आस्थाका भगवान बा !
कुनै पाटो बाँझो नरहोस भनेर जिन्दगीको
हल नलाग्ने सुर्क्यानहरुमा पनि
चक्लाएर, आँठो बिराएर
हरेक याम हरियो बनाउन
उद्यत मेरा बा ।
आकाशे पानीको भर गरेर बसेको भए
शायद भुटिन्थ्यो होला
खडेरीमा बीउ ।
तर
नथाकेर,नहारेर
छिनो लगाएर चटटानहरुमा
खोलो कुल्याएर भिजाएको
माटोको सुवासमा
कति रमाए होलान !
आफैँले सम्माएको गरामा
छरेको बी, टुसाउने बेला
राँको बालेर
रातमा हेर्न
कतिफेर गएहोलान मेरा बा !
बीउ, बेर्नो हुने बेला
तप्केनि तर्काउँदै
आफैँ जरा टेक्ने बेलासम्म
कति भल काटे होलान बर्खैपिच्छे रुझेर !
यसरी घोटिँदा घोटिँदै खिइएको हाड
बसन्तमा जिन्दगीको, तन्किएको छाला
खुम्चिएर जीउ अड्याउन मात्र सकेको बेला
फल लाग्ला नलाग्ला
तैपनि आफनै बालीमा गर्व गर्ने
मेरा बा
मेरो आफनै मन्दिरका
आस्थाका भगवान हुन् ।
म उनै भगवानसँग प्रार्थना गर्छु
साँझ बिहान आरती गर्दै
उनकै जिन्दगीको महाभारत कथा
उनकै जिन्दगीको रामकहानी
अनि उनकै आधा स्वरुप बनेकी आमाको
दुर्गाकवच पाठ गर्दै
त्यही मन्दिरको पूजारी बन्न पाइरहुँ ।
एपीवान एचडी
भिडियो कविता