गण्डकीका मुख्यमन्त्री भन्छन्- 'वेश्यावृत्ति रोक्न वैधानिक रेडलाइटबारे बहस गरौँ'
पोखरा : पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्नुपर्ने प्रस्ताव पर्यटन व्यवसायीले गरेका छन्। होटल संघ नेपाल (हान)ले उक्त विषयमा पोखरामा सरोकारवालासँग छलफल चलाएको छ। हानका पूर्वअध्यक्ष प्रसिद्धबहादुर पाण्डेले काठमाडौंभन्दा पोखरा प्रवर्द्धन गर्न सजिलो हुने विचार व्यक्त गरेका छन्। ‘पोखरालाई दक्षिण एसियाकै पर्यटन प्रवेशद्वार बनाउनुपर्छ’, उनले भने, ‘अहिलेसम्म साहसिक गन्तव्यमात्रै भनिएको छ अब लक्जरीको गन्तव्य बनाउनुपर्छ, त्यो सम्भावना छ।’
नीति निर्माताले प्राथमिकतामा राखेमात्रै पोखरा पर्यटनको राजधानी बन्न सक्ने अध्यक्ष पाण्डको भनाइ छ। ‘१० वर्षमा यहाँ हजार १२ सय होटलमा लगानी ल्याउन सकिन्छ’, उनले भने, ‘२०/२५ वटा ५ तारे होटलको अवधारणा ल्याउन सकिन्छ।’ पर्यटनमा लगानी भिœयाउन सरकारी जमिन भाडामा दिन पाण्डेले प्रदेश सरकारलाई सुझाए।
हानका अध्यक्ष अमरमान शाक्यले थाइल्यान्डको फुकेट र इन्डोनेसियाको बालीजस्तै अन्तर्राष्ट्रिय पर्यटनका लागि पोखरा पनि गन्तव्य बन्न सक्ने बताए। प्रदेश सरकारले पर्यटनमैत्री नीति बनाउनुपर्ने उनको भनाइ छ। हान पोखराका अध्यक्ष विकल तुलाचनले बैंक ऋण सुलभ हुनुपर्ने माग गरे।
पोखरा पर्यटन परिषदका अध्यक्ष केदार शर्माले पर्यटन क्षेत्रमा अझै सिन्डिकेट नहटेको सुनाए। ‘पोखरा वरिपरिकै गाउँमा जग्गा किन्न पाइन्न। होटल खोल्न पाइन्न’, उनले भने। शर्माले पर्यटकका लागि सडक, होटेललगायतका पूर्वाधार अभाव रहेको पनि औंल्याए। ‘हामीले लेकसाइडमा होटल त खोलेका छौं तर साढे २ तलाभन्दा माथि नक्सापासै छैन’, शर्माले भने, ‘यसबारे नीति ल्याउन आवश्यक छ।’ पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले अंग्रेजी र नेपाली नयाँ वर्षजस्तै चिनियाँ नयाँ वर्षमा पनि मेला महोत्सव गर्न सके चिनियाँ पर्यटक तान्न सकिने बताए।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पर्यटनलाई पहिलो प्राथमिकतामा राखेरै प्रदेश सरकारको नीति तथा कार्यक्रम आएको दावी गरे। मुख्यमन्त्री गुरुुङले विमानस्थल बनेपछि पोखराको अन्तर्राष्ट्रिय कनेक्टिभिटी हुने विश्वास व्यक्त गरे। सिद्धार्थ, पृथ्वी, कोराला पोखरा र मध्यपहाडी राजमार्ग पनि पर्यटनका लागि महत्वपूर्ण पूर्वाधार रहेको उनको भनाइ थियो।
प्रहरी र प्रशासन प्रदेश मातहत नहुँदा काम गर्न नसकेको भन्दै उनले त्यो भए सुरक्षामा कुनै कसर बाँकी नराख्ने आश्वासन दिए। प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्य बलियो नभई विकास नहुने भन्दै कर तिर्न करकर नगर्न आग्रह गरे। कर तिर्ने बानी बसे भ्रष्टाचार पनि कम हुने उनको भनाइ थियो।
रेडलाइट एरियाबारे बहस गरौं
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवैध वेश्यावृत्ति नियन्त्रण गर्न वैधानिक रेडलाइट एरिया खोल्न बहस सुरु गर्नुपर्ने बताएका छन्। ‘धन्दा चलेकै छ’, उनले भने, ‘कार्ड सिस्टम गरेर व्यवस्थित गर्नेबारे बहस चलाउन जरुरी छ।’ परिचयपत्र लिएर यौनकर्म गर्नेबाट कर संकलन हुने र प्रहरीले पनि दुख दिन नसक्ने उनको भनाइ छ। पोखराको पर्यटकीय केन्द्र लेकसाइडलाई २४ सै घन्टा खोल्नुपर्ने उनले बताए। पर्यटन व्यवसायीसँगको छलफलमा आइतबार उनले यस्तो धारणा राखेका हुन्।
‘पर्यटन उद्योग २४ सै घन्टा खुल्नुपर्छ’, मुख्यमन्त्री गुरुङले भने, ‘व्यवसायी सुत्नु हुन्न। अन्य नागरिक पो राति सुत्छन् त पर्यटन व्यवसायी र राज्य संधै जागा हुनुपर्छ।’ पोखरा वरिपरिका डाँडैभरि रिसोर्ट खोल्नुपर्ने उनको भनाइ छ। धनी पर्यटकलाई महँगा रिसोर्टमा ल्याउने र त्यहाँ क्यासिनो चलाउनुपर्ने मुख्यमन्त्रीले बताए।