नेपाली यू-१९ टोली भारतमा
काठमाडौं : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को निमन्त्रणामा चार टोली सम्मिलित एकदिवसीय शृंखला खेल्न नेपाली यू-१९ राष्ट्रिय क्रिकेट टोली भारत पुगेको छ । नेपाली टोली सोमबार भारत गएको हो । बुधबारबाट सुरु हुने चार टोली सम्मिलित शृंखलामा भारतको राष्ट्रिय टोली र राष्ट्रिय क्रिकेट एकेडेमीको गरी दुईसहित नेपाल र अफगानिस्तानका यू—१९ राष्ट्रिय टोलीको सहभागिता रहेको छ ।
नेपालले आफ्नो पहिलो खेलमा आगामी बुधबार राष्ट्रिय क्रिकेट एकेडेमीको यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । यसैगरी नेपालले शुक्रबार भारतको यू-१९ राष्ट्रिय क्रिकेट टोली र आइतबार अफगानिस्तानको यू-१९ टोलीसँग प्रतिस्पर्धा गर्नेछ । आसिफ शेखको कप्तानीमा रहेको नेपाली राष्ट्रिय टोलीमा गत वर्ष मलेसियामा भएको एसियाली क्रिकेट काउन्सिल (एसीसी) एसिया कप खेलेको र एसीसी इस्टर्न रिजन प्रतियोगिता खेलेका खेलाडीहरू सहभागी छन् ।
नेपाली टोलीमा ट्रिटराज दास, रभी शाह, विपिन रावल, लोकेश बम, रित गौतम, पवन सर्राफ, किशोर महतो, रसिद खान, भीम सार्की, कमल सिंह ऐरी, सुदीप जोहरा, सागर ढकाल, अरुण ऐरी र महम्मदसाम्सद आलम रहेका छन् । नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी विनोद दासले सम्हालेका छन् । नेपाली टोली सोमबार भारतको लखनउ पुगेको छ ।
नेपालले बुधबार राष्ट्रिय क्रिकेट एकेडेमीविरुद्ध पहिलो खेल खेलेपछि दोस्रो खेल कोलकाताको इडेन गार्डेन मैदानमा भारतको यू-१९ राष्ट्रिय टोलीविरुद्ध खेल्नेछ । त्यसको दुई दिनपछि अफगानिस्तानसँग बंगालको जाधवपुर विश्वविद्यालयको क्रिकेट मैदानमा खेल्नेछ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्ने छन् ।