सोलुखुम्बुमा भालु आक्रमणबाट दुई घाइते
ओखलढुंगा : सोलुखुम्बुमा भालुको त्रास बढेको छ। सर्वसाधारण खेतबारीमा जान डराउन थालेका छन्। बिहीबार मात्रै दुई महिला घाँस काट्ने क्रममा भालुको आक्रमणमा परी गम्भीर घाइते भएका छन्। सोलुदूधकुण्ड नगरपालिका-३, माठुङ्का ४० वर्षीया सानु मगर र ४७ वर्षीया मनकुमारी मगर गम्भीर घाइते भएका हुन्।
बिहीबार दिउँसो १२ बजे घर नजिकैको थुम्लिङ जगंलमा घाँस काट्न जाँदा भालुले आक्रमण गरेको थियो।भालुको आक्रमणबाट उनीहरूको टाउको, घाँटी, ढाड र तिघ्रामा गहिरो चोट लागेको छ। स्थानीयका अनुसार घर नजिकैको जगंलबाट घाँस काटेर घर फर्कने क्रममा भालुले आक्रमण गरेको थियो।
घाँस काट्न गएका पाँच जनामध्ये तीनजना भने भागेर बच्न सफल भएका छन्। स्थानीयको सहयोगमा घाइतेको उद्धार गरी ओखलढुंगास्थित सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको छ। उनीहरुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।
घाइतेको थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकोप्टर आउन नसक्दा ढिलाइ भएको छ। खराब मौसमका कारण बिरामी राजधानी पठाउन समस्या भएको अस्पताल निर्देशक टुकबहादुर श्रीमलले बताए। सोलुखुम्बमा यस अघि पनि भालुको आक्रमणबाट एक पुरुष घाइते भएका थिए। सोलुखुम्बुमा सुविधा सम्पन्न अस्पताल नहुँदा उपचारमा समस्या हुने गरेको छ। अस्पतालले जनाएको छ।