प्रथम राष्ट्रपतिसँग भूतका कुरा
काठमाडौं : ‘सम्माननीय पूर्वराष्ट्रपतिज्यू, तपार्इंको विचारमा भूत छ या छैन ? ’ सहिद शुक्र माविकी कक्षा ९ की छात्राले उत्सुकतापूर्वक सोधेको प्रश्न सुनेर हलमा गुन्जिएको हाँसो मथ्थर भएपछि पूर्वराष्ट्रपति डा.रामवरण यादवले उत्तर दिए, ‘भूतसुत छैन बाबु।’ पूर्वराष्ट्रपति यादवको जवाफ सुनेर नेपाल पर्यटन बोर्डको हलमा मंगलबार उपस्थित विद्यार्थी, शिक्षकलगायत पुनः खित्का छाडेर हाँसेका थिए। ‘म विज्ञानको विद्यार्थी बाबु, मैले भूतप्रेत कहिले मानिन। म सानो छँदा गाउँमा आँपको गाछी र जामुनको पेडमा भूत छ भनेर भन्थे। मलाई पनि भूत भनेर डर लाग्थ्यो। तर मैले विज्ञान पढ्न थालेदेखि त्यसमा विश्वास गरिन्’, उनले जवाफ दिए।
बाल दिवसको पूर्वसन्ध्यामा २६ विद्यालय विद्यार्थीले पूर्वराष्ट्रपति यादव समक्ष जिज्ञासा राखेका थिए। उनीहरूले पूर्वराष्ट्रपतिको बाल्यकाल, राजनीतिक जीवन, देशको वर्तमान अवस्था, शिक्षा, भ्रष्टाचारलगायतका विषयमा केन्द्रित भएर सोधेका थिए। ‘हजुरलाई विद्यालयमा भर्ना गरेर पढ्न पठाइयो भने भविष्यमा के बन्छु भन्ने लक्ष्य लिएर पढ्नुहुन्थ्यो होला ? ’ गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.यादवलाई फ्लोरिसेन्ट उमाविमा कक्षा ६ मा पढ्ने शुभेच्छा पाण्डेले यो प्रश्न गर्दा हलमा उपस्थित अन्यसँगै पूर्वराष्ट्रपति पनि गलल हाँसे। आफूले जुन विषय पढेर भोलि राष्ट्रका लागि केही योगदान दिन सक्छु जस्तो लाग्छ त्यही पढ्छु भन्दै ती विद्यार्थीको जिज्ञासा उनले मेटाए। नेपालमा उपलब्ध स्रोतलाई अधिकतम उपयोग गरेर कसरी वातावरणलाई राम्रो बनाउन सकिन्छ भन्ने विषय जहाँ पढाइन्छ त्यस्तै विद्यालय खोजेर आफूले पढ्ने उनले बताए।
प्रथम राष्ट्रपतिलाई बालबालिकाले राखेका प्रश्नमा उनीहरूका समस्या पनि समेटिएका थिए। एक सामुदायिक विद्यालयमा अध्ययनरत छात्राले ‘हाम्रो विद्यालयमा पुस्तकालय पनि छैन, तालिम प्राप्त शिक्षक पनि हुनुहुन्न, हामीलाई प्रोजेक्ट वर्क गर्न सामाग्री पनि छैन’ भन्ने गुनासो गरिन्। विद्यालयका शिक्षक, प्रधानअध्यापकलगायत बसेर जनप्रतिनिधिसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने सुझाव पूर्वराष्ट्रपतिले दिए। पटक पटक पाठ्यक्रममा परिवर्तन भएपनि जीवन उपयोगी शिक्षा नसमेटिएको गुनासो सिद्धि मंगल माविका अशोकानन्द यादवले गरेका थिए।
पढाइ कमजोर भएका ब्यक्ति मात्रै राजनीतिमा लाग्ने परिपाटी रहेकोमा एक वरिष्ठ चिकित्सक राजनीतिमा आउनुको कारण जान्न चाहिन् सुदेशा स्कुलकी छात्राले। चिकित्सक भएपनि देशको नागरिक भएकाले यहाँको परिस्थितिले आफू कति बेला राजनीतिमा पसें पत्तै नपाएको डा.यादवले स्मरण गरे।
पद्मोदय माविकी युना श्रेष्ठले यो विषयमा पूर्वराष्ट्रपतिको धारणा जान्न चाहँदा उनले भने, ‘यसमा विद्यार्थीको दोष छैन। समाज र राष्ट्रिय परिस्थितिको दोष छ। राज्यले शैक्षिक प्रणालीमा सुधार गर्न सके यस्तो अवस्था आउँदैन।’
तपाईं पनि आफ्नो पूर्वपेशामा फर्कन मिल्छ की मिल्दैन भनेर सोध्दा डा. यादवले आफ्नो उमेर र आफूलाई लागेका विभिन्न रोगका कारणले फलोअप गर्न गाह्रो हुने बताए।
‘मलाई क्यान्सर लागेको थियो, निको भयो। उमेर अनुसार डायबेटिज र ब्लड प्रेसर छ। ग्यास्ट्रिक पनि छ। अहिले क्लिनिकमा बसेर पेसेन्टलाई हेर्न र फलोअप गर्न सक्दिन होला’, उनले भने। तर पूर्वराष्ट्रपतिको रूपमा आफूले संगालेको अनुभवलाई समाज जोड्न, लोकतन्त्रलाई बलियो बनाउन र राष्ट्रिय एकतालाई कायम गर्न लगाउने उनले प्रतिवद्धता जनाए।
डा. यादवले आफ्नो बाल्यकालका घटनालाई पनि जोड्दै लगेका थिए। अहिलेका विद्यार्थी विद्यालयमा जाने उमेरमा आफूले गाईभैसी चराउन जाने र पहलमानी सिक्ने गरेको प्रशंग कोट्याउँदा विद्यार्थीको ध्यान केन्द्रित भएको थियो। कुलेश्वरस्थित साउथर्न प्याराडाइज बोर्डिङ स्कुलकी कक्षा ९ की अस्मिता गुरुङले ‘हामी बालिका बलात्कारीको तारो बन्दै आएका छौं, हाम्रो सुरक्षाका लागि सरकारलाई के सुझाव दिन चाहनुहुन्छ ? ’ भनेर सोध्दा हलमा सुन्यता छाएको थियो।
केही महिनायता बालिकामाथि बढेको बलात्कार जस्तो जघन्य अपराधको घटनाले धेरै बालिकामा परेको मनोवैज्ञानिक असरको प्रभाव उनको प्रश्नमा झल्कन्थ्यो। नागरिकको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व भएको बताउँदै डा.यादवले कानुनमा भएका कुरा ब्यवहारमा लागु गर्नुपर्ने सुझाव दिए। यो विषयमा सामाजिक जागरण ल्याउन सरकार, राजनीतिक दल, नागरिक समाज र संचार माध्यमलाई लाग्न पनि उनले आग्रह गरे।
बालबालिकासँग प्रथम राष्ट्रपति कार्यक्रम चन्द्रागिरी नगरपालिका, गोदावरी नगरपालिका र दक्षिणकाली नगरपालिकाको सहकार्यमा पाठशाला खबरले आयोजना गरेको हो।