सिमोनलाई नेमार प्यारो
म्याड्रिड : ब्राजिलियन स्ट्राइकर नेमार र फ्रान्सेली विङ्गर केलियन एमबाप्पे खेल कौशल र क्षमताले भरिएका दुई प्रतिभाशाली फुटबलर हुन्। हाल फ्रान्सेली लिग वान क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट व्यावसायिक फुटबल खेल्दै आएका यी दुवै खेलाडीले आफू अन्तर्राष्ट्रिय फुटबलकै सशक्त खेलाडी भएको प्रमाणित पनि गरिसकेका छन्। त्यसैले यी दुई खेलाडीलाई अनुबन्ध गर्न युरोपका कुनै पनि टोली मरिहत्ते गर्छन्।
तर, स्पेनिस क्लब एट्लेटिको म्याड्रिडका अर्जेन्टिनी प्रशिक्षक डिइगो सिमोनले भने फरक धारणा व्यक्त गरेका छन्। उनले आफ्नो रोजाइमा एमबाप्पेभन्दा नेमारलाई अघि राखेका छन्। सिमोनले नेमारबाट धेरै नै फाइदा लिन सकिने तर्क गरेका छन्। ‘यदि तपाईंले मलाई रोज्ने अवसर दिनुभयो भने म पक्कै पनि नेमारलाई रोज्ने छु’, एक स्पेनिस पत्रिकालाई दिएको अन्तर्वार्तामा सिमोनले भनेका छन्, ‘किन भने एमबाप्पे मैदानमा व्यक्तिगत देखिन्छन् र, मैदानमा उनको यही भूमिका हो भनेर किटान गर्न सकिने अवस्था पनि छैन। तर, नेमारको निश्चित जिम्मेवारी छन्। यसको मतलव नेमारबाट चाहेको भन्दा बढी फाइदा लिन सकिन्छ।’
सिमोनले यी दुवै खेलाडीसँग अहिलेसम्म काम गरेका छैनन्। यद्यपि नेमारले दुई वर्षअघि अर्काे स्पेनिस क्लब बार्सिलोनाबाट खेल्दा उनीविरुद्ध एट्लेटिको म्याड्रिडका लागि सिमोनले रणनीति बनाएका थिए। कतिपय अवस्थामा उनी नेमार र उनको पूर्वक्लब बार्सिलोनालाई रोक्न सफल पनि भएका थिए। लामो समयदेखि एट्लेटिको म्याड्रिडको मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालिरहेका सिमोन अनुभवी प्रशिक्षक मानिन्छन्।
उनी तुलनात्मक रूपमा कमजोर खेलाडी लिएर पनि बार्सिलोना र रियल म्याड्रिड जस्तो युरोपकै सशक्त टोलीलाई बारम्बार तनाव दिइरहने प्रशिक्षक हुन्। उनको टोलीमा एमबाप्पेकै देशका अर्का स्ट्राइकर एन्टोइन ग्रिजम्यान मुख्य खेलाडी रहँदै आएका छन्। सिमोनकै नेतृत्वमा चम्किएका ग्रिजम्यान अहिले फ्रान्सको राष्ट्रिय टोलीका पनि मुख्य खेलाडी हुन्।
फ्रान्सलाई गत जुलाईमा सम्पन्न रुस विश्वकपको उपाधि दिलाउन यी दुई खेलाडी एमबाप्पे र ग्रिजम्यानको भूमिका महत्वपूर्ण रहेको थियो। सिजनको सुरुआतमा बार्सिलोनाको प्रस्ताव अस्वीकार गरेर एट्लेटिकोमै रहने निर्णय लिएका ग्रिजम्यानको पनि सिमोनले प्रशंसा गरेका छन्। ‘एमबाप्पेको खेल राम्रोसँग हेरेको छु। उनी अझ सशक्त र छिटो छन्’, सिमोनले भनेका छन्, ‘तर, ग्रिजम्यानको खेल फरक छ। उनी मैदानमा सधैं पाइलटको भूमिकामा हुन्छन्।’