देउवाको कटाक्ष : प्रधानमन्त्रीको नाम करप्रसाद ओली राखौँ
गुलरिया : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर बढाएर जनतालाई कठिन पारेको बताएका छन् ।
बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले गरेको जिल्ला सम्मेलनको समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि देउवाले करको भारले नेपाली जनता समस्यामा परेको बताएका हुन् ।
देशैभर जताततै कर बढाएकाले प्रधानमन्त्री केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने सुझाव उनले दिए । देशमा करसँगै दिनहुँ महँगी बढेको बताउँदै देउवाले भने करको भारले जनता आजित भइसके ।
ओली सरकार देशलाई एकदलिय शासन पद्धतिमा लैजाने सोचमा रहेको उनको आरोप थियो । देशका धेरै क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको सरकारले अब प्रहरी प्रशानलाई पनि कब्जामा लिने दाउ बनाइरहेको बताए ।
विदेश नीतिको नाममा खोक्रो राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार लम्पसारवादतर्फ उन्मुख भएको आरोप पनि देउवाले लगाए । सत्तापक्षको आलोचनामा समय खर्चेका देउवाले नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी नबनाएसम्म आफूले विश्राम नलिने पनि घोषणा गरेका छन् ।
कांग्रेसका केन्द्रीय नेताहरुको जमघट रहेको समारोहमा नेता विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला लगायत रामशरण महतले आफ्नो धारणा राखेका छन् ।
समारोहमा बोल्दै महामन्त्री शशांक कोइरालाले कम्युनिष्टहरुको आपसमै द्वन्द्व देखिएकाले फेरि टुक्रिन सक्ने सम्भावना रहेको औल्याए । कांग्रेस एकजुट भइ सक्षम हुनसके एक नम्बर पार्टी हुने उनले दाबी गरे ।
उनले कांग्रेस एकजुट भए पार्टी मात्र होइन देशकै भविष्य उज्ज्वल हुनेतर्फ सचेत पारे । कांग्रेस बर्दियाका सभापति एवम पूर्व सिँचाइ मन्त्री सञ्जयकुमार गौतमको सभापतित्वमा भएको कार्यक्रममा जिल्लाभरका कार्यकर्ता भेला भएका छन् ।