमा कलम चलाउन थालेपछि बल्ल साहित्यसँग सम्बन्धित कुराहरूबारे दोहोरो कुरा हुन थाल्यो।

दाजु एउटा उत्कृष्ट फोटोग्राफर। आफ्नो कलामा गहिरो ज्ञान भएको। हाम्रो प्युखाटोलको डेराको एउटा कोठामा स्टुडियो थियो, भेनस स्टुडियो। त्यसको भित्री कोठामा खिचेका फिल्महरू डेभलप गरिन्थ्यो। कुनै बेला मुड चलेको बेला अनि त्यति खेर फोटो खिचाइमाग्न आउने कोही पनि छैन भने मलाई मोडल बनाउन बोलाउनुहुन्थ्यो। दाजुले स्टुलमा बसालेर मेरो अनुहारका विभिन्न कोणको कलात्मक तस्बिर खिच्न खोज्ने। आफू भने एकछिन नचलीकन बस्न नसक्ने। एउटा कोणमा चिउँडो पुर्‍याएर फर्केर आफू आफ्नो ठाउँमा नपुगुन्जेल मेरो अनुहार अर्कोतिर पुगिसकेको हुन्थ्यो। चिढिनुहुन्थ्यो। ‘कस्तो एकछिन पनि नहल्लिई बस्न नसक्ने’ भनेर गाली खान्थेँ। उसै त पिताजीको त्रास सधैंभरि मनभित्र। झन् कोठामा उहाँसँग एक्लै। त्यसमाथि ‘अलि चेहेरामा मुस्कान ल्या’ भन्ने उहाँको आदेश। अनि उहाँले चिढिएर गाली गर्दा मेरो सातो जान्थ्यो। म मामुसँग बिन्ती गर्थें, ‘मामु दाजुले बोलाउनुभयो भने म छैन भनिदिनु न।’

यसरी मेरा कतिपय राम्रा फोटोहरू पिताजीले खिचिदिनुभयो। पिताजीसँग डरको कारणले कतिपय राम्रा फोटोहरू खिचिनबाट वञ्चित भएँ। फोटो खिचिसकेपछि उहाँ केही समयको लागि डेभलप रुम भनिने त्यो अँध्यारो कोठामा हराउनुहुन्थ्यो। मलाई उहाँका ती क्रियाकलाप बिचित्रका लाग्थे। धेरै बेरपछि बाहिर निस्कँदा हातमा खिचेको भिजेको फोटो हल्लाउँदै बाहिर निस्कियो। बाहिर स्टुडियो कोठाको एकातिर डोरी थियो, जहाँ ती भिजेका फोटोहरू क्लिपले च्यापेर सुकाइन्थ्यो। जादुगरजस्तै लाग्नुहुन्थ्यो पिताजी। अँध्यारो कोठामा बसेर जादु गर्ने।

पछिपछि डेभलप गर्ने क्रियामा कान्छो दाइ र मलाई पनि सामेल गराउनुभयो। चारपाटे गहिरा ट्रेहरूमा भएको पानीजस्तो झोलमा सेतो कागज हालेर एकैछिन चलाइरहेपछि बिस्तारै त्यो कागजमा तस्बिर प्रकट हुँदै जान्थ्यो। कत्ति रमाइलो। अनि बल्ल त्यो कोठा र दाजुको रहस्यमयता सामान्य लाग्न थाल्यो। मेरा पिताजी जादुगर होइन भन्ने थाहा भयो।

उहाँ घरव्यवहारमा कहिल्यै चासो नदिने। उहाँलाई म र कान्छो दाइको कहिल्यै उमेर पनि थाहा हुँदैनथ्यो, न त हामी कति कक्षामा पढछौं भन्ने नै थाहा हुन्थ्यो। हामीले कहिल्यै पनि आफ्ना मार्कसिट दाजुलाई देखाउनु परेन। त्यही भएर कहिल्यै पनि जाँचमा नम्बर कम ल्याएको भनेर गाली पनि खानु परेन।

लेख लेख्न थालेपछि दाजुबाट धेरै सल्लाह, सुझाव र प्रेरणा पाउन थालेँ। धेरै पहिला हिमालय टाइम्समा मेरो एउटा व्यंग्यात्मक लेख प्रकाशित भएको थियो। पिताजीलाई त्यो लेख साह्रै रमाइलो लागेछ। सुझाव दिनुभयो, ‘हलुका विषयमा लेखिएको रमाइलो लेख रहेछ। तर, त्यसमा विदेशी शब्दको प्रयोग अति नै बढी भएको छ। त्यसलाई सुधार। सकेसम्म आफ्नै ठेट शब्दको प्रयोग गर्नु। अनि सकेसम्म सरल भाषामा लेख्नु। अनि लेखन राम्रो हुन्छ।’

म छक्क परेँ। मैले त सबै नेपाली भाषामै लेखेकी थिएँ। पछि लेख दोहोरयाएर पढेपछि थाहा पाएँ, मेरो लेखनीमा हिन्दी र अरबी शब्दको प्रयोग व्यापक भएको रहेछ। मेरो लेखनको सुरुआतमै पिताजीबाट मैले पाएको उपदेश, जसलाई मैले आजसम्म पालन गर्दै आएकी छु।

उहाँकी छोरी भएकै कारणले होला, मेरो पुस्तक प्रकाशनको सुरुआतमै मलाई सबैले नोटिस गरे। यसले मलाई साहित्य लेखनमा फाइदै पुर्यारएको छ। तर सुरुमा मैले पिताजीको पक्षमा लेखेको एउटा पत्र र उहाँको ‘भूमिसूक्त’ उपन्यासबारे मैले लेखेको एउटा लेखलाई कतिपयले छोरीलाई उकास्न आफूले लेखेर छोरीको नाममा छापेको भनेर कुरा पनि गरेका रहेछन्।

पिताजीको कर्मठता आज ९६ वर्षको उमेरमा पनि उत्तिकै छ। अहिले पनि वर्षमा दुईतीन पुस्तक प्रकाशित भई नै रहेका छन्। अझै पनि उहाँ योगासन गर्दै हुनुहुन्छ। अझै पनि बिहान ७ बजे आफ्ना नित्यकर्म सिध्याई उहाँ आफ्नो लेखपढ गर्ने टेबलमा बसिसक्नुहुन्छ।

अत्यन्त अल्पहारी पिताजी सके अल्पहारकै कारणले होला निरोगी नै हुनुहुन्छ। उहाँले उच्च रक्तचापको नियमित औषधि खान थालेको लगभग पचास वर्ष भयो होला। मुटुको समस्या भएको पनि त्यत्तिकै वर्ष भयो होला। तैपनि रोगले उहाँलाई जित्न सकेन।

प्रबल आत्मविश्वास मेरा पिताजीको अर्को शक्तिशाली पक्ष हो। अहिलेसम्म पाँचपल्ट हृदयाघात झेलिसक्नुभएको छ उहाँले। ‘यो सामान्य कुरा होइन, मिराकल हो। यस्तो प्रचण्ड आत्मविश्वासले नै उहाँले मृत्युमाथि विजय पाउनुभयो’, नर्भिक अस्पतालका हृदयरोग विशेषज्ञ डा. भारत रावतले भनेका थिए।

त्यो घटनाको केही वर्षपछि उहाँलाई एन्जिओप्लास्टी गर्नुपर्ने भयो। अप्रेसन गरेको भोलिपल्ट उहाँकै जबर्जस्तीमा डिस्चार्ज गर्दा डाक्टरले भनेका थिए, ‘उहाँलाई एक महिनासम्म बेड रेस्टमा राख्नुहोला’। पर्सिपल्ट साँझपख म घरमा पुग्दा उहाँ आफ्नो टेबुलमै बसिरहनुभएको थियो। मैले ‘दाजु के गरेको ? हजुरलाई डाक्टरले एक महिनासम्म बेड रेस्ट गर्नु भनेको होइन ?’ भन्दा ‘यसरी ओछ्यानमै सुतिराख्यो भने त मान्छे अल्छी भइहाल्छ नि’ भन्ने उत्तर दिनुभयो। उहाँलाई दुई साताअघि पनि हलुका हृदयाघात भएको रहेछ तर पिताजीको आत्मविश्वासले त्यसलाई पनि जित्यो।

उहाँले नेपाली साहित्यलाई, देशलाई निकै धेरै दिनुभएको छ। ‘माधवी’ एउटा उपन्यास नै प्रशस्त छ, उहाँलाई चिनाउन। यो अवस्था र उमेरमा पनि उहाँ फेरि अर्को पुस्तक लेखनको तयारीमा लाग्नुभएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.