अब भक्तपुरमै मुटुरोगका सबै सेवा

अब भक्तपुरमै मुटुरोगका सबै सेवा

भक्तपुर : सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बुधबारदेखि क्याथ ल्याब सेवा सुरु गरेसँगै मुटुसम्बन्धी सबै समस्याको उपचार भक्तपुरमै हुने भएको छ। 

केन्द्रमा क्याथ ल्याब सेवा सुरु भएसँगै भक्तपुर र भक्तपुर पूर्वका जिल्लाका मुटुरोगका बिरामीहरु लाभान्वित हुने भएका हुन्।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बुधबार केन्द्रमा स्थापना गरिएको क्याथ ल्याब सेवा सुरु गरेका हुन्। उनले २५६ स्लाइसको अहिलेसम्मकै अत्याधुनिक सीटी स्क्यान सेवाको समेत उद्घाटन गरेका छन्।

केन्द्रका अनुसार क्याथ ल्याब दक्षिण एसियाकै पहिलो अत्याधुनिक प्रविधिको हो।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले कलेजो र मुटुको ओपन हार्ट सर्जरीलाई नियमित गर्ने उद्देश्यले क्याथ ल्याब सञ्चालनमा ल्याइएको जानकारी दिए। क्याथ ल्याब नहुँदा कलेजो प्रत्यारोपण तथा मुटुको ओपन हर्ट सर्जरीलाई केन्द्रले निरन्तरता दिन सकेको थिएन।

केन्द्रले सञ्चालनको पाँच वर्षभित्र पाँचसय जनाको मृगौला प्रत्यारोपण गरिसकेको छ। त्यस्तै दुई वर्षअघि सुरु गरिएको कलेजो प्रत्यारोपण तीनजनामा गरिसकेको छ।

क्याथ ल्याब सञ्चालनमा आएसँगै मृगौला र कलेजो प्रत्यारोपण सेवा तीव्र हुने कार्यकारी निर्देशक डा. श्रेष्ठ बताउँछन्।

क्याथ ल्याब नहुँदा केन्द्रमा उपचार गर्न आउने मुटुरोगका बिरामीलाई गंगालाल रिफर गरिँदै आएको थियो। क्याथ ल्याब सञ्चालनमा आएसँगै केन्द्रले हप्तामा तीनदिनमात्रै चल्दै आएको मुटुरोगको बहिरंग (ओपीडी) सेवालाई ६ नै दिन सञ्चालनमा ल्याएको छ।
केन्द्रका मुटुरोग विशेषज्ञ डा. किशन कुशवाहले केन्द्रको मुटुरोगको बहिरंग सेवामा दैनिक ४० जना बिरामीले स्वास्थ्य जाँच गराउने गरेको जानकारी दिए।

ओपीडीमा आएका बिरामीमध्ये पाँचदेखि आठ प्रतिशत बिरामीलाई क्याथ ल्याबको सेवा दिनुपर्ने उनले बताए।

‘क्याथ ल्याब नहुँदा हामीकहाँ आएका बिरामीलाई गंगालाल रिफर गर्दै आएका थियौं’, डा. कुशवाहाले भने, ‘अब केन्द्रमै मुटुका सबै सेवा सम्भव भएको छ। मुटुरोग उपचारको लागि काठमाडौंसम्म पुग्नैपर्ने बाध्यता हटेको छ।’

केन्द्रले डा. कुशवाहको नेतृत्वमा तीनजना मेडिकल अफिसर, तालिमप्राप्त पाँचजना नर्ससहित क्याथ ल्याब सेवा सुरु गरेको छ। साथै प्रत्येक बुधबार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. राजीव राजभण्डारी केन्द्रमा पुग्ने व्यवस्था गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.