बलात्कारविरुद्ध तीजमा कालो पहिरन
महेन्द्रनगर : बुधबार देशभर हरितालिका (तीज) को रौनक चलिरहँदा कञ्चनपुरमा भने धेरै महिला दिदीबहिनीले तीज मनाएनन् । अधिकांश महिला दिदीबहिनी तीज पर्वको दिन कालो पहिरनमा निर्मलालाई न्याय दिन माग गरिरहेका छन् ।
कञ्चनपुरस्थित दबाबमूलक संघर्ष समितिले हरितालिका तीजलाई कालोदिनका रूपमा मनाएको छ । ‘हरेक वर्ष आउने पर्वलाई रंगिन र रमाइलो नभएर कालो पहिरन लगाएर मनाइरहेका छौं’, दबाबमूलक संघर्ष समिति संयोजक हेलेन श्रेष्ठले भनिन् ।
‘निर्मलालाई न्याय दिन हाम्रो आन्दोलन फेरि सुरु भएको छ’, संघर्ष समिति सुरुदेखि नै न्यायका लागि सडक आन्दोलनमा छ । व्रत बसेर श्रीमान् र घरपरिवारको सुख, शान्तिको कामना गर्ने दिन आफूहरू निर्मलाको न्यायका लागि कालो पहिरनमा बसेर आन्दोलन गरिरहेको उनले बताइन् ।
महिला दिदीबहिनीले बुधबार कालो पहिरनमा मदन चोकमा एक घण्टा धर्ना दिए भने बजार क्षेत्रमा प्रदर्शन गरे । निर्मला पन्तका हत्यारालाई सार्वजनिक र संविधानमै बलात्कारीलाई फाँसी सजाय दिन संविधान संशोधन गर्नुपर्ने माग महिला अधिकारकर्मीले गरेका छन् ।
‘आज व्रत बसी शिवपार्वतीको पूजा र उपासना गर्ने दिन हो’, अधिकारकर्मी प्रीतिधिर भण्डारीले भनिन्, ‘यो वर्षको तीजलाई हामीले कालो दिनका रूपमा हेरेका छौं र कालो पहिरनमा विरोधमा उत्रिएका हौं ।’ उनले निर्मलाको बलात्कारपछि हत्या गर्ने वास्तविक अपराधी पत्ता नलागुन्जेल आफूहरूको दबाबमूलक कार्यक्रम जारी रहने बताइन् ।
महिला अधिकार क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारण चोकमा भेला भएर तीजलाई कालो दिनका रूपमा मनाएका हुन् । महिलाको आन्दोलनमा पुरुषसमेत कालो पहिरनमा सहभागी भएका छन् । यसअघि महेन्द्रनगरमा स्थानीय पर्व गौरालाई पनि विरोधकै रूपमा मनाइएको थियो ।