अध्यक्ष भागेपछि प्रशासनसँग गुहार
जाजरकोट : आफूले चाहेको व्यक्ति छनोट नहुने देखेपछि एक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिक्षक छनोट प्रक्रियाबाट भागेका छन् । प्रक्रिया नटुंग्याएर अध्यक्ष आफूखुसी हिँडेपछि विद्यालयले स्थानीय प्रशासनसँग गुहार मागेको हो ।
बारेकोट गाउँपालिका–७ गराग्लीचौरस्थित सीता आधारभूत विद्यालयको आधारभूत तह (६–८ ) को अंग्रेजी विषयको शिक्षण सिकाइ अनुदान कोटाको शिक्षक छनोटका लागि शिक्षा विकास तथा समन्वय इकाइ खलंगामा आइतबार लिखित परीक्षा लिइएको थियो । उक्त लिखित परीक्षाको नतिजा आफूले बनाउन चाहेको उम्मेदवारको पक्षमा नआएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मालबहादुर वली अन्तर्वार्ता छाडेर हिँडेका हुन् ।
८ जनाले दरखास्त दिएकोमा तीन जना मात्र लिखित परीक्षामा उत्तीर्ण भएका थिए । उनीहरूको सोमबार मौखिक परीक्षा अन्तर्वार्ता राखिएको थियो तर अध्यक्षज्यू अन्तर्वार्ता नै नगर्ने भन्दै हिँडेपछि समस्या आएको प्रधानाध्यापक रत्नबहादुर थापाले बताए । लिखित परीक्षामा धेरै अंक फरक परेको र अन्तर्वार्ताबाट अधिकतम अंक दिँदा पनि आफूले चाहेको उम्मेदवार शिक्षक नहुने देखेपछि अध्यक्ष वली प्रक्रियाबाटै भागेको उनले बताए ।
विद्यालय व्यवस्थापन समितिको अध्यक्ष नै अस्थायी÷करार शिक्षक छनोट समितिको संयोजक रहने व्यवस्था छ । छनोट समितिमा विद्यालय निरीक्षक, दुई जना विषय विशेषज्ञ र प्रअ रहने व्यवस्था शिक्षा नियमावलीमा गरिएको छ । अन्तर्वार्ता नगराएरै हिँडेपछि विद्यालयले स्थानीय प्रशासनलाई सहजीकरणका लागि लिखित अनुरोध गरेको प्रअ थापाले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई सदरमुकाम झिकाएर अन्तर्वार्ता लिई शिक्षक छनोट प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । ‘खबर पठाएका छांै, आए ठिकै छ अटेर गरे प्रहरी लगाएर भए पनि शिक्षक छनोट प्रक्रिया अघि बढाउँछौं’, प्रजिअ बस्नेतले भने ।