बेगनासमा बेपत्ता ६ को शव भेटियो
पोखरा : बेगनासतालमा डुंगा डुबेर शनिबार बेपत्ता भएका सबै ६ जनाको शव आइतबार दिउँसो फेला परेको छ। तीजको दर खान बेगनास ताल पारी आफन्तकोमा मन्धारे पार्कबाट लिब्दी टुँडा डुंगामा जाँदै गर्दा शनिबार मध्यान्ह डुंगा डुबेको थियो।
तालमा बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७ वर्षीय शंकर खनाल, ४ वर्षीय रञ्जित गैरे, र ससुराली गएका ३२ वर्षीय रवी खनालको आइतबार दिउँसो शव फेला परेको हो।
शिव र शंकर रवी खनालका छोरा हुन्। तालमा डुंगा डुब्दा शनिबार पोखरा-२८ की कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा र तनहुँ भीमादकी जमुना गैरेको पश्चिमाञ्चलकी क्षेत्रीय अस्पताल पोखरामा शनिबारै उपचारको क्रममा निधन भएको थियो।
कास्की प्रहरी प्रवक्ता डीएसपी रवीन्द्रमान गुरुङले आइतबार दिउँसोसम्म बेपत्ता सबैको शव भेटिएको जानकारी दिए। आफ्ना २ छोरा र श्रीमान गुमाएकी सपना खनाल र आफ्नो एक छोरा गुमाएकी निशा पौडेललाई उद्दार गरिएको थियो।
डुंगामा सवार यात्रुले गुहार मागेपछि बेगनास लिब्दी कुनाकी २९ वर्षीय दिलकुमारी जलारी र उनका छोरा १७ वर्षीय कुमारले दुईको उद्दार गरी ज्यान बचाएका थिए। डुंगामा सवार दशैजनाले लाइफ ज्याकेट नलगाउँदा ठूलो दुर्टना भएको स्थानीयले बताएका छन्। लाइफ ज्यागेट नलगाएकै कारण उनीहरुको ज्यान गएको प्रहरीको भनाइ छ ।
डुंगामा सुरुदेखि नै पानी पसेको र ताल पारी पुग्न २५ मिनेट जती बाँकी रहँदा डुंगा डुबेको दुर्घट्नामा परी बाँच्न सफल सपना खनालले बताइन्।