प्रेसमाथिको ज्यादती नरोके सरकारले मूल्य चुकाउनुपर्छ : डा. कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पत्रिकामा प्रकाशित समाचार सामग्रीलाई निहुँ बनाएर पक्राउ गरिएका पत्रकार राजु बस्नेतलाई रिहा गर्न माग गरेका छन्। बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै डा. कोइरालाले राजनीतिक रुपमा फरक विचार राखेकै आधारमा कसैलाई पक्राउ गर्नु सर्वसत्तावादी चरित्र भएको उल्लेख गरेका छन्।
'खोजतलास' साप्ताहिक तथा खोजतलासन्युज डट कमका अध्यक्ष एवं सम्पादक बस्नेतलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा अनुसन्धानका लागि भन्दै प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। दृष्टि साप्ताहिकमा छापिएको समाचार आफ्नो पत्रिका तथा अनलाइनमा साभार गरी पुनः प्रकाशित गरेका उनलाई पक्राउ गरिएको हो।
'दृष्टि साप्ताहिकमा प्रकाशित समाचार साभार गरेको भन्दै राजु बस्नेतलाई पक्राउ गरिनु प्रेस स्वतन्त्रतामाथिको बोलिएको धावा र ठाडो हस्तक्षेप हो। यो सरकारको सर्वसत्तावादी चरित्र हो', कोइरालाले भनेका छन्, 'समाचार लेख्ने दृष्टि साप्ताहिकलाई उन्मुक्ति दिने तर राजनितीक रुपमा फरक विचार राखेकै भरमा समाचार साभार गर्ने पत्रकार बस्नेतलाई पक्राउ गरिनु नितान्त राजनितिक जालसाँझी हो।'हिरासतमा राखिएका पत्रकार बस्नेतको तत्काल रिहा नगरिए तथा स्वतन्त्र प्रेसमाथिको ज्यादती र उदण्डता नरोकिए सरकारले ठूलो मुल्य चुकाउनु पर्ने डा. कोइरालाले उल्लेख गरेका छन्।