तेजाब आक्रमणका घाइतेलाई उपचार खर्च अभाव
चन्द्रपुर : तेजाव आक्रमणमा घाइते दुई किशोरीका लागि उपचार खर्चका लागि रकम अभाव भएको पीडित परिवारले दुखेसो पोखेका छन्।
रौतहट चन्द्रपुर नगरपालिका–६ की १८ वर्षीया सम्झना दास र उनकी बहिनी १५ वर्षीया सुस्मिताको आर्थिक अभाव भएको हो।
उपचार खर्चको समस्या भएको बुबा जादोलाल दासले दुखेसो पोखेका छन। घाइतेमध्येकी सम्झनाको अवस्था गम्भीर छ। उनको सघन कक्षमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।
आर्थिक अभावले उपचारमा समस्या भएपछि घाइते दिदीबहिनीको उपचारका लागि चन्द्रनिगाहपुरमा चन्दा संकलन सुरु गरिएको छ। चन्दा संकलनबाट करिब एक लाख रुपैयाँ सहयोग रकम जुटेको छ।
दुवै जनाको काठमाडौंस्थित कीर्तिपुर अस्पलातमा उपचार भइरहेको छ। घरमा सुतिरहेको अवस्थामा मंगलबार राति करिब १२ बजे अपरिचित व्यक्तिले तेजाब फ्याँकेका थिए। ‘अलिअलि पैसा थियो सकियो, सापटी लिएको पैसाले पनि पुगेन पीडिीत किशोरीका बाबु दासले बताए। उनी दुवै छोरीको उपचारारार्थ काठमाडौंमै छन्।
चन्द्रनिगाहपुर बजारमा सामान्य स्नुकर हाउस भाडामा लिएर जीवन धान्दै आएका दासको आर्थिक अवस्था कमजोर भएकाले उपचारमा समस्या परेको र गाउँमा चन्दा संकलन गरिएको छिमेकी विष्णु महतोले बताएका छन्।
दैनिक १५ हजार रुपैयाँभन्दा बढी उपचारमा खर्च भइरहेको छ। तेजाब आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले अहिलेसम्म पक्राउ गर्न सकेको छैन।