असोजदेखि वैदेशिक रोजगारीमा एकीकृत सूचना प्रणाली

असोजदेखि वैदेशिक रोजगारीमा एकीकृत सूचना प्रणाली

काठमाडौं : वैदेशिक रोजगार व्यवस्थित बनाउन सरकारले एकीकृत सूचना व्यवस्थापन प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज १५ गतेदेखि यो प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको हो। मोबाइल एप्सको सहयोगमा वैदेशिक रोजगारलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले गृहकार्य थालेको छ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी यो विषयमा जानकारी दिएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले सोमबार नै एकीकृत सूचना व्यवस्थापन प्रणालीसम्बन्धी मोबाइल एप्लिकेसनसमेत सार्वजनिक गरेका छन्।

उक्त प्रणालीमा वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार व्यवसायी, राहदानी विभाग, परराष्ट्र मन्त्रालय, अध्यागमन विभाग, तालिमप्रदायक संस्था, बैंक, बिमा कम्पनी, कूटनीतिक नियोग र गन्तव्य देशका रोजगारदातासम्बन्धी सूचना र सेवासम्बन्धी विवरण समावेश गरिएका छ।

मन्त्री विष्टले वैदेशिक रोजगारी क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सूचना प्रणाली लागू गर्न लागिएको बताए। ‘एकीकृत सूचना प्रणालीले ठगी नियन्त्रणमा पुग्नेछ,’ उनले भने। एकीकृत सूचना प्रणाली लागू भएपछि कामदारले अनलाइनबाट नै श्रम स्वीकृतिको फारम भर्न र पेस गर्न सक्नेछन्। यस्तै श्रम स्वीकृतिका चरणको प्रगति अनलाइनबाटै थाहा पाउन सकिने, आफ्नो श्रम स्वीकृति भए/नभएको एसएमएस, मोबाइल एप्लिकेसन तथा वेबसाइटबाट समेत थाहा पाउन सक्नेछन्। यस्तै पूर्वस्वीकृतिको विवरण र विभागमा दर्ता भएका उजुरी मोबाइल एप्सबाटै थाहा पाउन सकिने मन्त्रालयले जानकारी दिएको छ। उक्त प्रणाली लागू भएमा वैदेशिक रोजगार व्यवसायीले अनलाइनमार्फत पूर्वस्वीकृति र अन्तिम स्वीकृति दिन सक्नुका साथै संस्था नवीकरणको आवदेन दिन सक्नेछन्।

यो प्रणाली लागू भएपछि नियत सोझो बनाउन सघाउ पुर्‍याउने मन्त्री बिष्टले बताए। ‘बिग्रिएको नियत सोझो बनाउनेछ, हामी यस प्रणालीलाई पूर्णतया कार्यान्ववयनमा ल्याउने छौं’, उनले भने। एकीकृत सूचना प्रणालीले सेवाको गुणस्तरमा वृद्धि हुने, कार्यक्षमता बढ्ने, अनुगमन प्रभावकारी हुने, विभिन्न नीति तथा कार्यक्रम तर्जुमा गर्दा सहज हुनुका साथै अन्तरसरकारी समन्वय प्रभावकारी हुने मन्त्रालयले अपेक्षा लिएको छ।

वैदेशिक रोजगारी क्षेत्रमा विकृति, विसंगति धेरै रहेको भन्दै यस्ता तमाम समस्या समाधान गर्न एकीकृत सूचना प्रणाली सुरु गर्न लागिएको उनले बताए। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले व्यवसायी पनि यो प्रणालीप्रति सकारात्मक भएकाले वैदेशिक रोजगार सुधार हुने बताए। व्यवसायी पनि सकारात्मक भएकाले अब वैदेशिक रोजगार क्षेत्र सुधार हुने उनको भनाइ छ। वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले कामदार ठगिने क्रम नरोकिएको भन्दै एकीकृत सूचना प्रणालीले वैदेशिक रोजगार क्षेत्र मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन सघाउ पुर्‍याउने बताए। कार्यान्वययन गर्न सरोकारवाला सबै पक्ष इमान्दार बन्नुपर्ने उनको भनाइ छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले नयाँ प्रणाली लागू गर्दा सुरुमा अलमल रहे पनि व्यवसायीले एकीकृत सूचना प्रणाली पूर्णकार्यान्वयनमा जोड दिने बताए। ‘हामी कर्मचारीसँग भेट नहोस्, सानो कामका लागि ताहाचल जानु नपरोस् भन्ने पक्षमा छौं’, उनले भने।

अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले एकीकृत सूचना प्रणाली कार्यान्वयन गर्न प्राविधिकको जिम्मेवारी बढी हुने बताए। ‘उक्त प्रणाली कार्यान्वयन गराउन हामी सहकार्य गर्न तयार छौं’, उनले भने।

परराष्ट्र मन्त्रालयका सहसचिव दुर्गाबहादुर भण्डारीले एकीकृत सूचना प्रणाली कार्यान्वयन गर्न परराष्ट्र मन्त्रालय र मातहतका निकाय सहकार्य गर्न तयार रहेको बताए। राहदानी विभागका महानिर्देशक रामकाजी खड्काले एकीकृत सूचना प्रणालीले सहजता ल्याउने बताए। उनले भने, ‘विभागबाट हुने अघिल्लो दिनको सबै तथ्यांक भोलिपल्ट १० बजेदेखि ११ बजेसम्म उपलब्ध गराउन सक्छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.