पोर्चुगलसँग हार्यो इटाली
लिस्बोन : युरोपियन च्याम्पियन टोली पोर्चुगलले युरोपको नयाँ प्रतियोगिता यूईएफए नेसन्स लिगमा सुखद सुरुआत गरेको छ । प्रतियोगिताको मंगलबार भएको आफ्नो पहिलो खेलमा क्रिस्टियानो रोनाल्डो बिना नै इटालीलाई १-० गोलले पराजित गर्दै पोर्चुगलले प्रतियोगितामा सुखद सुरुआत गरेको हो । क्लब र राष्ट्रिय टोलीबाट निरन्तरको व्यस्त कार्यतालिकाका कारण रोनाल्डो हाल पोर्चुगिज राष्ट्रिय टोलीमा सहभागी छैनन् । उनको अनुपस्थितिमा पनि पोर्चुगलले सशक्त प्रदर्शन गरिरहेको छ ।
नियमित कप्तान तथा मुख्य स्ट्राइकरसमेत रहेका रोनाल्डो बिना नै पोर्चुगलले पछिल्लो समय खराब अवस्थाबाट गुज्रिरहेको इटालीलाई अर्काे निराशाजनक नतिजा भोग्न बाध्य बनाएको हो । नेसन्स लिगमा दोस्रो खेल खेलिसक्दा पनि इटाली जितविहीन छ । इटालीले आफ्नो पहिलो खेलमा पोल्यान्डविरुद्ध आफ्नै मैदानमा १-१ गोलको बराबरी खेलेको थियो । त्यसपछिको आफ्नो दोस्रो खेलमा पोर्चुगलसँग पराजय बेहोर्न पुगेको छ ।
टोलीको खराब प्रदर्शनबाट प्रशिक्षक रोबर्टाे मान्सिनी निरास देखिए । ‘हामी आक्रमणमा अझ प्रभावकारी बन्न सक्नुपर्छ’, टोलीको पराजयपछि प्रशिक्षक मान्सिनीले भने, ‘हामीले आक्रमणमा देखिएको समस्यामा समाधान खोज्नुपर्छ र गोल गर्न सक्षम हुनैपर्छ ।’ पोर्चुगलको जितमा एक मात्र निर्णायक गोल आन्द्रे सिल्भाले गरेका थिए । उनले खेलको ४८औं मिनेटमा काउन्टर एट्याकमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाएका थिए । त्यसपछिको समयमा दुवै टोलीबाट कुनै गोल नभएपछि पोर्चुगलले यूईएफए नेसन्स लिगमा महत्वपूर्ण तीन अंक बटुलेको छ । पोर्चुगल आफ्नो समूहमा तालिकाको शीर्ष स्थानमा छ ।
टोलीको जितबाट प्रशिक्षक फर्नान्डो सान्तोस सन्तुष्ट देखिए । ‘हाम्रा लागि यो उत्साहजनक नतिजा रह्यो । हामीले खेलको पूर्ण अवधि राम्रो फुटबल खेल्यौं’, प्रशिक्षक सान्तोसले भने, ‘खेलको अन्तिम १० मिनेट मात्रै हामी आफ्नो रफ्तारमा केही कमजोर देखियौं, जसले इटालीलाई केही सहज बनाएको थियो ।’ प्रशिक्षक सान्तोसको नेतृत्वमा पोर्चुगलले आफ्नो घरेलु मैदानमा हात पारेको यो लगातार नवौं जित हो ।
यसैगरी, अर्को खेलमा कोसोभोले अन्तर्राष्ट्रिय फुटबलमै ऐतिहासिक जित हात पारेको छ । कोसोभोले मंगलबार बिहान भएको खेलमा फारोई आइल्यान्डबिरुद्ध २-० गोलको जित हात पारेको थियो । यो जित कोसोभोका लागि सन् २०१६ मा अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र यूईएफएले स्वतन्त्र राष्ट्रको रूपमा मान्यता दिएपछि प्रतिस्पर्धात्मक प्रतियोगिताको आफ्नो पहिलो जितको रूपमा रह्यो ।