कोदो उत्पादन घट्यो तर रोटीको माग बढ्यो
गौशाला : ‘मरुवा रोटी आ नुन मिचाई चटनी (कोदोको रोटी र नुन खुर्सानीको अचार)’ खान महोत्तरीको गौशाला नगरपालिका ४ रजखोरका ६५ वर्षीय बासुदेव महतोको मन लालायीत छ। ‘२०६० सालतिर तराईका जिल्लामा कोदोको खेती प्रशस्त हुन्थ्यो। नुनसँग हरियो खुर्सानी पिँधेर तयार पारिएको अचारमा कोदोको रोटी चोबेर मालिकदेखि मजदुरसम्मले खाजाको रूपमा खान्थें’, मधेशको लोकप्रिय अन्न कोदो भेट्नै मुस्किल रहेको बासुदेवले सुनाए।
करिब ४४ वर्ष शिक्षा पेसा गरेका बासुदेव कोदोको रोटी खाएर हुर्किए। उनी भन्छन्, ‘जनहरवाहलाई मालिकले मुख्य रूपमा खाजामा कोदोको रोटी र नुन खुर्सानीको आचार पस्किन्थें।’ महोत्तरी सहित मधेशका मुख्य बाली धान, गहुँ र कोदो रहे पनि अहिले कोदो बाली लोप भएको उनको भनाइ छ। रोपेको तीन महिनामा कोदो बाली तयार हुन्छ। बाला काटेर दाइँ गरेपछि कोदो घर भित्र्याइन्छ।
सिँचाईको अभाव, कामदार नपाउनु, मलखाद्य महँगो हुनुजस्ता कारणले कोदो खेती ओझेलमा परेको हो। वर्षमा दुईपटक भदौ र मंसीरमा उत्पादन हुने कोदो खेती क्रमिक रूपमा हराउँदै गएको छ। तराई मधेशका फाँटबाट मुख्य कोदो बाली हराएपछि अहिले बाह्य देशबाट खाद्यान्न आयात गर्नु परेको छ।
सिँचाईको सुविधाबाट वञ्चित महोत्तरी जिल्लाको उत्तरी भेगमा पर्ने बर्दिबास, किसाननगर, हात्तीलेट, गौशाला, रामनगर, पशुपतिनगरका किसानले अनिवार्य रूपमा अधिकांश खेतमा लगाउँदै आएका थिए। पछिल्लो समय ती ठाउँमा कोदो खेती हराएकोप्रति बर्दिबास नगरपालिका ८ का वडाध्यक्ष शमसेर लामाले चिन्ता व्यक्त गरे। कम झन्झटिलो र कम मेहनेतमा बढी उत्पादन हुने कोदो खेतीलाई उखु खेतीले विस्थापित गरेको रामनगरका किसान शिवनाथ महतोले बताए। समाज परिवर्तनसँगै मानिसको खानपिनमा परिवर्तन भएपछि खेती छाडिएको महतोको भनाइ छ।
२५ वर्ष पहिले धानजस्तै तराईमा प्रमुख बालीका रूपमा रहेको कोदो खेती अहिले मुस्किलले एक दुई कट्ठामा कहीँकतै किसानले खेतमा लगाएको पाइन्छ। ‘पहिले हामीले वर्षायाममा कोदोको रोटी र भुरा माछाको अचार निकै मिठो मानेर खान्थ्यौं’, गौशाला नगरपालिका १ का गणेश थापाले बालापनको याद सुनाउँदै भने, ‘अचेल मानिसको जीवनशैली परिवर्तन भएसँगै कोदो खेती हराउँदै गएको हो।’
‘गरिबले मात्र कोदोको रोटी खान्छ’ भन्ने मानसिकताले अहिलेको समाजमा यसको मागमा कमी आएपछि किसानले क्रमिक रूपमा कोदो खेती गर्न छोडेको थापाको ठम्याइ छ।