पहिले काखा, अहिले पाखा
जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले गत वैशाख ११ गते एक दलित बालिकाको पढाइको अभिभावकत्व लिए। ती थिइन्– साढे ४ वर्षीया लक्ष्मीनियाकुमारी दास। धेरैलाई लाग्न सक्छ– उनलाई अब पढाइमा कुनै कठिनाइ छैन होला।
पाँच महिना बिते। सुरुमा केही दिन बाक्लै स्कुल गइन्। त्यसपछि जानै छाडिन्। कारण सोधखोज गर्न न मुख्यमन्त्री राउत पुगे, न उनका कोही सहायक नै। दुई भाइ–बहिनीलाई घरमा खेलाएर दिनभर बस्नुपर्ने बाध्यता मुख्यमन्त्रीको ‘कृत्रिम सन्तान’ हुँदा पनि लक्ष्मीनियालाई हटेन।
मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत धनुषाको मिथिला विहारी नगरपालिका ८ स्थित मिथिला आधारभूत विद्यालय, कचुरीमा कक्षा १ मा नयाँ भर्ना भएकी दासको अभिभावकत्व स्वीकारेका थिए। त्यही प्रयोजनका लागि आयोजित समारोहमा माला लगाइदिएर काखमा बोके। खुसीले मुस्कुराउँदै भने, ‘अब यिनको पढाइको सम्पूर्ण जिम्मा मेरो।’
एक गैरसरकारी संस्था र स्थानीयवासीको सहयोगमा मुख्यमन्त्री अभिभावक बन्ने सौभाग्य उनलाई प्राप्त भयो। अति विपन्न परिवारकी लक्ष्मीनियाँले अब राम्रो शिक्षादिक्षा पाउने र भविष्य उज्जवल बन्नेमा बुवा गढवा दास र आमा शीलादेवी ढुक्क भए।
त्यसपछि वास्तै छैन
परिवारको आर्थिक अवस्था कमजोर छ। बुवा विहानै अटो चलाउन जान्छन्। आमाले खेतबारीमा काम गर्नुपर्छ। भाइ–बहिनी हेर्ने भाग लाग्छ लक्ष्मीनियालाई। आमालाई खेतीमा सघाउन पनि जानुपर्छ। विद्यालयका अनुसार भदौमा उनी दुई दिन मात्रै पढ्न गइन्। असारमा उस्तै। साउनमा १५ दिन गर्मी बिदा भयो। त्यसअघि घएको प्रथम त्रैमासिक परीक्षामा समेत सामेल भइनन्। वैशाख र जेठमा अलि बाक्लै गए पनि त्यसपछि त्यो क्रम क्रमशः घट्यो।
‘राम्ररी पढाइदेलान्। काममा दुःख गरेर भए पनि छोरीलाई पठाउँला भन्ने थियो। हेर्न–सोध्न कोही आएनन्’, आमा शीलादेवीले भनिन्, ‘सुरुमा पठायौं पनि। तर, अहिले कामको बेला पठाउन सकिएन।’
मुख्यमन्त्री लालबाबु राउतले अभिभावकत्व ग्रहण गरेकी लक्ष्मीनिया दास विद्यालय समयमा आमासँग घाँस लिएर घर फर्किदैं। तस्बिरः मनिका झा
विद्यालयका प्रधानाध्यापक राम विलास यादवले मुख्यमन्त्री अभिभावक भएकी बालिका विद्यालय आए÷नआएको विषयमा कहिल्यै कसैले नसोधेको बताए। ‘त्यसबेला निकै तामझामसाथ कार्यक्रम भएको थियो’, उनले भने, ‘त्यसपछि ती बालिका नियमित छिन् वा छैनन्, उनको के–कस्तो अवस्था छ बुझ्न मुख्यमन्त्रीका तर्फबाट कोही आएको छैन।’
अरू ‘अभिभावक’ पनि उस्तै
सोही कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले कचूरीको डोम वस्तीका ६ वर्षिय श्रवणकुमार मल्लिकको अभिभावकत्व ग्रहण गरेका थिए। उनकी छिमेकी अम्बिका मल्लिकको अभिभावकत्व नगरपालिकाकी उपमेयर अनिता साहले लिएकी थिइन्। डोम परिवारका यी दुई बालबालिका पनि विद्यालय नगई घरमै बस्दै आएका छन्।
महिनामा एकदुई दिन विद्यालय गए पनि त्यहाँ अन्य बच्चासँग झैंझगडा हुने गरेकाले पढ्न नजाने गरेको श्रवणकी आमा इन्दुक मल्लिकले बताइन्। ‘हाम्रा बालबच्चालाई विद्यालयमा राम्ररी ध्यान दिएर शिक्षकले पढाउँदैनन्। अरु बच्चाले डोम भनेर हेलाँ गर्छन्। यस्तोमा कुटाकुट गर्न के जानु भनेर बच्चाहरु घरमै बस्छन्’, उनले भनिन्, ‘मन्त्रीले एकपल्ट गाउँ आएर तीन–चार वटा कपी, पेन्सिल र ब्याग दिएका थिए। त्यसपछि कसैले वास्तै गरेको छैन।’
नगरपालिका प्रमुख अनिलकुमार यादवले अभिभावकत्व लिएकी प्रितिकुमारी महरा भने विद्यालयमा नियमित छिन्। तर, उनको अवस्था वा उनको पढाई लेखाइबारे बुझेन पनि नगरप्रमुखले कुनै चासो नदेखाएको विद्यालयका शिक्षकहरु बताउँछन्। स्कुलका अनुसार चार जनामध्ये प्रीति मात्र चौमासिक परीक्षामा आइन्। तीन जना आएनन्।
अभिभावकत्व लिइएकी बालिकाको अवस्थाबारे कुरा गर्न मुख्यमन्त्री राउतलाई पटक–पटक फोन गर्दा पनि कुरा हुन सकेन। अर्का अभिभावक कानुनमन्त्री यादवले आफू र मुख्यमन्त्रीले अभिभावकत्व लिएका बालबालिकाको नियमित हेरचाह गरिरहेको दाबी गरे। ‘मैले केही दिनअघि ति बालबालिकालाई भेटेर शिक्षण सामग्री उपलब्ध गराएको थिएँ। उनीहरु नियमित विद्यालय जाने गरेको मलाई जानकारी छ’, उनले भने।
प्रितिका अभिभावक बनेका मिथिला बिहारी नगरपालिकाका प्रमुख अनिलकुमार यादवले भर्ना अभियानलाई प्रोत्साहन गर्न आफूले बालिकाको अभिभावकत्व ग्रहण गरेको बताए। ‘अहिले ती बालिका कक्षा १ मै छिन्। उनलाई राम्ररी पढाउन शिक्षकहरुलाई निर्देशन दिएको छु’, उनले भने, ‘प्रीतिलाई माध्यमिक तहसम्म शिक्षा आर्जन गर्न म व्यक्तिगत रुपमा भए पनि सहयोग गर्नेछु।’
बरु स्कुललाई ऋण लाग्यो
उसबेला मुख्यमन्त्री लालबाबु राउतलगायत विशिष्ट व्यक्तिले बालबालिकाको अभिभावकत्व लिने विषय गाउँमा पहिल्यै सनसनी भयो। त्यसमा आफूकहाँ भर्ना भएका बालबालिका परून् भनेर मिथिला आधारभूत विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू जोडतोडले खटिए।
भाग्यवश त्यही स्कुलका विद्यार्थी परे। त्यसअघि एक सातासम्म घरदैलो कार्यक्रम गरी सयौं विद्यार्थीहरुलाई विद्यालयमा भर्ना गराउने चुनौतीपूर्ण काम उनीहरूले पार लगाए। ‘स्कुलको अवस्था अत्यन्त नाजुक छ। प्रदेशका मुख्यमन्त्री आए भने पक्कै केही हुनेछ, अध्ययन–अध्यापन गुणस्तरीय बनाउन सहयोग प्राप्त हुनेछ भन्ने आशा पनि हाम्रो थियो। त्यसका लागि हामीले सक्दो मेहनत गरेका थियौं’, शिक्षक अरुणकुमार सिंहले भने, ‘तर, त्यस्तो केही भएन।’
विद्यालयको प्रांगणमै कार्यक्रम आयोजना गरियो। स्कुलले आशैले धुमधाम तयारी ग¥यो। ‘उल्टै व्यवस्थापनका क्रममा हाम्रो ५ हजार रुपैयाँ खर्च भयो। ऋण गरेर पार लगाइयो’, प्रधानाध्यापक यादवले भने। विद्यालयको भवन जीर्ण छ। अत्यन्त अव्यवस्थित शौचालय छ। बालबालिकाले सास्ती खेपेर पढ्नुपर्छ। ‘पढ्ने वतावरणका लागि स्रोत–साधन छैन’, उनले थपे, ‘घर–दैलो गरेर नामांकन गरिएका ४ सय ५५ विद्यार्थी मध्ये आधाभन्दा कम मात्र दैनिक आउँछन्।’
नारामा सीमित अभियान
प्रदेश २ को सरकारले ल्याएका विभिन्न कार्यक्रममध्ये चर्चित ‘बेटी पढाउ, बेटी बचाउ’ नारामा सीमित बन्दै गएको छ। यसै अभियानअन्तर्गत बालिकाको अभिभावकत्व ग्रहण गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले छोरीहरुको शिक्षाका लागि ल्याएको विशेष योजनामा सबैलाई सहयोग गर्न अपील गरेका थिए। ‘छोराहरुलाई शिक्षित बनाए एकजना मात्र शिक्षित हुन्छ। तर, छोरीलाई शिक्षित बनाए पुरै परिवार शिक्षित हुन्छ’, उनले भनेका थिए, ‘त्यसैले प्रदेश सरकारले छोरीहरुको शिक्षालाई विशेष प्राथमिकतामा राखेको छ।’
उनले दलित बालिकाका लागि सरकारले शिक्षा विमा, दिवा खाजाजस्ता योजना शीघ्र ल्याउन गृहकार्य गरिराखेको बताएका थिए। हालसम्म त्यस्ता कार्यक्रम ल्याइएका छैनन्। ‘बेटी बचाऊ, बेटी पढाऊ’ योजना गत आर्थिक वर्षमा प्रदेशका आठै जिल्लामा सञ्चालन गर्न करिब ८० लाख रूपैयाँ छुट्याइएको थियो। त्यसको जम्मा ५ लाख खर्च भयो। ७५ लाख फ्रिज भयो। चालु आर्थिक वर्षमा सरकारले यस अभियानका लागि ५ करोड ११ लाख ३८ हजार विनियोजन गरेको छ।
पहिल्यै घोषणा गरिए पनि भदौ १५ गते मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले जनकपुरमा समारोह आयोजना गरी यो अभियान औपचारीक आरम्भ गरेको थियो। कार्यक्रममा लक्षित बालबालिका देखिएनन्। बरु प्रदेश सरकारले प्रदेशसभाका सदस्यहरूलाई आकर्षक ब्याग बाँडेको थियो।