दिदीबहिनीलाई सुतेकै ठाउँमा हानियो तेजाव, दुवैको अनुहार जल्यो
चन्द्रपुर : यहाँको चन्द्रपुर नगरपालिका–६ बजारटोलका दुई किशोरीमाथि अज्ञात व्यक्तिले तेजाव हानेका छन् । तेजाव आक्रमणमा परेका दुवैजना दिदी बहिनी हुन् ।
चन्द्रपुर नपा–६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मिता दासलाई मंगलबार राति करिब १२ बजे अज्ञात व्यक्तिले अनुहारमा तेजाव हानर भागेका हुन् ।
घरमा सुतिरहेको अवस्थामा दुवैजनाको अनुहारमा तेजावले आक्रमण गरी भागेको पीडित परिवारले जनाएको छ । तेजाव हानेर भाग्ने व्यक्तिको खोजी गरीरहेको प्रहरीले जनाएको छ । तेजाव आक्रमणबाट घाइते भएका दुवैजनालाई चन्द्रपुर अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ लगिएको छ ।
अनुहारमा तेजाव लागेर घाइते दुवै दिदी बिहिनीको उपचारका काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा भइरहको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । राति करिब १२ बजे नचिनेको व्यक्तिहरु ढोका खोलेर घरमा पसेर दुवै छोरीको अनुहारमा तेजाव हानेर भागेको पीडित किशोरीहरुका बुवा जादोलाल दासले बताएका छन् ।
ढोकाको चुकुल कमजोर रहेकाले तेजाव आक्रमण गर्ने व्यक्तिले सहजै खोलेको पीडित परिवारको अनुमान छ । सम्झनाको अनुहारमा घाउ र आ“खामा तेजावका कारण धेरै चोट लागेको छ । सुस्मिताको टाउको र अनुहारमा घाउ भएको छ । अध्यारो भएकाले तेजाव हान्ने व्यक्ति चिन्न नसकेको उनीहरुले बताएका छन् ।
घाइते सम्झनाले जनज्योति माविमा कक्षा ७ मा पढेर छोडेकी थिइन् भने १५ वर्षीया सुस्मिता त्यही विद्यालयमा कक्षा ५ मा अध्ययनरत थिइन् । दुवै घाइतेहरु राति उपचार गर्न ल्याएको बताउँदै चन्द्रपुर अस्पताल प्रालिका डा. सुभाष कुमार चौधरीले उनीहरुको अनुहारमा घाउ भएको जानकारी दिएका छन् ।
घटनाको खबर पाएलगत्तै डिएसपी युवराज खड्काको टोली घटनास्थल पुगेको थियो । घटनाबारे अनुसन्धान भइरहेको जनाउँदै उनले फरार व्यक्तिको खोजी पनि जारी राखिएको बताए ।