५१ किलो अवैध सतुवासहित दुर्इजना पक्राउ
दार्चुला : दार्चुलामा ५१ किलोग्राम अवैध सतुवासहित दुईजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बुधबार भारतबाट महाकाली नदी पार गराइरहेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल हेडक्वार्टर नम्बर ५० गुल्म दार्चुलाका सशस्त्र प्रहरी नायव निरीक्षक राजेन्द्र चन्दको नेतृत्वमा खटिएको टोलीले बरामद गरेको हो ।
त्यो सतुवासहित दुर्इजनालार्इ महाकाली नगरपालिका-१ श्रीबगडबाट पक्राउ गरिएको सशस्त्र प्रहरीका गुल्मपति भिमबहादुर चन्दले जानकारी दिए । पक्राउ पर्नेमा दार्चुलाको ब्यास गाउँपालिका-२ का ३३ वर्षीय नरेन्द्रसिंह धामी र बझाङका ४० वर्षीय हरे बोहरा रहेको चन्दले बताए ।
अवैधरुपमा महाकाली नदीमाथि डोरी लगाएर भारतबाट नेपाल तार्दै गरेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
बरामद गरिएको सतुवाको बजार मुल्य तीन लाख ६ हजार रूपैयाँ रहेको छ । बरामद अवैध सतुवा र पक्राउ परेकाहरूलाई अपिनाम्पा संरक्षण क्षेत्र कार्यालयमा बुझाइएको गुल्मपति चन्दले बताए ।
अवैध सतुवासहित पक्राउ परेका दुवैजनालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत कारबाही गरिने अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख पशुपति अधिकारीले बताए । यस ऐन अन्तर्गत उनीहरुलाई १० हजार जरिवाना र ६ महिना कैद वा दुवै सजाय हुने उनले बताए ।