निर्मला हत्याप्रकरण : विष्टलाई चार दिन म्याद थप
महेन्द्रनगर : १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्या घटनामा प्रहरीले अभियुक्तका रूपमा सार्वजनिक गरेका दिलीपसिंह विष्टलाई ४ दिन म्याद थप गरेको छ। विष्टलाई स्वास्थ्य परीक्षणपश्चात् महेन्द्रनगर ल्याइएपछि आइतबार थप ४ दिन म्याद थप गरिएको हो।
२२ गतेदेखि लागू हुने गरी अदालतले ४ दिन म्याद थप गरेको अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए। उनका अनुसार जिल्ला अदालतका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले ४ दिन थप थुनामा राखेर अनुसन्धान गर्न म्याद थपेको हो।
अनुसन्धान क्रममा केही प्रगति भए मात्रै अदालतले म्याद थप्ने गर्छ। सोहीबमोजिम प्रहरीले गरिरहेको अनुसन्धानमा केही प्रगति भएको देखिन आएकाले नै अदालतले थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गरेको स्रेस्तेदार अवस्थीले बताए। उनका अनुसार विष्टको स्वास्थ्य परीक्षण गरिएको रिपोर्टसमेत अदालतमा पेस गरिएको छ। तर, रिपोर्टमा के उल्लेख छ भन्ने कुरा भने बताउन नमिल्ने स्रेस्तेदार अवस्थीले बताए।
अनुसन्धानका क्रममा विष्टलाई स्वास्थ्य परीक्षण गर्न काठमाडौं लगिएको थियो। काठमाडौंस्थित शिक्षण अस्पताल र पाटन अस्पतालमा विष्टको स्वास्थ्य परीक्षण गरेपछि शुक्रबार महेन्द्रनगर ल्याइएको हो। १० दिन स्वास्थ्य परीक्षण गरेपछि उनलाई शुक्रबार साँझ महेन्द्रनगर ल्याइपुर्याइएको प्रहरी प्रवक्ता एवं अनुसन्धान अधिकृत डीएसपी कृष्णराज ओझाले जानकारी दिए।
विष्टको डीएनए परीक्षण र अन्य फरेन्सिक चेकजाँचको रिपोर्ट भने आइसकेको छैन। ‘विष्टको स्वास्थ्य परीक्षण भइसकेपछि महेन्द्रनगर ल्याइएको छ’, प्रवक्ता ओझाले भने। उनले अनुसन्धानकै क्रममा भएकाले स्वास्थ्य परीक्षणको रिपोर्ट बताउन नमिल्ने बताए।
निर्मलाको हत्या भएको २६ औं दिन भदौ ४ गते प्रहरीले मुख्य आरोपी बनाएर विष्टलाई सार्वजनिक गरेको थियो। मानसिक स्वास्थ्य ठीक नभएका व्यक्तिलाई प्रहरीले आरोपी बनाएको भन्दै महेन्द्रनगरमा आन्दोलन उग्र बनेपछि प्रहरीले उनको स्वास्थ्य परिक्षण गर्न काठमाडौं लगेको थियो। साउन १० गते साथी रोशनी बमको घरमा गृहकार्य गर्न गएकी निर्मलाको, अर्काे दिन भीमदत्त नगरपालिका २ र १८ को बीचमा पर्ने निम्बुखेडा खोलानजिकै उखुबारीमा हत्या गरिएको अवस्थामा शव भेटिएको थियो।
भदौ ४ गते भीमदत्त नगरपालिका–१९ का ४१ वर्षीय दिलीपसिंह विष्टलाई आरोपी बनाएर सार्वजनिक गरेपछि महेन्द्रनगरमा आन्दोलन चर्किएको थियो। भदौ ७ र ८ गते आन्दोलनले उग्ररूप लिएपछि प्रहरीले प्रदर्शनकारीमाथि चलाएको गोली लागेर १७ वर्षीय सन्नी खुनाको मृत्यु भएको थियो भने अन्य थुपै्र घाइते भएका थिए।
सरकारले घटनाको छानबिन गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा छानबिन समिति बनाएको थियो। छानबिन समितिले घटनाको अनुसन्धानमा प्रहरीले सुरुदेखि नै कमजोरी गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ।
छानबिन समितिकै सिफारिसमा गृह मन्त्रालयले अनुसन्धानमा लापरवाही गर्ने तत्कालीन प्रहरी प्रमुख एसपी डिल्ली विष्टलाई निलम्बनसमेत गरिसकेको छ भने अन्य प्रहरी अधिकृतलाई गृह मन्त्रालय तानिसकेको छ।
कञ्चनपुरका सीडीओलाई समेत गृहमा तानेर नयाँ सीडीओ पठाएको थियो। प्रहरीको नयाँ नेतृत्वले अनुसन्धान थालेपछि शंकाको घेरामा रहेका बम दिदीबहिनीलाई समेत थुनामा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई तेस्रो पटक ५ दिनको म्याद थपेर अनुसन्धान भइरहेको छ।
न्याय माग गर्द नगरपालिकामा धर्ना
महेन्द्रनगर : निर्मला पन्तको हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरको माहाकाली नगरपालिका–७ दोधारामा एक युवतीको मृत्यु भएको घटना पनि रहस्यमयी बनेको छ।
भदौ १३ गते आफ्नै घरमा मृत भेटिएकी १७ वर्षीया कविता बुढा ठगुन्नाको मृत्यु रहस्यमयी बनेको हो। उनको आत्महत्या वा हत्या के हो भन्ने यकिन हुन सकेको छैन। युवतीको माइती पक्षले भने पोइली पक्षले हत्या गराएको आशंका गरेका छन्।
घटनाको प्रकृति हेर्दा आत्महत्याजस्तो देखिए पनि उनका माइती पक्षले भने आत्महत्या स्विकारेका छैनन्। कविता मृत भेटिएको १२ दिन बितिसक्दासमेत आत्महत्या हो अथवा हत्या प्रहरीले पनि यकिन गर्न सकेको छैन। माइती पक्षले कविता मृत्युको सत्यतथ्य बाहिर ल्याउनुपर्ने माग राखेर महाकाली नगरपालिकाको कार्यालयमा धर्ना दिन सुरु गरेका छन्।
‘छोरीको मृत्यु रहस्यमय बनेको छ, त्यसैले यसको सत्यतथ्य बाहिर ल्याउनुपर्छ’, कविताकी ठूलीआमा शान्ता क्षेत्रीले भनिन्, ‘छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन, उसले आत्महत्या कसरी गर्न सक्छे, उसको हत्या नै भएको हो।’ उनले छोरी मृत भेटिएपछि माइती पक्षलाई कुनै खबर नगरी शव उठाउने प्रयास गरिनुले घटना शंकास्पद देखिएको बताइन्।
मृतक कविताकी आमा मीना बुढामगरले भनिन्, ‘छोरीले आत्महत्या गरेकी हुन सक्दैन, यो हत्या नै हो।’ उनले छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको बताइन्। कविताका बुबा पलबहादुर बुढामगरले पनि छोरीको हत्या भएको आशंका गरे। बुढा दम्पती भारतको रुद्रपुरमा काम गर्छ।
कविताको पोस्टमार्टम रिपोर्टले समेत घटनालाई अन्योलमा पारेको छ। यद्यपि, भीसेरा जाँचका लागि पठाएको रिपोर्ट आएको छैन। दोधारा चाँदनी स्वास्थ्य केन्द्रमा कविताको शव पोस्टमार्टम गरिएको थियो। स्वास्थ्य केन्द्रले शव परीक्षण गरी प्रहरीलाई आत्महत्या भएको हुन सक्ने रिपोर्ट दिएको छ। केन्द्रको शव परीक्षणले समेत आत्महत्या हुन सक्ने रिपोर्टले प्रहरी पनि अन्योलमा परेको छ।
इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले शव परीक्षण रिपोर्टले घटना प्रस्ट नपारेपछि थप अनुसन्धानका लागि भिसेरा काठमाडौं पठाएको बताए। ‘माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा अनुसन्धान प्रक्रिया अघि बढाइएको छ’, प्रहरी निरीक्षक चन्दले भने, ‘सासू, ससुरा र पसलमा काम गर्ने एक युवकका नाममा माइतीले किटानी दिएका छन्। त्यसैका आधारमा हिरासतमा लिएर अनुसन्धान गरिरहेका छौं।’
प्रहरी निरीक्षक चन्दले अनुसन्धान भइरहेको र अनुसन्धान टुंगिएपछि मात्रै आत्महत्या हो अथवा हत्या प्रस्ट हुने बताए। वैशाख १० गते मात्रै महाकाली नगरपालिका–७ का विनोद ठगुन्नासँग प्रेमविवाह गरेकी १७ वर्षीया कविता बुढा ठगुन्ना आफ्नै कोठामा मृत भेटिएकी हुन्। कविता बाबाथान बजारमा रहेको फेन्सी पसलमा बस्ने गर्थिन्। उक्त पसल उनका ससुरा हर्क ठगुन्नाले छोरा विनोदका लागि खोलेका थिए। १३ गते साँझ करिब ७ बजे त्यही पसल बन्द गरेर साइकलमा घर गएकी थिइन्। घर जानुपूर्व बजारबाट आधा केजी मासु खरिद गरेकी थिइन्।
त्यसपछि बजारमा चटपटे खाएर उनले २ वटा रिचार्ज कार्ड पनि खरिद गरेको अनुसन्धानमा देखिएको छ। उनले सो रिचार्ज कार्ड प्रयोग नगरेको पाइएको छ। उनले लगेको मासु घरको आँगनमा खडा गरिएको साइकलको टोकरीमै भेटिएको घटना मुचुल्कामा छ।
बाबाथान बजारमा छोराको पसलनजिकै अर्को किराना पसल सञ्चालन गर्दै आएका उनका ससुरा हर्कसिंह ठगुन्ना पसल बन्द गरेर करिब ८ बजे घर पुग्दा कवितालाई कोठामा मृत फेला पारेका थिए। ‘घर पुग्दा बुहारी मृत भेट्टाएपछि प्रहरीलाई खबर गरेँ’ हर्क ठगुन्नाले भने, ‘यो घटनाले हामी पनि अचम्भित भएका छौँ।’ भदौ १३ गते साँझ ७ बजे पसल बन्द गरेर घर गएकी कविता १ घण्टाको अन्तरालमा आफ्नै कोठामा मृत फेला परेकी हुन्।
शवको प्रकृति पनि शंकास्पद छ। उनको शव छेउमै कपालको सानो गुजुल्टोसमेत पाइएको माइती पक्षको भनाइ छ। झुन्डिएको व्यक्तिको कपाल कसरी खस्यो भन्ने शंका उत्पन्न भएको छ। उनको खाटको माथिल्लो भागमा हात र टाउको घोप्टो अवस्थामा थियो भने खुट्टा बांगिएको अवस्थामा भुइँसम्म रहेको माइतीको दाबी छ।
कविताका श्रीमान् विनोद ठगुन्ना बुटवलको एक सुधारगृहमा छन्। कविता सासू, ससुरासँग बस्दै आएकी थिइन्। विनोदले अत्यधिक लागुऔषध सेवन गर्ने गरेका कारण बुबा हर्कले २ महिनाअघि सुधारगृहमा पठाएका थिए।