अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटना : सहसचिव नेतृत्वमा छानबिन समिति
काठमाडौं : सरकारले अल्टिच्युड एयरको हेलिकोप्टर दुर्घटनाको छानबिनका लागि सहसचिवको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।
सरकारले आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।
छानबिन समितिको सदस्यमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थ जंग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठ रहेका छन्।
मन्त्रालयले आइतबार छानबिन समिति गठन भएको जानकारी विज्ञप्तिमार्फत् गराएको हो। समितिलाई प्रतिवेदन बुझाउनका लागि एक साताको समय दिइएको छ।
गोरखाको सानोगाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर शनिबार बिहान नुवाकोटको मेघाङ गाउँपालिका १ बर्सुङचेत जंगलमा दुर्घटना भएको थियो।
हेलिकोप्टरमा सवार पाँच यात्रु र एक पाइलटको मृत्यु भएको थियो। एकजनाको भने जीवितै उद्धार गरिएको छ। जीवितै उद्धार गरिएकी आनी डोल्माको मेडिसिटी अस्पतालमा उपचार भइराखेको छ। मृतकको शव आइतबार राजधानी ल्याइएको छ।