सामाजिक सञ्जाल दुरुपयोग बढ्यो
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई फेसबुकमा अपशब्द प्रयोग गरेको आरोपमा काभ्रे रोशी गाउँपालिकाका ५ का सचिव होमनाथ सिग्देललाई प्रहरीले पक्राउ गर्यो। सिग्देलले अरूले लेखेको कुरालाई नक्कली आइडी बनाएर फेसबुकमा शेयरमात्र गरेका थिए।
प्रधानमन्त्री कार्यालयकै निर्देशनमा भदौ पाँच गते महानगरीय प्रहरी अपराध महाशाखाले सिग्देललाई नियन्त्रणमा लिएको थियो। उनी बिहीबार एक लाख धरौटीमा छुटेका छन्। गत वर्ष असारमा तनहुँका विवेक बानियाँ राष्ट्रपति विद्यादेवी भण्डारीलाई फेसबुकमा जथाभावी गाली गरेर लेखेकै अभियोगमा पक्राउ परेका थिए। पछिल्ला दिनमा सामाजिक सञ्जाल विशेषगरि फेसबुक, ट्विटरमा राजनीतिमा ख्यातीप्राप्त र विशिष्ट व्यक्तिलाई नक्कली आइडी बनाएर भ्रामक कुरा लेख्ने क्रम बढेको प्रहरीले जनाएको छ। यसलाई प्रहरीले दुईवटा कुरामा सुक्ष्म विश्लेषण गरेको छ। एउटा राजनीतिप्रति सर्वसाधारणमा छाएको नैराश्यता र अर्को सरकारमा बसेको प्रतिपक्षका केही युवाले सुनियोजित रूपमा फेसबुकमा जथाभावी लेखेर भ्रम फैलाउने।
महानगरीय प्रहरी अपराध महाशाखामा एक वर्ष यतामात्रै साइबर क्राइमसम्बन्धी एक हजार पाँच सय ३० वटा उजुरी परेका छन्। तीमध्ये सामाजिक सञ्जालसँग जोडिएका ५० वटा उजुरी छन्। महाशाखाका अनुसार समाचारसँग असन्तुष्ट भएर पनि फेसबुकमा समाचारको फोटो राखेर पत्रकारमाथि जथाभावी लेख्ने गरेका विषयमा समेत उजुरी आउने गरेका छन्। महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले भने, ‘दर्ता नै नभएका अनलाइनमार्फत नक्कली प्रेस पास बनाएर गलत समाचार सम्प्रेषण गरेका उदाहरण पनि छन्। यसलाई उजुरी परेका अवस्थामा प्रेस काउन्सिलमार्फत कारबाही भएका छन्।’
फेसबुकमा नक्कली आइडी खोलेर अश्लील भिडियो पठाउने, मनमिल्दासम्म सँगै बस्ने र मनमुटाव भएपछि सहमतिमा खिचिएका अश्लील फोटो र भिडियो एकले अर्कोलाई पठाउने र केहीले पोर्न भिडियोका साइटहरूमा डाउनलोडसम्म गरेका उजुरी महाशाखामा परेका छन्। एसएसपी सिंहका अनुसार व्यक्तिगत रिसइबी पोख्न, लेनदेनका कुरा नमिलेपछि प्रहरीमा आउनुअघि फेसबुकमा जथाभावी लेखेर बेइज्जती गर्ने घटना प्रहरीमा आएका छन्। ‘फेसबुकमा पर्दामा देखिएका गाली बेइज्जतीभन्दा पनि सहमतिमा खिचिएका पोर्न भिडियो पोर्न साइटमा डाउनलोड गरेको घटना ज्यादै खतरनाक हुँदै आएको छ। प्रहरीमा उजुरी नआएसम्म गाह्रो छ’, एसएसपी सिंहले अन्नपूर्णसँग भने, ‘साईबर ब्यूरो स्थापना भएको छ। अब यस्ता घटनामा कमी आउँछ।’
महाशाखाले एक वर्षयता विद्युतीय कारोबार सजाय ऐनअन्तर्गत १४ जनालाई पक्राउ गरी १४ वटा मुद्दा दर्ता गरेको छ। पीडित बनेर आउने र प्रहरीले खोजेर ल्याएपछि आफन्त नै देखिएपछि पीडित मुद्दामा जान नचाहेका कारण आइन्दा नगर्ने भन्दै शर्तमा मिलापत्र हुँदै आएका एक हजार चार सय ६२ वटा घटना महाशाखामा एक वर्षयता आएका थिए।
केमा कति उजुरी
- सामाजिक सञ्जाल दुरूपयोग - ५०
वेभसाइट ह्याकिङ - २
एमएमएस थ्रेट - ११
चिठ्ठा ठगी म्यासेज - ३
युट्यूव - २
जबर्जस्ती पीडित बनाइएका - १४६२