फोटोमा हेर्नुहोस् रुकुममा फुल्ने १० प्रजातिका भुइँफूल
मुसीकोट : असारे सिमसिमे झरी भदौं अन्तिमबाट भने विस्तारै कम हुँदैछ। बर्खे झरीले रुझाउँछ, भिजाउँछ, कतै खहरे उर्लिन्छ त, कतै बाढी आउँछ अनि कतै पहिरोले जनजीवन सखाप पार्छ। तर प्रकृतिले सिर्जना गर्ने हरेक दुःखसँगै खुसी पनि दिने गर्छ।यो बर्खे झरीले नराम्रै मात्र गर्छ भन्ने होइन, धेरै फाइदा पनि गर्छ। बर्खे झरीकै कारण प्रकृतिमा बैश पैदा हुन्छ।अघिपछि सुख्खा देखिने धरती बर्खे झरीसँगै हरियो कार्पेट बिछ्याएझैं पलाउन थाल्छ।
जब रनबन पलाउन थाल्छ अनि फुल्छन् विभिन्न प्रजातीका फूल।बर्खे झरी सकिनै लाग्दा रुकुम पश्चिमका विभिन्न पहाडमा फुलेका भुइँफूल देख्दा यस्तो लाग्छ, यो पहाड मात्र होइन यो त सुन्दर बगैचा हो, फूलबारी हो।
रुकुम पश्चिमका विभिन्न स्थानका धेरै पहाडी फूलमध्ये भुइँफूलको पनि आफ्नै महत्व छ।अहिले रुकुमका पहाडमा भुइँफूल ढपक्कै फुलेका छन्। भुइँफूल हेरेर जोकसैको मन आनन्दित मात्र होइन प्रफुल्लित हुनेगर्छ।
भदौं अन्तिम सातादेखि कार्तिक अन्तिम सातासम्म रुकुम पश्चिमका विभिन्न डाँडाकाँडामा फुल्ने यिनै भुइँफूल हेर्न आउने जोकोहीलाई पनि रोकिराख्छ या फर्केर आउने हुटहुटी जगाएदिन्छ। साथै प्रदेश-५ को एकमात्र हिमाली जिल्ला रुकुम पूर्वमा यतिबेला भुँइफूले बन ढपक्कै छोपेको छ।
यो मौसममा हिमाली जडीबुटीका बोटसँगै बुकी फूलसँग रमाउन पाइन्छ। रुकुम पूर्व होस् या पश्चिम प्रकृतिले धेरै कुरा दिएको छ। खाँचो छ त केवल प्रचार-प्रसारको। रूकुम संवाददाता महेश केसीले आफ्नो क्यामेरामा कैद गरिएका सयौं प्रजातिका पहाडी फूलमध्ये रुकुम पश्चिमका डाँडामा फुलिरहेका दश फरक-फरक प्रजातिका भुँइफूल।