दोषी उम्कँदै, प्रहरी चुक्दै
बर्दिबास : घटना नम्बर—१
भदौ १० गते औरहीकी आठ महिने बालिका सोनाली चौधरीको अपहण गरेर हत्या गरेकोे १२ दिन नबित्दै भंगहा नगरपालिका ६ भंगहा जमुनियामा भदौ २२ गते शुक्रबार राति लाखौंको डकैती भएको छ । सोनालीको हत्यारालाई फक्राउ नगर्दै गोली प्रहार गरी लुटपाट गरेको अर्को घटनाले चुनौति थपिएको हो ।
घटना नम्बर—२
साउन ३ गते शौच गरेर फर्किदै गरेकी सुस्त मनस्थिति भएकी महोत्तरीको गौशाला नगरपालिका–६ फुलकाहाकी महिलामाथि बलात्कार भयो । पीडितले स्थानीय २२ वर्षीय भीम भनिने संजीव साहविरुद्ध इलाका प्रहरी कार्यालय गौशालामा निवेदन दिए । तर प्रहरीले दोषीलाई ढेड महिना बित्नै लाग्दा पनि पक्राउ गर्न सकेको छैन ।
घटना नम्बर—३
असार ११ गते कन्चटमा पेस्तोल तेस्याएर महोत्तरीको मनरा सिस्वा नगरपालिका ६ जाउँख चोक नजिकैबाट १६ लाख ५२ हजार नगद लुटिएको थियो । सरपल्लो बजारमा सञ्चालित प्रमु मनी ट्रान्सफरका लागि जलेश्वरको बैंकबाट ल्याउँदै गरेको रकम अज्ञात समूहले लुटेर फरार भएको थियो । प्रहरीले लुटेरा पक्राउ गर्न सकेको छैन ।
घटना नम्बर—४
वैशाख ८ गते गौशाला–रामनगर–माइस्थान सडक खण्डबाट पनि पेस्तोल देखाएर करिब ११ लाख लुटिएको थियो । बजारबाट संकलन गरी गौशालाबाट बर्दिबास फर्किदै गर्दा ज१त ८९९ नम्बरको सवारीलाई जंगलमा रोकेर साँझको समयमा दिलसा सप्लायर्स बर्दिबासको रकम लुटिएको थियो । लुटेरालाई प्रहरीले चार पाँच महिना बित्दासम्म पक्राउ गरेको छैन ।
माथि उल्लेखित चार घटनाले महोत्तरीलाई अस्तव्यस्त बनाएको छ । वैशाखदेखि भदौसम्म भएका आपराधिक क्रियाकलाप मध्ये केही उदाहरणमात्र हुन् यी, जहाँ प्रहरी अनुसन्धानमा चुकेका छन् । महोत्तरीमा एकपछि अर्को गम्भीर प्रकृतिका घटना बढ्दै गइरहेका छन् । अपहरण, हत्या, हिंसा, लुटपाटजस्ता एकपछि अर्को बढेका हुन् । प्रहरी भने अभियुक्त पक्राउ गर्न पछि परेका छन् । पछिल्ला दिनमा महोत्तरीमा डरलाग्दा ठूला अपराधका घटना श्रृंखलावद्ध रूपमै भइरहेका छन् । दोषी पक्राउ गर्न पीडित परिवार र गाउँले आन्दोलित बन्नु परेको छ ।
सुरक्षाको ग्यारेन्टी हुनुपर्छ
आठ महिने बालिका सोनाली चौधरीको शोक सभामा महोत्तरीका प्रदेश सांसद तथा राज्यमन्त्री अभिराम शर्माले महोत्तरी जिल्लाको सुरक्षा अवस्था कमजोर रहेको औंल्याए । ‘लागूऔषध र मदिराको मातमा दिनदहाडै अपहरण, हत्या, बलात्कार जस्ता जघन्य अपराध बढ्यो’, उनले भने, ‘नागरिकको सुरक्षाको ग्यारेन्टी प्रहरी प्रशासनले गर्नुपर्छ ।’ प्रदेश सांसद जैलुन राइनले प्रहरी प्रशासनको कमजोरीले दोषी पक्राउ नपरेको बताए । ‘प्रहरी सक्रिय भए अवश्य पनि दोषी पक्राउ पर्छ’, जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रशासकीय अधिकृत शम्भु यादवले दोषी पक्राउ गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।’ प्रहरी उपरीक्षक इश्वर कार्कीले अपराधी पक्राउ नपर्नु आफ्ना लागि चुनौति रहेको जनाए । ‘भारतीय प्रहरीसँग समन्वय गरेका छौं, दोषीको भारतीय गाउँमा पनि खोजी भइरहेको छ’, दोषी कारवाही गरेरै छोड्ने प्रतिवद्धता व्यक्त गर्दै उनले भने ।