रंगमञ्चमा फेरि मुनामदन

रंगमञ्चमा फेरि मुनामदन

क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन

मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।

पृष्ठभूमिमा मुनामदन खण्डकाव्यका हरफहरू सुमधुर आवाजमा बजिरहेको छ। नाटक हेर्न पुगेका दर्शकले अनुमान लगाइ सक्छन्, अब केही बिछोडका दृश्य देखिनेछन्।

महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित मुनामदन खण्डकाव्यका यी चर्चित दृश्य नाटकघरमा कलात्मक रूपले प्रस्तुत गरिएको छ। नेपाली साहित्यमा चर्चित पुस्तक मुनामदनको कथालाई नाटकमा उनेका छन्, निर्देशक सविन कट्टेलले। नेपालमा सबैभन्दा बढी बिक्री भएको पुस्तकको रेकर्ड मुनामदनको छ।

बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा मुनामदन नाटक २६ भदौसम्म चल्नेछ। आदर्श साहित्य मञ्च विराटनगरका रंगकर्मीले यो कथालाई मञ्चमा उतारेका हुन्। केही समयअघि यो नाटक विराटनगरमै प्रदर्शन गरिएको थियो। यो कृतिलाई केही समयअघि गीति नाटकका रूपमा प्रज्ञा प्रतिष्ठान र राष्ट्रिय नाचघरमा पनि मञ्चन गरिएको थियो। तर संवादयुक्त नाटकका रूपमा पहिलो पटक मञ्चमा उतारिएको निर्देशक कट्टेल बताउँछन्।

धन कमाउन साथीसँग ल्हासा गएको मदन बिरामी हुन्छ। साथीले उसलाई बाटैमा छाडेर हिँड्छन्। बिरानो ठाउँको भोटेले औषधिमूलो गरेर मदनलाई ठीक पार्छ। मुनाको यादले तड्पिरहेको मदन भोटेको घर छाडेर आफ्नो घर फर्कन खोज्दा भोटेका बालबच्चाले नजान आग्रह गर्छन्। भोटे मदनको मायाले निःशब्द बन्छ। मदन आफूले कमाएका सुनका डल्ला भोटेलाई दिन खोज्छ। तर भोटे सुन लिन अस्वीकार गर्छ।

पैसा कमाएर मदन घरमा आउँदा उसकी श्रीमती मुनाको मृत्यु भइसकेको हुन्छ। आमाको अन्तिम अवस्थामा मात्र मुख हेर्न पाउँछ, मदनले। नाटकमा देखाइने कारुणिक दृश्यले दर्शकलाई छुन्छ। कलाकारहरुको कुशल अभिनय, साजसज्जा, दृश्य र पृष्ठभूमिको संयोजनले नाटक राम्रो बनेको छ।

नाटककी पात्र मुना र काव्यमा चर्चा गरिएकी पात्रको चरित्र केही फरक छ। मदनकी आमाको भूमिकालाई त्यति न्याय गर्न सकिएको छैन। कारुणिक बनाउने बहानामा केही संवाद असुहाउँदा लाग्छन्। भोटे पात्रको अभिनय र संवादले सबैको ध्यान तान्छ। नाटकमा ल्हासा जाँदा बाटोमा पाइने दुःख, अप्ठ्यारो र सुखमा मात्र साथ दिने साथीको अभिनय सान्दर्भिक छ।

ठूले, गगने, मदनकी दिदी, नैनीजस्ता पात्रको अभिनयले नाटक पूर्ण बनाएको छ। मञ्च कथाअनुसारको साजसज्जाले भरिपूर्ण बनाइएको छ। एकातिर मदनको साँधुरो झुपडी छ र अर्कोतिर सुनैसुनले भरिएको ल्हासाको सुन्दर दृश्य।

नाटकमा दीपा पोखरेल, सविन कट्टेल, पवित्रा खड्का, सुष्मा निरौला, मानहानी लावती, जीना राई, सजीव राई, लकेश राई, एन्जन पौडेल, सरिता ढुंगानालगायतका कलाकारको अभिनय छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.