करमा सहमति खोज्दै इयु-अमेरिका
ब्रसेल्स : व्यापारमा देखिएका विवाद सुल्झाउने उपायको खोजी गर्न अमेरिका र युरोपेली आयोगका उच्च अधिकारी सोमबार ब्रसेल्समा भेला भएका छन्। केही समययता अमेरिका र इयुबीच भन्सार दरका बारेमा विवाद भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली आयोगका प्रमुख जँ-क्लाउड जंकरबीच जुलाईमा भएको वार्तामा एकअर्का विरुद्ध करवृद्धि नगर्ने र सबै बस्तुमा भन्सार दस्तुर हटाउने गरी सीमित व्यापार सम्झौता गर्नेमा सहमति भएको थियो। दुबै पक्षबीच भएको यो सहमतिलाई धुमधामसँग प्रचार गरिएको थियो। पछिल्ला वक्तव्यले भने दुई शक्तिबीच मतान्तर रहेको स्पष्ट गरेको भएको छ। खासगरी कृषिजन्य उत्पादनका विषयमा उनीहरूबीच निकै विवाद भएको हो। अमेरिकाले कुनै पनि सम्झौतामा कृषिलाई भुल्न नसकिने बताउँदै आएको छ।
फ्रान्सको दबाबमा युरोपेली सदस्य राष्ट्रहरूले व्यापार सम्झौतामा कृषिजन्य वस्तुलाई समावेश गर्नुपर्ने भन्ने अमेरिकाको दबाबलाई अस्वीकार गरेका छन्। युरोपका वरिष्ठ व्यापार अधिकारी सेसिलिया माल्स्ट्रमले आफ्ना समकक्षी अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइट्रलाई युरोपको चासोका विषयमा स्पष्ट गर्ने प्रयत्न गरेका छन्। ‘युरोपेली आयोग र अमेरिकाबीच दस्तावेजको रूपरेखामा सहमति हुनेछ र शायद यो कार्य वर्षको अन्त्यसम्म हुनेछ’, युरोपेली स्रोतले एएफपीलाई बतायो, ‘यथार्थमा ट्रम्प र जंकरबीच सहमति भएको हो तर हामीलाई छलफलको विस्तृत जानकारी छैन।’
अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी मध्यावधि चुनावअघि नै युरोपका चारपांग्रे सवारीसाधनमाथि करवृद्धि गर्ने भनी मन्तव्य दिएका थिए। चारपांग्रे सवारीसाधनमा हुने करवृद्धिले जर्मनीलाई सबैभन्दा ठूलो क्षति पुग्ने अनुमान छ। जुनमा युरोपेली स्टील र आल्मुनियममाथि लगाएको करवृद्धिले थप समस्या सिर्जना गरेको छ। प्रतिशोध स्वरूप युरोपले समेत अमेरिकी बस्तुमाथि करवृद्धि गरेको छ। युरोपेली आयोगकी माल्स्ट्रमले गत महिना युरोप-अमेरिकाबीच सवारीसाधनमा करवृद्धि गर्न नहुने बताएकी थिइन्। यद्यपि अमेरिकी राष्ट्रपतिले अमेरिकी कारमाथि युरोपको बजार लगभग बन्द अवस्थामा रहेकाले पनि अमेरिका भित्रिने कारमा कर लगाउनुपरेको दाबी गरिरहेका छन्। ‘यो बिल्कुलै ठीक होइन, यसलाई स्वीकार गर्न सकिन्न’, ब्रसेल्सको धारणाप्रति कटाक्ष गर्दै ट्रम्पले भने। ट्रम्पले युरोपेली आयोगलाई चीनसँग पनि तुलना गरे। उनले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ बस्तुमाथि करवृद्धि गर्ने चेतावनी दिँदै आएका छन्। ‘युरोपेली युनियनसँगको व्यापारिक सम्बन्ध पनि चीनजस्तै खराब छ, केही सानो मात्र हो’, ट्रम्पले भनेका थिए। उनले अगस्तमा ब्लुमबर्गको वार्ताका समयमा यस्तो धारणा स्पष्ट पारेका थिए। जर्मनीको अगुवाइमा रहेका युरोपेली अमेरिका वार्ताको टेबलमा आओस् र कुनै किसिमको सम्झौता होस् भन्ने चाहन्छन्। जुलाईदेखि युरोपेली आयोगले अमेरिकासँग धेरैवटा प्रतिबद्धता घोषणा गरेको छ तर पर्यवेक्षकले यी प्रतिबद्धता पहिल्यै सुल्झेका हुन् भनी टिप्पणी गरेका छन्। युरोपेली अधिकारीले मागमा आएको तीव्रवृद्धि बजारका कारण भएको बताएका छन्।