पप्पुका पुलको विवरण मागियो
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पप्पु कन्स्ट्रक्सन कम्पनीले बनाएका सबै पुलको वास्तविक विवरण र अवस्था मागेको छ । प्रधानमन्त्री कार्यालयले आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्दै पप्पुले देशभरमा बनाएका सबै पुलको वास्तविक विवरण मागेको हो।
प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारीले पुल समयमै नबन्ने र बनेका पनि छिट्टै भत्किने अवस्था आएकाले त्यसको वास्तविक कारण मागिएको जानकारी दिए । ‘वास्तविक दोषी को हो, सबै विवरण दिनू’ प्रधानमन्त्री कार्यालयले लेखेको पत्रमा भनिएको छ । भौतिक मन्त्रालयबाट पप्पुका पुलको विस्तृत विवरण, दोषी पक्ष समेटिएको प्रतिवेदन आएपछि त्यसको ब्रिफिङ प्रधानमन्त्रीलाई गरिने र आवश्यक कारबाही थालिने सचिव अधिकारीले बताए।
मन्त्रालयबाट सबै विवरण आएपछि प्रधानमन्त्री कार्यालयले पप्पुले बनाएका पुलबारे छुट्टै छानबिन र अध्ययन गर्ने भएको छ । ‘पुलको विवरण र अवस्था आएपछि प्रधानमन्त्री कार्यालयले अध्ययन गरी आवश्यक निर्णय गर्छ’, अधिकारीले भने।
मन्त्रालयलाई १५ दिनभित्र विस्तृत विवरण बुझाउन भनिएको उनको भनाइ छ । पप्पुले बनाएका पुलको गुणस्तरहीनताले पुल नबन्दै भत्कने गरेको र संघीय समाजावादी फोरमका नेतासमेत रहेका सांसद हरिनारायण रौनियारको नाममा रहेको पप्पु कन्स्ट्रक्सनले देशका विभिन्न भागमा ३१ वटा पुल निर्माणको ठेक्का लिएको छ । त्यसमध्ये आधाभन्दा बढी समयमै बन्न नसकको प्रधानमन्त्री कार्यालयमा जानकारी आएको छ । पप्पुले सरकारी निकायबाट पुल बनाउनकै लागि ५ अर्ब रुपैयाको ठेक्का पाएको छ ।
बनेका पुल पनि छोटो समयमै भत्किने, गुणस्तरहीन सामग्री प्रयोग गर्ने गरेको र पप्पुले मलुकलाई नै गम्भीर घाटा पारेको आरोपसहितका उजुरीसमेत प्राप्त भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।
प्रधानमन्त्री कार्यालयले भौतिक मन्त्रालयसँग पप्पुको कम्पनीलाई पुल निर्माण अनुमति दिँदा अनुगमन भए÷नभएको र नभएको खण्डमा किन नगरिएको भन्ने प्रश्नसमेत गरेको छ । अब त्यस्ता बदमासीका घटना हुन नदिन अपनाउनुपर्ने सावधानीका उपायसमेत मागिएको सचिव अधिकारीले जानकारी दिए।