उत्तरी गोरखाका दुःख : हेलिकोप्टर पाए पनि नपाए पनि मृत्यु

उत्तरी गोरखाका दुःख : हेलिकोप्टर पाए पनि नपाए पनि मृत्यु

गोरखा : सडक सञ्जालले नजोडिएको उत्तरी गोरखाको मनास्लु क्षेत्रको चुमनुब्री गाउँपालिकाका सातै वडाको बाध्यकारी यातायातको साधन हेलिकोप्टर हो। साविकका सात गाविस सामागाउँ, ल्हो, प्रोक, बिही, सिर्दीबास, चुम्तेत र छेकम्पारमा हेलिकोप्टरकै कारण वर्षेनी स्थानीयको मृत्यु भइरहेको छ।

समयमा हेलिकोप्टर नपाएर कसैको मृत्यु भइरहेको छ भने कसैको हेलिकोप्टर दुर्घटनामा परी। शनिबार सामागाउँबाट राजधानी फर्करहेको अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा सवार सात जनामध्ये ६ जनाको मृत्यु भयो। 

नुवाकोटको म्यागाङ गाउँपालिका १ बर्सुन्चेत मैलुङपाखाको खोल्सामा दुर्घटना भएको हेलिकोप्टरमा पाइलट निश्चल केसी, ल्हो घर भई साम्दोमा होटल व्यवसाय गर्दै आएका छेवाङ नोर्बु लामा, सिन्धुपाल्चोकका सुनील तामाङ, रामेछापका दिलबहादुर गुरुङ, दोलखाका हीरा शेर्पा र जापानी नागरिक हिरोमी कोमात्सुको निधन भएको हो। गोरखा ल्होका डोल्मा डिकी लामा हाम्फालेर ज्यान जोगाए पनि गम्भीर घाइते छन्।

सामागाउँबाट बिहान पौने आठ बजे उडेको उक्त हेलिकोप्टर धादिङको बेघाम गाउँपालिका ४ को जंगलमा दुर्घटनाग्रस्त भएको थियो।

यसअघि उपचार गर्न जानका लागि समयमै हेलिकोप्टर नपाएर बिहीबार एकै दिनमा चुमनुब्री गाउँपालिकामा नवजात शिशुसहित दुई जनाको मृत्यु भएको थियो। वडा नं १ सामागाउँकी छिरिङ लामाको नवजात शिशु र वडा नं ५ चुम्चेतकी ५५ वर्षीया प्रेमभुटी लामाको मृत्यु भएको सामागाउँका दावा लामाले जानकारी दिए। 

बुधबार दिउँसैदेखि छिरिङलाई सुत्केरी व्यथा लागेपछि स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले थप उपचारका लागि काठमाडांै लैजान सिफारिस गरेका थिए। तर समयमै हेलिकोप्टर नपाउँदा छिरिङ गाउँमै सुत्केरी भएकी धावाले बताए। ‘मैले हेलिकोप्टरलाई हिजै बेलुका फोन गरेको थिएँ’, दावाले भने ‘कम्पनीले हेलिकोप्टर भोलि पठाउँछु भन्यो तर पठाएन। हामी कुरेर बस्यौं। हेलिकोप्टर आएन। दिउसो छिरिङले छोरा जन्माइन्, तर जन्मनासाथ म¥यो।’ बच्चाको ज्यान गएपछि आमाको अवस्था पनि जटिल रहेको उनले बताए। ‘आमाको पनि हातखुट्टा सुन्निने, बेहोस हुने, होस खुल्ने भइरहेको छ’ धावाले भने।

२० दिनदेखि ज्वरोले थलिएकी चुम्चेतकी ५५ वर्षीया प्रेमभुटी लामाको पनि बिहीबार नै ज्यान गयो। स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचार गराउँदै आएकी प्रेमभुटीलाई व्यथाले च्याप्दै लगेपछि थप उपचार अभावमा ज्यान गएको उनकी बहिनी छोटिन् लामाले बताइन्। ‘यहाँको स्वास्थ्यचौकीले दिएको औषधिले निको भएन। बुधबार ऋण खोजेर भएपनि जचाँउन जाने भनेर हेलिकोप्टर बोलाएका थियौं तर आएन। बिहान ८ बजेतिर दिदीको मृत्यु भयोे’, उनले भनिन्।

२०७३ साल साउन २४ गते सिर्दीबासबाट काठमाडौंका लागि बिरामी लिएर उडेको हेलिकोप्टर दुर्घटनामा पनि चालकसहित ६ जनाको मृत्यु भएको थियो। नुवाकोटमा भएको यो दुर्घटनामा सिर्दीबास नाक्चेतको एउटै घरका चार जनाको मृत्यु भएको थियो।

२०७२ जेठ ३१ गते चुमनुब्री १ साम्दो पुगेको सिम्रिक एयरको हेलिकोप्टर अवतरण गर्ने क्रममा जल्यो। जलेर पूर्ण रुपमा खरानी भएको सो हेलिकोप्टरमा सवार सरकारी कर्मचारी तथा एनजीओको ६ जना कर्मचारीलाई भने सकुशल उद्धार गरिएको थियो।

उपचार गराउन राजधानी लैजान बोलाएको हेलिकोप्टर समयमा आउन नसक्दा २०७४ जेठ २० मा साम्दोकी दुई महिने शिशुको मृत्यु भएको थियो भने सुत्केरी ब्यथाले एक सातादेखि थला परेकी सोही गाउँकी निमा दोर्जेले बेलैमा हेलिकोप्टर सेवा नपाउँदा मरेको बच्चा जन्माउनु परेको थियो। २०७२ मंसिर १५ मा पनि नौ महिने शिशु समयमा हेलिकोप्टर सेवा नपाउँदा मृत्यु भएको थियो।

गाउँपालिका नै सडक सञ्जालले नजोडिएको चुमनुब्री गाउँपालिकाका लागि हेलिकोप्टर बाध्यात्मक सवारी साधन अन्तर्गत पर्छ। ‘मान्छे सिकिस्त भएर बिहान सिफारिस माग्यो भने एउटा मन्त्रालयले अर्को, अर्को मन्त्रालय, अर्कोले अर्को घुमाउँदा घुमाउँदै दिन बित्छ। दिउँसो दुई बजेपछि हेलिकोप्टर उडाउन सक्दैनन् अनि मान्छे मर्छ’, सामागाउँका कर्मा लामाले भने, ‘हेलिकोप्टर पाउनै गाह्रो, पायो भने पनि धेरैजसो दुर्घटना भइरहन्छ। मर्ने हो कि बाँच्ने हो, थाहा हुन्न।’

अहिले झन् यो क्षेत्रका लागि हेलिकोप्टर उडानमा कडाइ गरेकाले जटिल समस्या व्यहोर्नु परेको उनको गुनासो छ। ‘दुई चारजना अपराधीले अपराध कर्म ग¥यो भनेर सरकारले हजारौं चुमनुब्रीका बासिन्दालाई हेलिकोप्टर चार्टर गर्न पनि साह्रै समस्या पार्ने काम गरेको छ’, कर्मा भन्छन्, ‘अब नारा जुलुस गर्न जाने तयारी गरेका छौं, कडा गर्नुपर्ने कुरामा नगरेर सर्वसाधारणलाई दुःख दिने ठाउँमा मात्र कडाइ भएको छ। अब सिडिओ कार्यालयमा नारा जुलुस गर्न जाने कुरा भइरहेको छ।’

अरु गाउँमा जस्तै आफ्नो गाउँमा पनि मोटर चल्ने भए वर्षेनी हेलिकोप्टर दुर्घटनामा निर्दोष गाउँलेहरू मर्नु नपर्ने अर्का स्थानीय लाक्पा डुण्डुप लामाले बताए। ‘हाम्रो गाउँमा कहिले विकास आउँला र हेलिकोप्टर चढ्न पाए पनि मर्ने, नपाए पनि मर्ने अवस्थाको अन्त्य होला’, उनले भने, ‘गाउँमा मोटरबाटो पुगेको भए गरिब गाउँलेले सय कडा ३६ रुपैयाँ व्याजमा ऋण खोजेर हेलिकोप्टरबाट ढुवानी गरेको सामान किन्नु पर्दैनथ्यो।’

शोकमा सामागाउँ

गाउँमा पर्यटक ओसार्ने हेलिकोप्टर दुर्घटनामा परेको खबरले चुमनुब्री गाउँपालिका १ सामागाउँ र वडा नं. २ ल्होका बासिन्दा शोकमा छन्। दुर्घटनामा परी स्थानीयको समेत मृत्यु भएपछि गाउँलेहरू दिनभर शोकमा रहेका जनप्रतिनिधि समेत रहेका मिङमार लामाले बताए।

मनास्लु आरोहण गर्ने चिनियाँ पर्यटक सामागाउँको हेलिप्याडमा राखेर फर्केको हेलिकोप्टर फर्कंदा धादिङ र नुवाकोटको सिमानाको जंगलमा दुर्घटना भएको थियो। ‘बिहानै दुइटा पहेलो हेलिकोप्टर आएको थियो’, लामाले भने, ‘तीन दिनदेखि हेलिकोप्टर पर्खेर बसेका यात्रु पहिलोमा को जाने भनेर होडबाजी भएको थियो। पहिलोमा चाहिँ गाउँका २ जनामात्र थिए। अरु बाहिरका थिए। दोस्रो हेलीमा ६ जना नै गाउँका मान्छे चढेका थिए। १० मिनेटकै बीचमा दुइटै हेलिकोप्टर फर्कियो। एकछिनपछि त हेलिकोप्टर दुर्घटना भयो भन्ने खबर आयो।’

‘गाउँका मान्छे त दिनभर फोनमा व्यस्त भयौं’, उनले भने, ‘कसैले हेलिकोप्टर कम्पनीलाई, कसैले गोरखा, धादिङ, नुवाकोटका प्रहरी, सिडिओ, पत्रकारलाई, कसैले काठमाडौंमा बस्ने आफन्तलाई, कसैले एमक्यापलाई फोन गरेको गरैं’, स्थानीय कर्मा लामाले भने। पाइलटको फोन लागे पनि नउठेको उनले बताए।

सेराङ गुम्बाका प्रमुख लामा टुल्कु पासाङका बहिनी आनी डोल्मा डिकीले फोन गरेर दुर्घटनाबारे जानकारी गराएकी अर्का स्थानीय वडाअध्यक्ष पेम्बारेता लामाले बताए। ‘हेलिकोप्टर दुर्घटना भयो। म र एक जना शेर्पा चाहिँ हेलिकोप्टरबाट हाम्फाल्यौं। म तल जंगलमा छु। शेर्पा अल्लि माथि छ। खुट्टा चल्दैन भनेर यति कुरा गरिन्’, वडाअध्यक्ष लामाले भने, ‘पछि कलब्याक गर्दा फोन नै सम्पर्क हुन सकेन।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.