निर्मलाका बाबु भन्छन् : प्रधानमन्त्रीले सौतेलो व्यवहार गरे, हामीलाई न्याय देऊ
काठमाडौँ : बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बाबुले आफूहरुलाई प्रधानमन्त्रीबाटै सौतेलो व्यवहार खेप्नुपरेको बताएका छन् । एपीवान एचडीको एपी टक टाइममा बिहीबार बिहान कुरा गर्दै उनले न्याय पाउने अवस्था नभएकैले आफू पत्नीसहित काठमाडौँ आइपुगेको बताए ।
प्रधानमन्त्रीले निर्मला हत्याकाण्डको छानबिन गर्न नदिएर सरकारलाई अवरोध गरेको भनी सञ्चारमाध्यममा दिएको अभिव्यक्तिले आफूहरुको चित्त दुखेको बाबु यज्ञराज पन्थले गुनासो गरे ।
‘प्रधामन्त्रीले नै यसरी झुटो बोल्नु हुन्छ भन्ने लागेको थिएन, प्रधानमन्त्रीबाटै हामीले सौतेले व्यवहार भोग्नुप¥यो’, उनले भने, ‘हामीले न्याय पाउनै नहुने हामी इन्डियन त हौइनौँ, यही देशका नागरिक हौँ ।’
निर्मलाकी आमा दुर्गादेवीले छोरीको हत्यामा प्रहरीको ठुला मान्छेको संलग्नता रहेकैले यसरी ढाकछोप गरिएको बताइन् । ‘हामीले सुरुदेखि नै बम दिदीबहिनी बस्ने घरबाटै अनुसन्धान गर्नुपर्छ भन्यौ, सुरुमा हाम्रो कुरा समेत पुलिसले सुनेन, छोरी पोइल गइहोली भन्ने जबाफ दिए’, उनले भनिन्, ‘आईजीपी गएर पनि पुलिसकै मान्छे भए पनि छाड्दैनौँ भने तर अहिलेसम्म केही नगरेपछि न्याय खोज्दै काठमााडौँ आएका छौँ ।’
प्रहरी या अन्य शक्तिशाली मान्छे संलग्न भएकैले उनीहरुलाई जोगाउन चक्र बडू र दिलीपसिंह विष्टलाई प्रहरीले फसाउन खोजको बाबु दुर्गादत्तले बताए । ‘सुरुमा चक्र बडूलाई समातेर उसैविरुद्ध किटाणी जाहेरी दिन भनियो, त्यसपछि दिलीपसिंहलाई मुख्य अभियुक्त भन्दै सार्वजनिक गरेर हामीमाथि दबाब दिइयो’, उनले भने, ‘तर हामीलाई विश्वास नै थिएन, उनीहरुबाट यस्तो काम हुने कुरामा । रोशनी र बबिता बम बस्ने घरदेखि अनुसन्धान थालेर तत्कालीन एसपी डिल्लीराज विष्टसहितमाथि छानबिन गर्ने हो भने सबै कुरा बाहिर निस्किन्छ ।’
भिडियो
दुर्गादत्तले साउन १० गते घरबाट हिँडेकी छोरी महेन्द्रनगरकै ओपेरा होटलमा रोशनी र बबितासँगै अन्य तीनजना केटासहित पुगेको सूचना आफूहरुले पाएको बताउँदै छोरीको हत्या रोशनी बबिता बस्ने घरमै भएको उल्लेख गरे ।
‘ओपेरा होटलमा एसपीका छोराको जन्मदिनको समयमा तीन युवती पुगेको समयमा सिसीटिभी फुटेज सबै डिलिट गरिएको छ, त्यहाँ पनि शक्तिको आडमा सबैको मुख थुनिएको छ’, उनले भने, ‘ओपेरादेखि निस्किएपछि रोशनी बबिना बस्ने घरमा पुगेर बलात्कारपछि छोरीको घाँटी थिचेर हत्या भएको हामीले अनुमान गरेका छौँ, तर प्रहरी भने निर्दोषलाई फसाउनमै जुटेको छ ।’
दुर्गादत्तले आफूहरु छोरीको न्यायका लागि काठमाडौँ आएको बताउँदै जबसम्म न्याय मिल्दैन तबसम्म आफूहरु फर्किएर नजाने बताए । उनले प्रधानमन्त्रीले झुटो बोलेकोबारे उनलाई नै भेटेर एक पटक प्रश्न गर्ने पनि बताएका छन् ।
साउन १० गते घरबाट निस्किएकी १३ वर्षीया निर्मला पन्तको साउन ११ गते नग्न अवस्थामा उखुबारीभित्र शव भेटिएको थियो । शव भेटिएको स्थानमा पुगेको प्रहरी टोलीले बालिकाले लगाएको सुरुवालदेखि यौनाङ्गसमेत पानीले पखालेर प्रमाण नष्ट गर्ने काम गरेको थियो ।
निर्मलाको हत्यापछि कञ्चनपुरमाा भएको प्रर्दशनका क्रममा स्थानीय किशोर सनी खुन्ना मारिएका थिए भने दर्जनौँ घाइते भएका थिए । यो घटनापछि सरकारले कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख फेरेको छ । कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख डिल्लीराज विष्टलाई काठमाडौँ बोलाएर निलम्बन पनि गरेको छ ।