नेपालीको लगानीमा अमेरिकामा बैंक

नेपालीको लगानीमा अमेरिकामा बैंक

न्यूयोर्क (अमेरिका) : अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) ले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो। त्यो उसले इजाजत दिएको सन् २०१८ को पहिलो संस्था हो। सुखद प्रसंग छ, यसका सबै लगानीकर्ता नेपाली हुन्।

नेपाली विदेशमा दुःख मात्रै गर्न जान्छन् भन्ने आमबुझाइ छ। तर, त्यसलाई खण्डन गरेको छ ‘एभरेस्ट फेडरल क्रेडिट युनियन’ को उदयले। यो सामुदायिक बैंक हो। उक्त बैंकको गत साता नेपाली राजदूत अर्जुन कार्कीले उद्घाटन गरे, जुन समारोहमा ४ सयभन्दा बढी सहभागी भए।

‘नेपाली समुदायले धान्न सक्ने सेवा प्रदान गर्ने हेतुले नेपाली लगानीकर्ताबाट एभरेस्ट फेडरल क्रेडिट युनियन खुलेको छ’, एनसीयूएका अध्यक्ष जे मार्क म्यावाट्टर्सले त्यस सन्दर्भमा विज्ञप्ति निकाल्दै भनेका छन्, ‘उहाँहरूलाई बधाई छ।’

एभरेस्ट न्यूयोर्कको ज्याक्सन हाइटमा खुलेको छ। न्यूयोर्क क्रेडिट युनियन एसोसिएसनले पनि यसमा खुसी व्यक्त गरेको छ। ‘न्यूयोर्क नेपाली समुदायको रोजाइको इलाका हो। एभरेस्टले तिनको आर्थिक सेवा तथा सुरक्षा प्रदान गर्नेमा म विश्वस्त छु’, एसोसिएसनका अध्यक्ष विलियम जे मेलिनले छुट्टै विज्ञप्ति निकालेर भनेका छन्।

एनसीयूएका अनुसार एभरेस्टले बचत तथा ऋण, इ–बैंकिङका साथै रेगुलर सेयर, सेयर ड्राफ्ट, सेयर धितोबापत ऋण, सवारी कर्जा, क्रेडिट कार्ड कर्जा, मनी अर्डर, वायर ट्रान्सफरजस्ता वित्तीय कारोबार गर्ने अनुमति पाएको छ। यसले न्यूयोर्कबाट सेवा सुरु गरेर अमेरिकाका विभिन्न राज्यमा शाखा विस्तार गर्ने लक्ष्य राखेको छ।

संस्था सञ्चालक समितिका अध्यक्ष डिल्लीराज भट्टले छिटै निक्षेप संकलन, कर्जा प्रवाह, क्रेडिट कार्ड जारीलगायत कारोबार सुरु गर्ने जानकारी दिए। अमेरिकामा विभिन्न देशबाट आएका आप्रवासीले क्रेडिट युनियन सञ्चालन गरेका छन्। समुदायको आर्थिक हित प्रवद्र्धनको उद्देश्य लिएर क्रेडिट युनियन स्थापना हुने गरेका छन्। अमेरिकी सरकारले यस्ता सामुदायिक बैंकलाई कर छुट दिने हु“दा वाणिज्य बैंकका तुलनामा यसमा ऋणको ब्याजदर कम हुन्छ। बचतकर्ताले बढी ब्याज पाउँछन्।

संस्थाका अन्य सञ्चालकमा अञ्जन श्रेष्ठ, राजन कर्माचार्य, विजय पौडेल, जीवन बम, विराज रिजाल, रामसी पोखरेल छन्। अनुगमन समितिमा सुख गुरुङ, केशव पौडेल छन्। क्रेडिट कमिटीमा मोहन गिरी र नवराज केसी छन्। सञ्चालक कर्माचार्यले नेपाली समुदाय लक्षित भए पनि यसलाई अमेरिकी साथै अन्य आप्रवासीलाई आकर्षित गर्ने सेवा–सुविधा ल्याइने बताए।

कार्यक्रममा राजदूत कार्कीले सामुदायिक बैंक स्थापना गरी अमेरिकामा फरक पहिचान बनाउन नेपालीले गरेको मेहनतको प्रशंसा गरे। तीन वर्षदेखिको प्रयास र जटिल कानूनी प्रक्रिया पूरा गरी यसले सञ्चालन अनुमति पाएको हो। एभरेस्टलाई दर्ता प्रक्रियामा लैजान गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाले प्रायोजन गरेको थियो। समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर क्रेडिट युनियन स्थापना हुने गरेका छन्। संस्थापक मात्र होइन, क्रेडिट युनियनका सदस्य यसका मालिक हुन्छन्। यसमा खाता खोल्ने सबै सदस्य बन्छन्। तर, यसलाई नेपालका सहकारीभन्दा बढी व्यावसायिक कारोबारको अधिकार हुन्छ।

एभरेस्टले सुरुमै क्रेडिट कार्डका साथै अध्ययन, साना व्यवसाय, घर खरिदजस्ता क्षेत्रमा कर्जा प्रवाहको तयारी गरेको अध्यक्ष भट्टले बताए। यसले सबै राज्यमा शाखा खोल्ने अनुमति पाएको छ। संस्थाले ५ वर्षभित्रमा कम्तीमा १० शाखा खोल्ने र १० हजार बचतकर्ता संख्या पु¥याई २२ करोड अमेरिकी डलरभन्दा बढीको कारोबार गर्ने लक्ष्य लिएको छ। न्यूयोर्कपछि नेपालीभाषीको घनाबस्ती रहेका राज्यहरू टेक्सास, क्यालिफोर्निया, डिसी, भर्जिनिया, मेरिल्यान्ड, म्यासच्युसेट, फ्लोरिडा, जर्जिया, वासिङ्टन, नर्थ केरोलिना, पेन्सलभेनिया, सिकागोलगायत राज्यमा शाखा विस्तार गर्ने योजना बनाएको छ।

‘आफ्नै क्रेडिट युनियन भएपछि अमेरिकाभरि बसोवास गर्ने नेपालीलाई आर्थिक कारोबार गर्न अब सहज हुनेछ। आफ्नै भाषामा कुराकानी गरेर बचत तथा कर्जा लिने अवसर मिल्नेछ’, कर्माचार्यले भने, ‘मुनाफाका हकदार पनि हुनेछन्।’ यसमा प्रत्येक सदस्यको २ लाख ५० हजार अमेरिकी डलर बराबरको बिमा हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.