राहत वितरणमा अनियमिमता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

राहत वितरणमा अनियमिमता गरेको भन्दै वडा कार्यालयमा तालाबन्दी

राजविराज : काखापाखा गर्दै बाढी पीडितमध्ये केहीलाई राहत वितरण गरेको र केहीलाई नगरेको भन्दै स्थानीयवासीले राजविराज नगरपालिका- ५ नम्बर वडा कार्यालयमा तालाबन्दी गरेका छन्। फर्जी नाम हटाई वास्तविक बाढी पीडितको नाम समावेश गरेर मात्र राहत वितरण गर्ने सहमतिविपरित राहत रकम वितरण गरेको भन्दै वडावासीले ताला लगाएका हुन्।

वडा कार्यालयमा पुगेका बाढी पीडितले वडाअध्यक्ष समिर झालाई घेराउ गर्दै विगतमा भएको सहमति कार्यान्वयन नगरेकोमा चर्को विरोध गरे। वडाअध्यक्ष झाले चित्तबुझ्दो जवाफ नदिएपछि स्थानीयवासीले नाराबाजी गर्दै वडाअध्यक्ष झा र कर्मचारीलाई कार्यकक्षबाट बाहिर निकाली तालाबन्दी गरेका हुन्।

सरकारी राहत समायोजन गरी वितरण गर्ने सहमतिविपरित वडा कार्यालयले काखापाखा गर्दै केहीलाई वितरण गरी बाँकी रहेको राहत रकम फिर्ता गरेको विरोधस्वरुप तालाबन्दी गरेको स्थानीय संजय दासले बताए।

वास्तविक बाढी पीडितलाई राहतबाट बञ्चित गराई हुनेखानेको नाममा राहत आएको भन्दै बाढी पीडितले गत चैत १५ गते पनि वडा कार्यालयमा तालाबन्दी गरेका थिए। बाढीबाट डुबान नभए पनि तत्कालिन वडा सचिव दिपेन्द्र रोशन, वडा अध्यक्ष पार्थो सरकार र संगिता कर्णले आफ्नो र आफन्त सबैका घर पूर्ण क्षति भएको लिष्टमा पारेको आरोप बाढीपीडितको आरोप छ।

एउटै व्यक्तिको नाम दुईपटक, एउटै परिवारका चारजनाको नाम छुट्टा-छुट्टै र क्षति नभएका पक्‍की घरहरु पूर्ण क्षतिमा र भत्किएर ढलेका घरहरु सामान्य क्षतिमा पारेको स्थानीय अभिमन्यु दासले बताए । नामाबलीमा गम्भीर त्रुटी भएको वडा कार्यालयले स्वीकार गर्दै बाढी पीडितको स्थलगत अनुगमन गरेर नाम संशोधन गरी सोही अनुरुप राहत रकम वितरण गर्ने निर्णय गरेपछि गत चैत १८ गते ताला खुलेको थियो ।

पछिल्लो वर्ष साउनको अन्तिम साता आएको बाढीले राजविराज ५ को दक्षिणी-पश्चिमी भेग पूर्ण प्रभावित बनेको थियो। बाढीले वस्तविक पीडितभन्दा पनि आफ्नो नातेदार, आसेपासे र स्वयंलाई राहत बाँडेको र वास्तविक पीडितले राहत नपाएको देवकुमारी शर्माले गुनासो गरिन्।

पछिल्लोपटक बाढीबाट पूर्णरुपमा घर क्षति भएका परिवारलाई नेपाल सरकारले २५ हजारका दरले राहत उपलब्ध गराउन रकम पठाए पनि विवादका कारण राजविराज नगरपालिकाले एक करोड ३० लाख २५ हजार रकम वितरण गर्न नसकी फिर्ता पठाएको छ।

राजविराज नगरपालिकाले एक हजार ६ सय ३७ बाढी पीडित परिवारका लागि राहत वितरण गर्न कुल चार करोड नौ लाख २५ हजार रुपैयाँ बुझेकोमा विवादका कारण दुई करोड ७९ लाख राहत रकम मात्र वितरण गरेको नगर प्रमुख शम्भु यादवले बताए 
। 
वडा अध्यक्ष झाले वडा नम्बर ५ को ८६ जनामध्ये वास्तविक पीडित ५५ जनालाई राहत वितरण गरी अन्यको फिर्ता गरिएको बताए। पीडित नभएकाको नाममा रकम आएको तर केही पीडितले राहत नपाएको स्वीकार गर्दै उनले नगर प्रमुख र जिल्ला प्रशासन कार्यालयले यसबारे पहल गर्नुपर्ने बताए ।

वडा सदस्य गंगासागर गुप्ताले पीडित नभएपनि दुई वडा सदस्य र तत्कालिन वडा सचिवका नाममा समेत राहत रकम आएकोमा वडावासीले आन्दोलन गरेपछि सबैलाई राहत वितरण गर्न नसकिएको बताए । निर्वाचन अघि नै तत्कालिन नगरपालिका कार्यालय, प्रहरी, वडा सचिवको टोलीले संकलन गरेको नाम त्रुटिपूर्ण रहेकोले अहिले समस्या परेको उनले बताए ।

स्थानीय चन्द्रकला यादव र सावित्रीदेवी मण्डलले घर क्षति हुनेले नपाएको र पानी नै नपसेको घरले राहत पाएकोले विरोध भएको बताइन्। उनीहरुले बाढीपीडितको नामावलिमाथि आवश्यक छानविन हुनुपर्ने र अनियमितता गर्ने दोषीमाथि कारवाही गरिनुपर्ने माग राखेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.