परिमार्जित मापदण्ड बनाई एकता
काठमाडौं : नेकपाले पार्टीका तल्लो कमिटी र जनसंगठनको एकता प्रक्रिया निश्चित मापदण्ड निर्धारण गरेर अगाडि बढाउने भएको छ। प्रदेश तथा जिल्ला कमिटी र जनसंगठनहरूको एकता प्रक्रिया अगाडि बढाउन विभिन्न कार्यदल बनाई गरेको प्रयास विवादरहित हुन नसकेपछि केन्द्रले नै मापदण्ड निर्धारण गरी टुंगो लगाउन लागेको हो।
कार्यदललाई सचिवालय बैठकले पहिले नै केही ठोस मापदण्ड निर्धारण गरी सुझावसहितको प्रतिवेदन केन्द्रमा पठाउन कार्यादेश दिएको थियो। तर त्यसरी कार्यादलले सिफारिस गरेका नामावलीमा गुटगत प्रभाव र पूर्वाग्रही सिफारिस गरिएको भन्दै तीव्र असन्तुष्टि देखिन थालेपछि परिमार्जित ठोस मापदण्ड निर्धारण गरेरै नेकपाले कमिटी चयन गर्न खोजेको हो।
बुधबार बसेको सचिवालय बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले नीतिगत मान्यतासहितको केही परिमार्जित मापदण्ड प्रस्तुत गरेका छन्। त्यसमा छलफलको प्रक्रिया सुरु भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। बैठकमा महासचिव विष्णु पौडेलले दुई अध्यक्षसँगको परामर्शका आधारमा अहिलेसम्म कार्यादलबाट प्राप्त प्रतिवेदनलाई सचिवालय बैठकमा प्रस्तुत गरेपछि दुई अध्यक्षले एकता प्रक्रिया अगाडि बढाउने मापदण्ड प्रस्तुत गरेका थिए। मापदण्डमा पार्टी एकताको सम्मान गर्ने, वरिष्ठतालाई प्रमुख आधार बनाउनेलगायत आधार तय गरिएको छ।
मापदण्डमा पार्टी एकताको सम्मान गर्ने, वरिष्ठतालाई प्रमुख आधार बनाउनेलगायत आधार तय गरिएको छ।
कार्यदलले दिएका प्रतिवेदन केकति स्वविवेकी निर्णयका आधारमा भएका छन्, कति संस्थागत निर्णयका आधारमा भएका छन् भन्ने अध्ययन गरी निश्चित मापदण्डलाई आधार बनाएर अब कमिटीको एकता प्रक्रिया अगाडि बढने श्रेष्ठले बताए। यसो हुँदा कार्यदलले अहिलेसम्म बुझाएका प्रतिवेदन कार्यान्वनयमा भने नआउने भएका छन्। ‘अब मापदण्डका आधारमा पार्टी एकता प्रक्रिया अघि बढ्छ’, पूर्वप्रधानमन्त्रीसमेत रहेका वरिष्ठ नेता झलनाथ खनालले भने। पार्टीका तल्लो कमिटीसम्मै वरिष्ठतालाई आधार बनाएर पार्टी कमिटीको नेतृत्व चयनको काम हुनेछ।
पार्टी केन्द्रमा एकता भएको लामो समय बित्दासमेत तल्लो तहमा नेकपाको एकता प्रक्रिया टुंगिन सकेको छैन। यसले नेकपाको आन्तरिक काम प्रभावित हुँदै आएको थियो। थप छलफलका लागि बिहीबार पनि नेकपा सचिवालयको बैठक बस्दै छ।
प्रदेश कमिटी टुंगो आजै
नेकपाले बिहीबार बस्ने सचिवालय बैठकबाट प्रदेश कमिटीको टुंगो लगाउने भएको छ। बुधबार नै प्रदेश कमिटीमा केही छलफल चले पनि समय अभावका कारण टुंगोमा पुगि नहालेको प्रवक्ता श्रेष्ठले बताए। प्रदेश कमिटीमा पूर्वएमालेले ४ र पूर्वमाओवादीले तीन वटाको नेतृत्व लिने समझदारी छ।