विवादमा मुछिएपछि महारागञ्जका डीएसपी रिजालमाथि कारबाही !
काठमाडौँ : महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायव उपरीक्षक (डीएसपी) भेषराज रिजाल एकै पटक विभिन्न विवादमा मुछिएका छन् । उनीमाथि बर्दियामा ज्यान गुमाएका सीके राउतका कार्यकर्ताको शव पोस्टमार्टममा ढिलाइ गरेको आरोप लागेको छ। सीके राउतका कार्यकर्ताको शव पोस्टमार्टममा ढिलाइ गरेको विवादमा मुछिएपछि उनलाई प्रहरी मुख्यालय नक्सालमा तानिएको छ।
प्रहरी मुख्यालय स्रोतका अनुसार गुन्डा नाइकेसँगको उठबस, सीके राउतका कार्यकर्ताको पोस्टमार्टममा र तोकिएको जिम्मेवारी पुरा गर्न नसककेकाले उनलाई मुख्यालय तानिएको हो।
गृहसचिव प्रेमकुमार राईले गृहमन्त्रालयबाट भएको कानुनसम्मत निर्देशनलाई अटेरी गर्ने जोकोही पनि कर्मचारी कारबाहीमा पर्ने बताए । ‘पोस्टमार्टम जस्तो गम्भीर विषयलाई डीएसपी रिजालले सामान्यरुपमा लिएको र पटक पकट निर्देशन हुँदा पनि अटेर गरेकाले कारबाहीका लागि प्रहरी मुख्यालयलाई निर्देशन दिइएको हो’, गृहसचिव राईले भने, ‘मैले उनको ठाउँमा पठाउने व्यक्ति तोकेको छैन ।’
मन्त्रालयबाट निर्देशन भएको काम कानुनसम्मत नदेखिए लिखितरुपमा जबाफ पेश गर्न रिजाल लगायत सबैलाई छुट भएको राईले बताए ।
प्रहरी मुख्यालयले रिजाललाई मुख्यालय तानेर उनको स्थानमा डीएसपी फणिन्द्र प्रसाईँलाई पठाइसकेको छ। प्रहरी मुख्यालयले सीके राउतका कार्यकताको शवको पोष्टमार्टम ढिलाइ गरेकै कारण सरुवा गरिएको हो।
गृहसचिव प्रेमकुमार राईको ढाडो निर्देशनमा रिजालको सरुवा गरिएको हो। जिल्ला उपप्रधान एवम् परराष्ट्रमन्त्री उपेन्द्र यादव बर्दियाको गुलरिया गएका बेला राउतका कार्यकता राम मनोहर यादवलगायतले कालो झण्डा देखाएका थिए।
प्रहरीले तत्कालै यादवलगायतलाई पक्राउ गरेको थियो । हिरासतमै रहेका बेला विरामी भएपछि स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि यादवलाई काठमाडौं रिफर गरिएको थियो। महाराजगन्जस्थित शिक्षण अस्पतालमा यादवको एक साताअघि शुक्रबार मृत्यु भएको थियो।
प्रतिपक्ष नेपाली कांग्रेसले सदनमा समेत यादवको मृत्युको विषयलाई उठाएपछि सरकारलाई यो मुद्दा पेचिलो बनेको थियो। पोष्टमार्टम ढिलाइबारे बुझ्न बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ काठमाडौं आएर गृहसचिव राईसँग भेटेर गुनासो राखेका थिए।
डीएसपी रिजालले पोष्टमार्टमको काम आफ्नो नभई अस्पतालकै जिम्मेवारी भित्र पर्ने भन्दै बेवास्ता गरेका थिए। राईलाई कुरुम्बाङले त्यही रिपोर्टिङ गरेपछि सोमवारै रिजालको सरुवाका लागि प्रहरी मुख्यालयलाई सरुवा गर्न निर्देशन दिइएको हो।