निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण :  ८ लाख रुख काटिने

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण :  ८ लाख रुख काटिने

काठमाडौं : निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको पहिलो चरणमा त्यहाँको वनका ८ लाख रुख काट्ने तयारी गरिएको छ। विमानस्थल निर्माणका लागि कुल २४ लाख ५० हजार ८ सय २१ रुख काटिनेछ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीबीच विमानस्थल निर्माण अघि बढाउन सोमबार छलफल भएको छ। छलफलपछि वन तथा वातावरण मन्त्रालयले रुख काट्ने प्रस्ताव छिट्टै क्याबिनेटमा लैजाने भएको हो। सरकारले विमानस्थलका लागि पहिलो चरणमा ८ लाख रुख कटान गर्न वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मै उल्लेख गरेर सेनालाई जिम्मा दिइसकेको छ।

सरकारले विमानस्थल निर्माणको ईआईए मात्र गरेको, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नगरेको र कटान रुखका साटो वृक्षरोपण गर्ने ठाउँ टुंगो लगाउन सकेको छैन। वन मन्त्रालयले प्रस्ताव लानुअघि यी काम हुनुपर्ने माग वातावरणविद्हरूले गर्दै आएका छन्। काटिने रुखको साटो ६ करोड १२ लाख ७० हजार ५ सय २५ बिरुवा रोप्नुपर्ने व्यवस्था छ।

वातावरणीय प्रभाव मूल्यांकन भइसकेकाले वनले क्याबिनेटमा प्रस्ताव लैजान मात्र बाँकी छ। छलफलमा मन्त्री बस्नेतले राष्ट्रिय गौरवको आयोजना भएकाले रुख काट्न समस्या नभएको तर विमानस्थल निर्माण सुनिश्चित हुनुपर्नेे बताए। उनले मन्त्री अधिकारीसमक्ष विमानस्थल कहिलेसम्म निर्माण गर्ने, लगानी कस्ले गर्ने र कहाँबाट ल्याउने समेत स्पष्ट गर्न आग्रह गरे। वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल अभावमा विदेशी पर्यटक भिœयाउन नसकिएको भन्दै तत्काल दोस्रो विमानस्थल निर्माण थाल्नुको विकल्प नभएको भन्दै मन्त्री अधिकारीले वनमन्त्रीसँग तत्काल काम थाल्न आग्रह गरे।

वृक्षरोपणको टुंगो छैन

विमानस्थल निर्माणका लागि काटिने साढे २४ लाखभन्दा बढी रुखको सोधभर्ना गर्न एउटा रुखको साटो २५ बिरुवा रोप्नुपर्ने व्यवस्था छ। यसरी काटिने रुखको साटो वृक्षरोपण गर्नुपर्ने ठाउँको अझै टुंगो लागेको छैन। वृक्षरोपण गरिने जग्गा व्यवस्थापन गरेर मात्र रुख कटान गर्नुपर्ने वनविज्ञ डा.विनोद भट्टको धारणा छ। वृक्षरोपणका लागि ३८ हजार २ सय ९४ हेक्टर जग्गा आवश्यक पर्छ। विमानस्थल निर्माण हुने सुनिश्चित गरी वृक्षरोपण गरिने पक्का गरेर मात्र रुख काट्नु पर्ने उनको माग छ।

वन तथा वातावरण मन्त्रालयको निर्देशिकाअनुसार सोधभर्नामा गरिने वृक्षरोपण जिल्ला वन कार्यालयले तोकिदिएको स्थानमा गरिने प्रतिवेदनमा उल्लेख भए पनि ठाउँ तोकिएको छैन। विमानस्थल निर्माणमा तराई क्षेत्रको सबैभन्दा धेरै वन क्षेत्र नष्ट हुनेछ। विमानस्थलका लागि ५ लाख ८५ हजार ४ सय ९९ ठूला र १८ लाख ६४ हजार ८ सय २० पोल आकारका रुख काटिनेछ। तीमध्ये ६ लाख ३ हजार ४ सय ५० रुख सालका छन्। विमानस्थलले बाराको कोहल्वी, निजगढ नगरपालिका र जितपुर-सिमरा उपमहानगरपालिकाको क्षेत्र प्रभावित हुनेछ।

विमानस्थलका लागि १ हजार ३ सय हेक्टर र विमानस्थल सहर निर्माणका लागि ६ सय हेक्टर गरी १ हजार ९ सय हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ। ८ हजार ४५ दशमलव ७९ हेक्टर क्षेत्रफलमा निर्माण हुने विमानस्थलको रनवे ३६ सय मिटर लामो हुनेछ। विमानस्थलले सन् २०३० मा ९२ लाख हवाई यात्रु र दोस्रो रनवे निर्माणपछि ६ करोड यात्रुलाई सेवा दिने प्रतिवेदनमा उल्लेख छ। समुद्र सतहदेखि ७० देखि ३ सय मिटर उचाइमा स्थित यो विमानस्थलको निर्माण लागत ६ सय ५६ करोड अमेरिकी डलर छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.