सडकको आयु लम्ब्याउन ढलान
पोखरा : पोखरा महानगरले भित्री सडक निर्माण गर्दा ढलानमा जोड दिन थालेको छ। स्थानीय सहभागिता जुटाएर पिच गरेका केही सडक छिट्टै भत्किन थालेपछि महानगरले पिचको सट्टा ढलानमा जोड दिएको हो।
देशकै सबैभन्दा धेरै पानी पर्ने पोखराका सडक पिच गर्दा बढीमा ४ वर्ष मात्र टिकेकाले पोखरा महानगर परिषद्ले पिचको विकल्पमा ढलान गर्ने निर्णय गरेको महानगरका योजना शाखा प्रमुख इन्जिनियर शारदामोहन काफ्लेले जानकारी दिए।
पछिल्लो समय पोखरा महानगरले २० फिटभन्दा कम चौडा सडक ढलान गर्ने निर्णय गरेको इन्जिनियर काफ्लेले जानकारी दिए। पोखरा महानगरले बाटो ढलान गर्न सञ्चालन गरेका योजना ८० प्रतिशत पूरा भएको जनाएको छ। महानगरमा पर्ने वडाका भित्री सडक जनसहभागितामा ५६ किलोमिटर ढलान भइसकेको काफ्लेले जानकारी दिए।
महानगरले आर्थिक वर्ष ०७४÷७५ मा स्थानीय भौतिक पूर्वाधार विकास अन्तर्गत बाटो ढलान योजना सञ्चालन गरेको थियो। महानगरका मुख्य बजार क्षेत्रका भित्री सडक निर्माण गर्न जनसहभागिता ३० प्रतिशत र महानगरबाट ७० प्रतिशत लगानीमा निर्माण हुँदै आएको हो। महानगरमा पर्ने ग्रामीण क्षेत्रका सडकमा स्थानीय जनसहभागिता २० प्रतिशत र ८० प्रतिशत महानगरको लगानीमा बन्दै आएको छ।
गत वर्ष बजार क्षेत्रमा जनसहभागिता ४० प्रतिशत र महानगरकै ग्रामीण क्षेत्रका सडमा २० प्रतिशत जनसहभागिता जुटाउनु पर्ने महानगरको नियम थियो। ढलान गर्दा बाटोको आयु लम्बिनुका साथै मर्मत गर्न विटविन पोल्ने झन्झट पनि नहुने उनले सुनाए। सिमेन्ट र बालुवा जुटाएर मर्मत गर्न सकिने भएकाले ढलानप्रति स्थानीयको रुची बढेको छ।
अलकत्र पोल्दा वातावरण्ीय दृष्टिले पनि उपयुक्त नभएको नागरिक समाज पोखराका प्रवक्ता ठाकुरप्रसाद बरालले बताए।
महानगरमा ढलान गर्न ३ सय ८० योजनामध्ये ७७ योजना मात्र बाँकी छन्। गत आर्थिक वर्षमा महानगरभित्रका बाटो कालोपत्रे तथा पक्की गर्ने काम ७६ प्रतिशत बाँकी छ। कतिपय वडासँग समयमै सम्झौता हुन नसकेको र जनसहभागिता ढिलाइ भएकाले काममा असर परेको काफ्लेको भनाइ छ। कतै सम्झौता भएपनि बाटो चक्ल्याउन उपभोक्ता नमान्दा रोकिएको हो। महानगरले गतवर्ष ९१ किलोमिटर बाटो स्तरोन्नति गरेको बताएको छ। ‘महानगरले ८७ प्रतिशत सडक स्तरोन्नति गरेको छ’, इन्जिनियर काफ्लेले भने। महानगरले नयाँ सडक पिच ५० र पुरानालाई मर्मत, गटर, पिचसँगै ढलान गर्न ४१ वटा योजना चलाएको थियो।
पुराना बाटो मर्मत तथा ढल नभएको सडकमा ढलसहित पिच ढलान गरिएको उनले सुनाए। ३० किलोमिटर बाटो कालोपत्रे र पक्की बनाएको महानगरले जनाएको छ। २० फिटभन्दा बढी चौडा सडक मात्रै कालोपत्रे गरिएको हो। महानगरमा कच्ची सडक ट्रयाकका १६ योजना सम्पन्न भएका छन्।
चालु अवस्थामा ५ योजना रहेका र यस शीर्षकमा ७२ लाख खर्च छुट्याइएको महानगरको भनाइ छ। सडक ग्राभेलका २६ योजना सम्पन्न भइसकेको र यसका लागि ४६ लाख रुपैयाँ खर्च भएको छ। कच्ची बाटो निर्माणमा ८४ योजना सम्पन्न भएको र २२ वटा चालु अवस्थामा छन्। कच्ची बाटो निर्माणमा ७ करोड ३४ लाख खर्च भएको छ।
सडक स्तरोन्नतिका १ सय ५७ योजना सकिएका र २३ योजना चालु अवस्थमा रहेको महानगरपालिकाले जनाएको छ। सकक स्तरोन्नतितर्फ १३ करोड खर्च भएको छ। कालोपत्रेका ६९ योजना सम्पन्न भएका छन् भने २२ योजना चालु अवस्थामा छन्। योजनामा १३ करोड ४१ लाख खर्च भएको महानगरले जनाएको छ।