कोसोभो भ्रमण गर्न लाग्दा सर्बियाली राष्ट्रपतिको विरोध
मित्रोभिको : कोसोभोका अल्वानियालीहरूले आइतबार पूर्व सर्बियाली प्रान्तमा सर्बियाका राष्ट्रपतिले गर्न लागेको भ्रमणका क्रममा सडक बन्द गर्नुका साथै सडकमा टायर बालेर अवरोध सिर्जना गरेका छन् । परस्पर विरोधी दुई बाल्कन समुदायबीच यसले तनाव सिर्जना गर्ने सम्भावना बढेको छ ।दुई दिने भ्रमणमा सर्बिया आएका राष्ट्रपति अलेक्जेन्डर भुसिकले सर्बियाली नागरिक बसोवास गर्ने सेन्ट्रल कोसोभोमा आइतबार भ्रमण गर्ने कार्यक्रम थियो ।
राष्ट्रपति हिँड्ने सडकमा अल्बानियालीहरूले काठका मुडा, ट्रक र ठुल्ठूला मेसिनहरू तेस्र्याएका थिए । भुसिक र उनको टोलीलाई द्रेनिका क्षेत्रमा पुगेपछि कोसोभो प्रहरीले रोकेको थियो र सुरक्षाको कारण देखाउँदै अघि बढ्न दिइएको थिएन । कोसोभोका प्रधानमन्त्री रामुस हारादिनाजले द्रेनिका क्षेत्रमा सर्बियाली राष्ट्रपतिको प्रस्तावित भ्रमणका बारेमा विदेश मन्त्रालयले दिएको अनुमति रद्द गरेको जानकारी दिएका छन् । प्रधानमन्त्री रामुसले फेसबुकमा लेखेका छन्, ‘नागरिकको सुरक्षा नै हाम्रो पहिलो दायित्व हो ।’ सर्बियाली सञ्चारमाध्यमले गोली चलेको आवाज समेत सुनेको लेखेका छन् तर त्यसलाई स्वतन्त्र रूपमा पुष्टि गर्न सकिएको छैन । भुसिकमाथि भने कुनै आक्रमण भएको छैन ।
‘म कसैको द्वेषबाट विचलित भएको छैन तर कोही यति निच व्यवहार गर्दछ, र त्यस्तो सोच्छ भने तिनीहरू गलत छन्’, भुसिकले भने, ‘अहिले, म शान्ति स्थापित गर्न अझ बढी प्रतिबद्ध छु तर कोसोभोमा रहेका सर्बियाली संस्था र सर्बियाली नागरिकको सुरक्षाका लागि पनि उत्तिकै ध्यान दिनेछु ।’
सर्बियाली गृहमन्त्री निबोज्सा स्तेफानोभिकले कोसोभो स्वतन्त्रता सेनाका एक पूर्वसैनिकमाथि गरिएको व्यवहार उचित नभएको बताएका छन् । कोसोभोको स्वतन्त्रताका लागि सन् १९९८–९९ मा भीषण युद्ध भएको थियो । नेटोको हस्तक्षेपपछि मात्र उक्त द्वन्द्व समाप्त भएको थियो ।
यही हस्तक्षेपका कारण कोसोभोबाट सर्बिया पछि हटेको थियो । कोसोभोलाई एकपक्षीय रूपमा सन् २००८ मा स्वतन्त्र राष्ट्र घोषणा गरिएको थियो र सर्बियाले अझै पनि कोसोभोलाई बेग्लै राष्ट्रका रूपमा मान्यता दिएको छैन । गृहमन्त्रीले कोसोभोको सुरक्षा व्यवस्था कमजोर रहेको बताए । उनले भुसिकका सुरक्षाकर्मीमाथि गोली चलाइएको समेत विवरण प्राप्त भएको जानकारी दिएका छन् । यो घटनाले सर्बियालीहरूलाई कोसोभामा स्थानीय बासिन्दा स्वागत गर्न तयार नरहेको संकेत गरेको छ । –रासस/एपी