दिनेश अधिकारीको कविता - किलो
![दिनेश अधिकारीको कविता - किलो](https://annapurnapost.prixacdn.net/media/albums/3-kilo-poem-by-dinesh-adhikari_20180915032531_aNO5qKBJEb.jpg)
दिनेश अधिकारी
किलाहरू गाडिन्छन्
समय र ठाउँ हेरी
किलोमा
वस्तुभाउ र मान्छे पनि बाँधिन्छन्
हरियोमा लोभिएर
किलो छेउ पुगेकाहरू
थाहै नपाई
किलोमा बाँधिएको दाम्लोसँग
आफू पनि गाँसिइसकेका हुन्छन्
नबाँधिउञ्जेलको कुरा अर्कै हो
देखिएकै छ —
बाँधिइसकेपछि
बाँधिनेहरू
किलोबाट मुक्ति खोज्दै
वरिपरि फन्फनी !
भौंतारिइरहेका हुन्छन्
गाउँमा जमिनदार
र, केन्द्रमा सरकार
अहिले पनि
किलो गाड्नमै व्यस्त छन्
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)