नयाँ वाइडबडी मकालु ग्राउन्डेड

नयाँ वाइडबडी मकालु ग्राउन्डेड

काठमाडौं : नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा प्रयोग गरिरहेको एयरबसको ए३३०–२०० सिरिजको ९एन एएलजेड कलसाइनको मकालु नामक वाइडबडी जहाज ग्राउन्डेड भएको छ । निगमले पछिल्लो पटक गत साउन १० गते नेपाल भित्रिएर भदौ ८ गतेबाट व्यावसायिक उडान सुरु गरेको २७४ सिट क्षमताको यो जहाज बिहीबार बिहान दिल्ली उडान गरेर फर्किएपछि ग्राउन्डेड भएको हो ।

‘दिल्ली विमानस्थलमा कार्गो लोड गर्दा कन्टेनरले ठक्कर दिँदा कार्गो ढोका कुच्चिएका कारण यो जहाज उडाउन नमिल्ने भएको हो’, वायुसेवा निगमका सहप्रवक्ता सैलेश कंसाकारले भने । उनका अनुसार काठमाडौं आएपछि कुच्चिएको देखिएकाले आवश्यक मर्मत गर्नुपर्ने भएको भन्दै ग्राउन्डेड भएको हो । यो जहाज एक दुईदिनमै मर्मत गरेर उडान गर्न सकिने जानकारी कंसाकारले दिए ।

यो जहाज बिहीबार बिहान ८ बजे दिल्लीका लागि उडेको थियो । दिल्लीबाट फर्केर साढे १२ बजेतिर काठमाडौं फर्किएको यो जहाजको सामान निकाल्ने ढोकाछेउ कुच्चिएका कारण सो स्थानमा प्वाल पर्न गई जोखिम हुने भन्दै ग्राउन्डेड गरिएको हो । जहाज ग्राउन्डेड भएपछि यसको आवश्यक मर्मत जहाज निर्माता कम्पनी एयरबससँग सोधेरै गर्नुपर्ने निगम स्रोतको भनाइ छ ।

दुईमध्ये एक न्यारोबडी ग्राउन्डेड भएकाले शुक्रबार बिहान गर्नुपर्ने दिल्ली उडान बोइङबाट भएको हो । बोइङको शुक्रबार बेलुकाको उडान ग्राउन्डेड बाइडबडी मर्मत भएपछि गर्ने भनि तालिकामा राखिएको थियो । तर, एयरबसकै अनुमतिबाट मात्र बनाउनुपर्ने भएपछि यसबाट हुने उडान रद्द भएको निगमले जानकारी दिएको छ । मकालु थन्किएपछि शुक्रबार बेलुकाको दिल्ली उडान बैंककबाट फर्किएको अर्को वाइडबडीले गरेको उल्लेख छ ।

अझै उडेन न्यारोबडी

निगमको नयाँ बाइडबडीसँगै अर्को एक ए३२०–२०० सिरिजको ९नएन एकेडब्लू नामक १५८ सिट क्षमताको न्यारोबडी जहाज भदौ २१ गते बिहीबार चरासँग ठोक्किएर ग्राउन्डेड भएको छ । यो जहाज मलेसियाबाट काठमाडौं आउँदै गर्दा अवतरणका क्रममा चरासँग ठेक्किएको थियो । उक्त जहाज मर्मतमै रहेको र अर्को एक ठूलो जहाज पनि ग्राउन्डेड हुँदा निगमलाई उडान तालिका मिलाउन हम्मे हम्मे छ । चरा ठोक्किएको उक्त जहाजको मर्मत शनिबारसम्म सकिने र नियमित उडानमा प्रयोग हुने जानकारी कंसाकारले दिए ।

कंसाकारका अनुसार सातामा पाँचवटा जहाजको ४० उडान तालिका छ । दुई वटा जहाज ग्राउन्डेड हुँदा निगमले एउटाको उडान तालिका अर्कोमा सारेर मिलाइरहेको छ । केही घण्टा ढिलो गरेर भए पनि उडान नियमित भइरहेको निगमका सहप्रवक्ता कंसाकार बताउँछन् ।

निगमको सातामा दिल्ली १०, दुबई र दोहा ७÷७, मलेसिया ४, हङकङ, मुम्बई, बैंङ्लोर र बैंकक ३÷३ वटा उडान तालिका छ । दुईवटा जहाज ग्राउन्डेड हुँदा निगमले उडान व्यवस्थापन गर्न गाह्रो भए पनि कुनै पनि उडान संख्या नघटाएको जानकारी निगमले दिएको छ । शनिबारबाट चरा ठोक्किएको न्यारोबडी नियमित उडानमा आउने भएकाले समस्या नहुने र उडान नर्मल हुने बुझाइ पनि कंसाकारको छ ।

दुबई रोकेर मलेसिया गएकोमा छानबिन

यसैबीच निगमले गत भदौ २४ गते आइतबार राति दुबई जानुपर्ने जहाजको उडान रद्द गरेर भोलिपल्ट सोमबार मलेसिया गएको विषय छानबिनमा परेको छ । सोमबार बिहान ९ बजे मलेसिया जान आइतबारदेखि नै दुबई उडान रोकेर राखेको विषयमा आवश्यक छानबिन भइरहेको र पर्यटन सचिवलाई पनि यसबारे बुझ्न निर्देशन दिएको पर्यटनमन्त्री रवीन्द्र अधिकारीले बताए । उनले यो उडानमा के भएको हो त्यसको सत्यतथ्य सार्वजनिक गर्ने बचन दिए पनि निगमले मलेसिया उडान नियमित भएको र दुबई उडान जहाज थन्किएकाले नभ्याएको भन्दै रद्द गरेको विज्ञप्ती सार्वजनिक गरेको छ ।

तर निगमका सहप्रवक्ता कंसाकारले भने यो जहाज दुबई र मलेसिया नियमित उडान तालिका भएको बताए । उनका अनुसार यही चरा ठोक्किएर ग्राउन्डेड भएको जहाजको उडान तालिका मिलाउनुपर्ने भएका कारण आइतबारको दुबई उडान रद्द गरिएको थियो । निगमले सोमबारको पाटा नेपालले मलेसियामा आयोजना गरेको कार्यक्रममा सहभागी हुन निगमका पदाधिकारीसहित सोमबार बिहान ९ बजेको उडान रहेकाले दुबई गएर आउँदा ढिलो हुने भएपछि उडान रोकेको उल्लेख छ । निगमकै चार कर्मचारी, पर्यटन बोर्डका पदाधिकारी, पर्यटन व्यवसायी र केही पत्रकारसहित ३७ जनाको टोली क्वालालम्पुर जान निगमले नियतबस उडान रोकेर राखेको थियो ।

वाइडबडीको अनियमिततामाथि टालटुले छानबिन

यस्तै निगमको वाइडबडी जहाज खरिदमा भएको अनियमितताका विषयमा पर्यटन मन्त्रालयले टालटुले तरिकाले छानबिन गरिरहेको छ । यो विषयलाई गम्भीर रूपमा लिएको र सोहीअनुसार छानबिन समिति गठन गरेको पर्यटनमन्त्री अधिकारीले तर्क गरे । उनले भने, ‘यो जहाज किन्न म मन्त्री भएर आउनुभन्दा अगाडि नै पैसा पठाइसकिएको थियो । जहाज रिसिभ मात्रै आफूले गरेको हो । तर पनि जहाज खरिदमा गरिएको शंकाको विषयमा छानबिन गरेर स्पष्ट पार्न आफू प्रतिबद्ध रहेको मन्त्री अधिकारीको भनाइ छ ।

यो जहाज खरिद छानबिन समितिका संयोजक तथा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार १५ कार्यदिन पुग्न अझै ४÷५ दिन बाँकी रहेकाले तोकिएकै समयमा प्रतिवेदन सार्वजनिक गर्ने बताए । लामिछानेले भने, ‘जुन उद्देश्यका लागि काम सुरु गरिएको हो त्यो पूरा गरेर यथार्थ विवरण दिनेछौं ।’ जहाज खरिद पारदर्शी रूपमै भएको भए पनि सुरुदेखि के भएको थियो र कसरी आइपुग्यो भन्नेसम्मको विवरण दिने लामिछानेले बताए । उनका अनुसार काम अझै बाँकी रहेकाले केही दिनपछि प्रतिवेदन तयार हुने र मिडियामार्फत नै सार्वजनिक गर्ने पनि बताए । मन्त्रालयले भने लामिछाने आफैं निगम सञ्चालक समितिको बोर्डमा बसेर गरेको निर्णयमा सोही व्यक्तिलाई राखेर टालटुले छानबिन गरिरहेको छ । यो छानबिन समितिले दिने प्रतिवेदन ढाकछोप गर्न मात्रै हुने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.