भारतीय प्रशिक्षक भन्छन् : नेपालसँग साफको फाइनल खेल्न चाहन्छौँ
काठमाडौँ : भारतीय फुटबल टिमका मुख्य प्रशिक्षक स्टेफेन कन्सटाइनले नेपालसँग साफ सुजुकी कपको फाइनलमा प्रतिस्पर्धा गर्ने इच्छा रहेको बताएका छन् ।
आइतबार माल्दिभ्सलाई २-० गोलले हराएपछि पोस्ट म्याच कन्फ्रेन्समा नेपाली टोलीका पूर्वप्रशिक्षक समेत रहेका स्टेफेनले उपाधि भिडन्त नेपालसँग गर्न चाहेको खुलासा गरेका हुन् ।
पत्रकारहरुसँग कुराकानीका क्रममा स्टेफेनले नेपालमा रहँदाका क्षणहरु अहिले पनि आफूलाई याद आइरहने पनि बताएका छन् ।
नेपालमा रहँदाका सबै क्षण आफू वरिपरी घुमिरहने बताउँदै उनले बालगोपाल महर्जनको नेतृत्वमा नेपाली टोलीले यो पटकको साफमा राम्रो फुटबल खेलिरहेको पनि उल्लेख गरे । प्रशिक्षक स्टेफेनले माल्दिभ्सविरुद्ध २-० ले जितेको खेल आफ्ना लागि त्यति सहज नभएको पनि खुलाए ।
नेपालमा रहँदा कन्सटाइनले बालगोपाल महर्जनलाई पनि प्रशिक्षण दिएका थिए । सन् १९९ मा काठमाडौँमा भएको आठौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत फुटबलको फाइनल नेपालले उनकै प्रशिक्षणमा खेलेको थियो ।
त्यो बेला स्टेफेनको कमानमा रहेको नेपाली फुटबल टोलीमा बालगोपाल पनि सदस्य थिए । यो पटकको साफ सुजुकी कपमा समूह चरणका दुवै खेल जितेर भारत समूह ‘बी’ को विजेता भइसकेको छ ।
उसले समूह बिजेता हुँदै नकआउट चरण तय गरेको हो । यो समूहबाट समान अंक र गोलअन्तरका कारण गोलाप्रथा गरिँदा श्रीलंकालाई घर फर्काउँदै माल्दिभ्स सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब दुई सेमिफाइनल भिडन्त बुधबार हुनेछन् । जसमा नेपाल र माल्दिभ्स बुधबार दिउँसो ३: ४५ बजे एउटा सेमिफाइनल भिडन्तमा उत्रने छन् भने भारत र पाकिस्तानबीच अर्को सेमिफाइनल भिडन्त हुनेछ ।